प्यूठान : प्यूठानको सरुमारानी गाउँपालिकाका आन्तरिक सडक सञ्जालको तिव्र विकास भएसँगै अटो रिक्सा संचालन गर्नेहरु बढ्दै गएका छन् । विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएकाहरुले यस क्षेत्रमा लगानी गरेका हुन् । गाउँ गाउँमा अटो रिक्सा पुगेपछि गाउँलेहरुले यसलाई ‘अटो क्रान्ति’ को संज्ञा दिएका छन् ।
सरुमारानी गाउँपालिकाभरी कुल ४५ वटा अटो रिक्सा सञ्चालनमा छन् । तीमध्ये २५ वटा अटो रिक्सा वैदेशिक रोजगारबाट फर्किएकाहरुले संचालन गरेका छन् । हरेक बस्ती बस्तीमा अटो डुल्दा नागरिकहरुलाई सहज भएको छ । स्थानीयको यातायातको पहिलो रोजाइँ पनि यही अटो भएको पाइएको हो ।
करिब १० वर्ष खाडीमा पसिना बगाएर कमाएको पैसाले गाउँ फर्किएपछि अटो रिक्सामा लगानी गरिएको सरुमारानी–३ का ४२ वर्षिय मेक बहादुर सोमैले जानकारी दिए । गाउँपालिकको केन्द्र बडडाँडा बजारमा अटो रिक्सा संचालन गर्ने उनी नै पहिलो व्यक्ति हुन् । उनको ६ जनाको परिवार यसैको आम्दानीले धानिएको छ ।
सिजनमा मासिक झण्डै ५० हजारसम्म पनि कमाई हुने गरेको उनले सुनाए । ‘अहिले सिजन छैन्’,सोमैले भने, ‘मुस्किलले २०÷२५ हजार रुपैयाँ कमाई हुन्छ ।’ अटो चलाएर आफ्नै परिवारको साथमा बसेर जीवनयापन गर्न पाएकोमा उनलाई सन्तुष्टि मिलेको छ हंसपुर, चाव, दोमही, सुजिपुर, नौघाट, बाङ्गे, पनाह, ढाव, केवरापानी, बैके, बेलडाँडा, छबिसे, जस्पुर, बिरिङकोट, हात्तीखाल, आँपडाँडा, पाखापानी, संग्राकोट, धनचौर र दानसिङ लगाएतका बस्तीहरूमा अटो रिक्सा चल्दै आएको उनले जानकारी गराए ।
सरुमारानी –३ कोटघरका युग बहादुर गाहा पनि वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै अटो रिक्सा चलाउँदै आएका छन् । खाडी मुलुकमा झण्डै दश वर्ष बिताएर उनी यस क्षेत्रमा लागेका हुन् । ४५ वर्षिय गाहाले हालै ८ महिना अघि नयाँ अटो रिक्सा किनेर चलाउँदै आएका छन् । ‘पौने सात लाख रुपैयाँमा अटो किने’,गाहा भन्छन्,‘परिवार पाल्ने मुख्य पेशा अब यहि हो ।’ उनको परिवारमा पनि ६ जना सदस्य छन् ।
सरुमारानी–१ आटीटारका सुमन खनाल पनि अटो रिक्सा चलाएरै आफ्नो परिवारको लालनपालनमा सक्रिय छन् । मलेसिया र कतारमा गरी पाँच वर्ष बिताएर फर्किएका उनले अटो रिक्सा चलाउन लागेको ५ वर्ष भयो । अटो रिक्साहरुको छाता संगठन ऐरावती यातायात प्रालिको अध्यक्ष समेत रहेका खनाल अटो रिक्सा नै आय आर्जनको प्रमुख श्रोत भएको बताउँछन् ।
‘सानो बाटो भएको ठाउँमा पनि हामीलाई पुग्न सजिलो हुने भयो’, खनालले भने, ‘रातको १२ बजे पनि हामीलाई फोन आउँछ, रातीमा एम्बुलेन्सको काम सरह हामीले सेवा दिएका छौं ।’ अटो रिक्सामा ४ देखि ६ जना यात्रुसम्मको दुर्घटना बीमा हुने गरेको उनले बताए ।
अटो रिक्साका कारण स्थानीय स्तरमा रोजगारी सिर्जना भएकोमा आफूलाई खुसीको अनूभुति मिलेको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले प्रतिक्रिया दिए । ‘हामीले सडक विस्तार तथा सडक स्तरवृद्धिलाई मुख्य प्राथमिकतामा राख्दै आएका छौं’, विश्वकर्माले भने, ‘सडक संजालको विकाससंगै स्थानीय स्तरमा यातायात तर्फ अटो रिक्साले राम्रै अवसर पाएको देखियो ।’