बुटवल : रुपन्देहीको सालझण्डी माध्यमिक विद्यालय सैनामैना–१० झिमझिमियाँमा महिनावारी समस्या, स्तन तथा पाठेघर चेकजाँच सम्वन्धी निःशुल्क स्वास्थ्य शिविरले विपन्नलाई राहत भएको छ ।
शनिवार सेवा संचार, सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जालले अभियानको ११ औँ स्थापना दिवसको अवसरमा शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष एवं सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता गंगा खड्काले जानकारी दिइन् ।
विद्यालयमा रहेका छात्रा र उनीहरुका अभिभावकहरुलाई लक्षित गरेर संचालन गरिएको उक्त शिविरबाट एक सय बढी जनाले सेवा लिएका छन् । गाउँमै पहिलोपटक संचालन भएको महिनावारी स्वास्थ्य शिविरले राहत मिलेको झिमझिमियाँकी स्थानीय २८ वर्षिय सिता विकले प्रतिक्रिया दिइन् ।
महिनावारी अनियमित भएर जाँच्न आएकी उनले विशेषज्ञ डाक्टरहरुलाई भेटेर समस्या राख्न पाउँदा धेरै खुसी मिलेको बताइन् । यस गाउँमा करिव ७० प्रतिशत जनजाती र दलित समुदायको बाहुल्यता रहेको विद्यालयका प्रधानाध्यापक खडानन्द घिमिरेले जानकारी दिए । सैनामैना नगरपालिकाभित्र सवैभन्दा दुर्गम क्षेत्रमा उक्त विद्यालय रहेको समेत उनको भनाई छ ।
शिविरमा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालि बुटवलले प्राविधिक सहयोग गरेको थियो । अस्पतालका महिला तथा प्रसुती रोग विशेष डा.सरस्वती श्रेष्ठ र स्तन क्यान्सर रोग विशेषज्ञ डा.संजय पाण्डेले विरामीको चेकजाँच गरेका हुन् । सामाजिक उत्तरदायित्व बहन गर्दै हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविरमा सहयोग गरिदै आइरहेको अस्पतालका संचालक बसन्त जिसीले जानकारी दिए । शिविरमा सैनामैना नगरपालिकाले सहकार्य गरेको थियो ।
सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले महिनावारी भएको बेला अझैपनि कतिपय ठाउँमा विद्यालयका छात्रा र महिलाहरुले खुलेर आफ्ना समस्या नराख्ने हुँदा क्यान्सर जस्तो प्राणघातक रोगको शिकार हुने गरेको देखिएको बताइन् । उनले यस्ता सामाजिक अभियन्ता र कार्यक्रमहरुको माध्यमबाट उक्त समस्यालाई कमी गर्न सघाउ पुग्नेमा विश्वास समेत व्यक्त गरिन् ।
२०७० सालदेखि गुल्मीको मालिका गाउँपालिकाको छापहिलेबाट शुरु गरिएको सुरक्षित महिनावारी राष्ट्रिय अभियानले विद्यालयका हजारौँ छात्राहरुलाई महिनावारी भएको बेला गरिने सावधानी र सुरक्षाको बारेमा जनचेतना दिएको अभियन्ता गंगा खड्काले बताइन् ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष कृष्ण प्रसाद घिमिरेले रोग लागेर उपचारमा भौतारिनुभन्दा रोग लाग्नै नदिनका लागि सवै नागरिकहरु सचेत हुनुपर्नेमा जोड दिए । उनले वडामा पहिलोपटक महिनावारी लक्षित स्वास्थ्य शिविर संचालन गरिएको जानकारी गराउँदै यसलाई निरन्तरता दिन समेत आयोजकलाई आग्रह गरे ।