अर्घाखाँची : मुस्लिम समुदायका मानिसहरु व्यापार व्यवसायमा मात्र तल्लिन हुन्छन् भन्ने कुरालाई अर्घाखाँचीकी अप्सरा अलिले चिरेकी छन् । बाल्यकालदेखि नै पढाईमा तिक्ष्ण अप्सराले लोकसेवा आयोगले लिएको परीक्षा पास गरेर स्टाफ नर्समा नाम निकालेकी छिन् । अर्घाखाँचीका मुस्लिम अगुवाहरुका अनुसार उनी आफ्नो समुदायबाट प्रतिनिधीत्व गर्ने जिल्लाकै एकमात्र सरकारी स्टाफ नर्स हुन् ।
अहिले उनी तलबी बिदामा पूर्ण छात्रवृत्ति कोटामा महाराजगंज नर्सिङ क्याम्पस टिचिङ अस्पताल काठमाण्डौमा बि.एन.एस पढिरहेकी छिन् । उनको अहिले अध्यनको अन्तिम वर्ष चलिरहेको छ । अफ्सराले सन्धिखर्कको जनज्योती मावी बाट २०६६ सालमा ७८ प्रतिशत अंक लिएर एसएलसी उत्तिर्ण गरेकी थिइन् ।
लुम्बिनी हस्पिटल एण्ड टेक्नलोजी कलेजबाट पूर्ण छात्रवृत्तिमा ९२ प्रतिशत अंक लिएर प्रथम हुँदै स्टाफ नर्स पास गरेकी हुन् । २०७३ सालमा लोकसेवाले लिएको परीक्षामा खुल्ला रूपमा प्रतिस्पर्धा गर्दै पहिलो नम्बरमा उनको नाम निक्लियो । जागिरको शिलशिलामा कपिलवस्तु, रुपन्देही, गुल्मी हुँदै हाल उनी आफ्नै गृह जिल्ला अर्घाखाँचीमा कार्यरत छिन् ।
पहाडी भेगका मुस्लिम समुदायहरु परापूर्वकालदेखि नै व्यापार व्यवसायमा जोडिएको उनले सुनाईन् । ‘हाम्रो घरपरिवार पनि शुरुदेखिनै खेतिकिसानी गर्दै बुवाहरुको पालामा आईपुग्दा व्यापारमा जोडिनुभएको छ’,उनले भनिन्,‘पढेर जागिर खानुपर्छ भन्ने मान्यता हाम्रो समुदायमा खासै देखिदैन् तर, खै किन हो मलाई सरकारी सेवाप्रति नै लगाव भयो ।’
तर, पछिल्ला नयाँ पुस्ताले भने सरकारी सेवाप्रति विस्तारै रुची राख्न थालेको देखिएको उनले सुनाइन् । उनले आफ्ना साथीसँगीहरुलाई पनि सरकारी सेवा मार्फत नागरिकको सेवामा लाग्न अग्रसर हुनुपर्नेमा सुझाव दिएकी छन् । उनी घरकी एक्ली छोरी हुन् ।