बुटवल : बुटवलका चोकचोकमा छाडा चौपाया दिनहुँ सास्ती दिदापनि बुटवल उपमहानगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन् । महिनौदेखि बजारभरीका छाडा चौपायाले पैदलयात्रीदेखी व्यवसायीहरुलाई सास्ती दिने गरेको छ । चौपायाकै कारण दिनहुँजसो सडक दुर्घटना हुने गरेको ट्राफिक प्रहरीहरु बताउँछन् ।
‘छाडा चौपायाको व्यवस्थापन गर्ने प्रमुख दायित्व बुटवल उपमहानगरपालिकाको हो’,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भने,‘पटक पटक उपमहानगरको ध्यानाकर्षण पनि गराएका छौँ । तर, व्यवस्थापन भएको छैन् ।’ यसले व्यवसायीको सुरक्षासँगै सडकको सौन्दर्यता र बजार अस्तव्यस्त बनाएको उनले प्रतिक्रिया दिए । छाडा चौपाया हेरेर नगरपालिका ‘रमिते’ बनिरहेको समेत व्यवसायीहरुले आरोप लगाएका छन् ।
व्यवस्थापनमा उपमहानगरपालिकाले छिट्टै अगुवाई गर्न र त्यसमा साथ दिन सवै उद्योगी, व्यवसायीहरु तयार रहेको अर्यालले प्रतिक्रिया दिए । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवलको पुष्पलाल पार्कदेखि राजमार्ग चौराह, भित्री सडकमा पर्ने मिलनचोक, देविनगर, कालिकापथ, बुद्धनगर सहित अमंरपथ, गोलपार्क, ट्राफिकचोक लगायत क्षेत्रमा छाडा चौपायाले व्यवसायीहरुलाई सास्ती दिने गरेको छ ।
नगरप्रमुख खेलराज पाण्डेयसँग प्रतिक्रिया लिँदा यसाबरे उनले खुलेर प्रतिक्रिया दिन चाहेनन् । ‘छाडा चौपाया व्यवस्थापन गर्ने बारेमा काम भइरहेको छ’,उनले भने,‘पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौँ । अहिलेलाई यत्ति नै हो ।’
उपमहानगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले छाडा चौपाया व्यवस्थापन गर्ने विषय चुनौती बनिरहेको प्रतिक्रिया समेत दिइरहेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्वर– स्थित ७ शिव सामुदायिक वनले गौशाला राख्नका लागि अनुमती नदिँदा छाडा चौपायाको नियन्त्रण र व्यवस्थापन गर्न समस्या भइरहेको यसअघि नगरप्रमुख पाण्डेयले प्रतिक्रिया दिएका थिए ।