प्यूठान : प्यूठानको सरुमारानी गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय बाङ्गेसालले ४२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार विद्यालयमा आयोजित वार्षिक उत्सव कार्यक्रमको उद्घाटन संविधानसभा सदस्य धन बहादुर रायमाझीले गरे ।
नमूना विद्यालय भएकाले भौतिक पूर्वाधार विकासमा फड्को मारिसकेको विद्यालयले विद्यार्थीको पढाई तथा सिकाईमा राम्रो नतिजा निकाल्नुपर्नेमा रायमाझीले जोड दिए । कार्यक्रमममा लुम्बिनी प्रदेश सभाका पूर्व मन्त्री तथा प्यूठान (क) का सांसद् तुल्सीराम शर्माले विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय क्षेत्रमा थप उल्लेखनीय सुधार गरि नमूना विद्यालयको साख टिकाई राख्न विद्यालय परिवारलाई आग्रह गरे ।
वार्षिक उत्सव समारोहमा सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले नमूना विद्यालयको कार्यक्रम भविष्यमा फेज आउट हुँदा बखत पनि गाउँपालिकाले विद्यालयको समग्र विकासमा आवश्यक सहयोग गर्दै प्रतिबद्धता जनाए । विद्यालयका प्रधानाध्यापक भक्त बहादुर मर्शाङ्गीले विद्यालयको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
प्रतिवेदनमा २०७९÷०८० को कुल आम्दानी तर्फ ४ करोड ४५ लाख, ७७ हजार, ६ सय ५५ रुपैयाँ र कुल खर्च तर्फ ३ करोड २७ लाख २ हजार १ सय ७० रुपैयाँ तथा कुल बचत तर्फ १ करोड १८ लाख, ७५ हजार, ४ सय ८५ रुपैयाँ उल्लेख छ ।
पढाउने भन्दा सिकाउने, पढ्ने भन्दा सिक्ने वातावरण सिर्जना गर्न विद्यालय लागि परिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दधिराम भण्डारीले बताए । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक लोकराज आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । विद्यालयले विभिन्न विधामा शिक्षक, विद्यार्थी, अभिभावकलाई समेत सम्मान गरेको छ ।
विद्यालयमा कुल १ हजार २ सय ७४ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । कक्षा १२ सम्म अध्ययन हुने विद्यालयले २०७६ देखि प्राविधिक तथा व्यवसायिक धार अन्तर्गत वाली विज्ञानमा कक्षा ९ देखि १२ सम्म संचालन छ ।