प्यूठान : मंसीर १४ गते प्यूठानका दुई स्थानीय तहको तीन वटा वडामा उप निर्वाचन हुँदैछ । ऐरावती गाउँपालिका वडा नम्वर १ दाङवाङ, २ बरौला र प्ठान नगरपालिका वडा नम्वर २ दाखाक्वाडीमा निर्वाचन हुन लागेको हो । ऐरावतीको १ मा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष पदम थापा जिल्ला सम्वन्य समितिको उपप्रमुख र २ मा राजमोबाट निर्वाचित वडा अध्यक्ष केशवराज आचार्य सम्वन्य समितिकै प्रमुख भएपछि वडा रिक्त भएका हुन् । प्यूठान नगरपालिका २ मा तत्कालिन एमालेबाट निर्वाचित अध्यक्ष खिम बहादुर विष्टको क्यान्सर लागेर निधन भएपछि अहिले तीनवटै वडामा उप निर्वाचन हुँदैछ ।
स्वतन्त्र सहित नेकपा, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका गरी सात जना उमेदवार चुनावी मैदानमा छन् । प्यूठान २, ऐरावती १ मा नेकपा र नेपाली कांग्रेसका उमेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ । दईवटै वडामा राजमोले नेकपालाई सघाएको छ । ऐरावती २ मा नेकपा, राजमो र स्वतन्त्र उमेदवारबीच प्रतिस्पर्धा हुनेछ । नेकपा–राजमो चुनावी तालमेल भएपनि नेकपाले यस वडामा राजमोलाई साथ दिएन । स्वतन्त्र र राजमोका उमेदवारबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी तालमेल गरेर अघि बढ्ने पार्टीले सहमती गरेपछि ऐरावती २ बाहेक अन्य वडामा राजमोले उमेदवारी दिएन । नेकपाले विश्वासघात गरेको राजमोका नेता, कार्यर्ताहरुको गुनासो छ ।
०७४ सालको स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार तीनवटै वडामा नेकपा बोलियो देखिएको छ । तीन पार्टी एक हुँदा पनि दाखाक्वाडीमा एमालेका स्व. खिम बहादुर विष्टले एक सय ५५ को मतान्तरले चुनाव जितेका थिए । विष्टले ८ सय र उनका निकटतम प्रतिस्पर्धी राजमोका हरी बहादुर बुढामगरले ६ सय ४५ मत पाएका हुन् । अहिले पनि यस वडामा नेकपा पहिलो शक्ति छ ।
अघिल्लो स्थानीय तहको मत परिणाम अनुसार ऐरावती १ मा नेकपाका उमेदवार भन्दा नेपाली कांग्रेसका उमेदवार १ हजार २ सय ९ मतले पछाडी छन् । चुनावी तोलमेलपछि राजमो र नेकपाको गरी कुल मत १ हजार ३ सय ३६ र नेपाली कांग्रेसको १ सय २७ मत छ । त्यस्तै, ऐरावतीकै २ नम्वरमा राजमो र नेकपाको कुल मत १ हजार ६२ छ भने नेपाली कांग्रेसको ३ सय ११ मत छ । चुनावी तालमेल अनुसार ७ सय ५१ मतले राजमो अगाडी देखिएपनि नेकपाका नेताको स्वतन्त्र उमेदवारी परेकाले राजमोलाई चुनाव जित्न सकस पर्ने देखिन्छ । ऐरावती १ मा २ हदार ५ सय ४५ र २ नम्वरमा २ हजार ७ सय ८० गरी कुल ५ हजार ३ सय २५ मतदाता ऐरावतीमा रहेको निर्वाचन अधिकृत चन्द्रदेव भारतीले बताए । प्यूठान नगरपालिका २ मा ३ हजार २१ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीस विष्णु प्रसाद गौतमले जानकारी गराए ।
0000000
जागिरे जीवनबाट अवकाश पाएका मूक्ती पोखरेल खरो र स्पष्ट वक्ताका रुपमा जनस्तरमा चिनिएका नेताको रुपमा पर्छन् । मनमा लागेको कुरा स्पष्टसँग राख्न सक्ने उनमा खुवी छ । ५६ वर्षिय पोखरेलले शिक्षक पेशाबाट अवकाश पाएका हुन् । आइ.ए सम्मको शिक्षा हासिल गरेका उनी लामो समयदेखि राजनीतिसँगै उद्यमशिलताको क्षेत्रमा क्रियाशिल छन् । विभिन्न सामाजिक संस्थाको नेतृत्व सम्हालेको उनमा गतिलो अनुभव छ । भूवनेश्वरी माध्यमिक विद्याय खैरा र अरनीको निमावी दाखाक्वाडीमा गरी उनले २७ वर्ष जागिरे जीवन विताएर अवकाश पाए । जागिरे जीवन पुरा गरिसकेपछि अवको बाँकी समय राजनीति र समाजसेवामा खर्चिने उनको दृढ संकल्प छ । ‘दिवंगत हुनुभएका अध्यक्षले अघि सारेका धेरै योजना छन्’,पोखरेलले भने,‘उहाँका योजनासँगै केही नयाँ कामको थालनी चुनाव जितेमा गर्नेछु ।’ वडाका कतिपय गाउँमा खानेपानीको समस्याको विकराल अवस्था भएकाले पहिलो प्राथमिकता त्यसतर्फ केन्द्रित गर्ने उनले आश्वासन दिलाए । उनी नेकपा प्यूठानका सचिवालय सदस्य हुन् । पोखरेल ०७४ सालको स्थानीय तह निर्वाचनमा नगरपालिकाको मेयर पदका दावेदार समेत हुन् । आफू विजयी भएमा नगरपालिकाभित्रकै नमुना वडा बनाएर देखाउने उनी सुनाउँछन् ।
मूक्ती पोखरेल, प्यूठान नपा २ (नेकपा)
0000000
नेपाली कांग्रेसबाट उमेदवार बनेका मोहनसिँह विष्ट अघिल्लो स्थानीय तह निर्वाचनमा पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीबाट उपमेयरमा उठेका थिए । त्यसबेला उनले ९० मत लिए । ६३ वर्षिय विष्ट राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशिल छन् । विभिन्न संघ, संस्थाको नेतृत्व सम्हालेको उनमा अनुभव छ । १९ वर्ष अघि नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (असइ) पदबाट अवकाश पाएका विष्टले नेपाल रेडक्रस सोसाइटी दाखाक्वाडी उपशाखाको १२ वर्ष सभापती भएर काम गरे । उनले कक्षा दश सम्मको पढाई पुरा गरेका छन् । बृहत विजुवार खानेपानी उपभोक्ता समितिको उनले लामोसमय अध्यक्ष पदमा रहेर जिम्मेवारी बहन गरे । अध्यक्षमा निर्वाचित भएमा वडाको खानेपानी समस्या समाधान गर्न पहल गर्ने उनले प्रतिवद्धता सुनाए ।
मोहनसिँह विष्ट, प्यूठान नपा २ (नेपाली कांग्रेस)
0000000
नेकपाबाट अध्यक्ष उमेदवार बनेका ऐरावती गाउँपालिका १ का द्रोण प्रसाद पाण्डेको पृष्ठभूमी शिक्षक हो । उनले गाउँकै जनता प्राथमिक विद्यालय दाङवाङमा २२ वर्ष पढाए । शिक्षकमै रहँदा पनि उनले भूमिगत रुपमा पार्टीकै काममा क्रियाशिलता जनाउँथे । अस्थायी शिक्षकमा कार्यरत उनी गत वर्षको चैतमा गोल्डेन ‘ह्याण्डचेक’ लिएर पेशा छाडे । ४१ वर्षिय पाण्डेले प्लस टु सम्मको अध्ययन पुरा गरेका छन् । राष्ट्रिय नेपाल शिक्षक संंगठन प्यूठानको जिल्ला सदस्यमा रहेर उनले काम गरे । पूर्व माओवादी केन्द्रको केन्द्रिय आयोजक समितिको सदस्य समेत रहेका उनी गाउँमा सामाजिक संघ संस्थाको नेतृत्व गरेको अनुभव छ । दुई वर्षदेखि हालसम्म दाङवाङ स्वास्थ्यचौकी एम्वुलेन्स व्यवस्थापन समितिको अध्यक्ष छन् उनी । राष्ट्रिय जनमोर्चाबाट राजनीतिमा छिरेका पाण्डे ०५२ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङमा स्ववियू सदस्यमा पराजय भएका थिए । सानै उमेरदेखि नै सामाजिक र शैक्षिक क्षेत्रमा लागेकाले गाउँको समग्र विकासमा गतिलो अनुभव संगालेको उनी दावी गर्छन् ।
द्रोण प्रसाद पाण्डे, ऐरावती १ (नेकपा)
0000000
ऐरावती १ मान्द्रे निवासी अमंर रेश्मीमगर सातवटै उमेदवार मध्येमा धेरै शैक्षिक योग्यता हासिल गरेका उमेदवारमा पर्छन् । ग्रामीण विकासबाट उनले स्नातकोत्तर (डिग्री) सम्मको पढाई पुरा गरेका छन् । पूर्व माओवादी र हालको नेकपा निकट मानिने उनी उप निर्वाचनमा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । तर, कांग्रेसबाट उमेदवार बनेपनि उनले उक्त पार्टीको सदस्यता नलिएको प्रतिक्रिया दिन्छन् । ‘अहिलेसम्म कुनै पार्टीको टिकट काटेको छैन्’, उनले भने,‘सही गलत निष्पक्ष रुपमा कुरा राख्छु । पार्टीकै सदस्यता हुनुपर्छ भन्ने छैन् ।’ उनी हाल ३२ वर्षका भए । नेकपा निकट मगर जातीहरुको केन्द्रिय संस्था लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चाले उनलाई हालै केन्द्रिय सदस्यमा समेत मनोनित गरेको थियो । ऐरावती गाउँपालिका अध्यक्षसँग सम्वन्य गरेर गाउँको विकास निर्माणमा पैरवी गर्दै आइरहेको समेत उनले सुनाए । आफू यूवा भएकाले गाउँबासी यूवाहरुको मत आफ्नो पक्षमा रहेको उनी सुनाउँछन् । उनले ६ वर्ष यूवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम प्यूठानमा नायव सुब्वा सरहको सदस्य सचिव पदमा रहेर काम गरे । तल्लो तहको व्यक्ति सँधै पछाडी परिरहने र टाठाबाठा माथी पुगिरहने प्रचलनको अन्त्य गर्ने उनको योजना छ । आफूले चुनाव जितेमा जनताको मागमा आधारित विकास निर्माणलाई कार्यन्वयन गर्ने उनले सुनाए । विकासमा राजनीति गर्न नहुने उनी ठान्छन् ।
अमंर रेश्मीमगर, ऐरावती १ (नेपाली कांग्रेस)
0000000
बरौला लुङचुङ निवासी ५२ वर्षिय राजमोका उमेदवार भक्त बहादुर विकले एसएलसी सम्मको शिक्षा हासिल गरेका छन् । उनको राजनीतिक यात्रा ०५९ सालदेखि शुरु भयो । राजमोको गाउँ कमिटीमा रहेर उनले काम गरे । गाउँपालिका स्तरीय जातिय समता समाजको अध्यक्षको भूमिका समेत उनले निर्वाह गरेका छन् । विकले ०६३ सालदेखि ०७४ सम्म गरिबी निवारण कोष कार्यक्रममा सामाजिक परिचालकको रुपमा समेत काम गरेका थिए । सामाजिक संघ संस्था, सामाजिक रुपान्तरण, जातिय विभेद उन्मुलनको क्षेत्रमा काम गरेको अनुभव आफूसँग रहेको उनी सुनाउँछन् । पार्टीले नेकपासँग चुनावी तालमेल गरेपनि नेकपाका नेता, कार्यकर्ताले आफूलाई साथ नदिँदा उनी चिन्ता व्यक्त गर्छन् । ‘नेकपाले साथ दिएनन’,उनले भने,‘हामी मात्र प्रचारप्रसारमा हिडेका छौँ ।’
भक्त बहादुर विक, ऐरावती २ (राजमो)
0000000
बरौला हरियाटारीका भुपाल जिसीले एसएलसी सम्मको पढाई पुरा गरेका छन् । ३४ वर्षिय उनी पहिलोपटक चुनाव लड्दै छन् । बरौलामा खाद्यान्न र किराना व्यवसाय संचालनमा गरेका उनले आफूलाई यूवाहरुको साथ रहेको बताउँछन् । आठ वर्ष अघि तत्कालिन नेकपा माओवादी केन्द्रबाट राजनीति यात्रा थालेका जिसी चारवर्षदेखि नेपाली कांग्रेसमा क्रियाशिल छन् । यस क्षेत्रका व्यक्तिहरुसँग व्यवसायीक सम्वन्ध समेत राम्रो रहेकाले चुनाव जित्ने उनको अठोट छ ।
भुपाल जिसी, ऐरावती २ (नेपाली कांग्रेस)
0000000
नेकपा प्यूठानले टिकट नदिएपछि स्वतन्त्र उमेदवार बनेका ऐरावती २ बरौला नेपानेका भिमेस कुमार घर्तीमगरको पृष्ठभूमि पनि शिक्षक नै हो । अघिल्लो स्थानीय तह निर्वाचनमा ११ मतले अध्यक्ष हुनबाट बञ्चित भएका उनी यसपाली चुनाव जितेरै छाड्ने अठोटमा छन् । पार्टीको आग्रहलाई वेवास्ता गरी उनी स्वतन्त्र उमेदवार बने । अनेरास्ववियू (छैठौँ) बाट राजनीति थालेका उनी ०५२ मा धर्मोदय मावी जावुनेको इकाइ समिति अध्यक्ष भएका थिए । सोही संगठनको उनी जिल्ला सदस्यमा समेत निर्वाचित भए । उनले गाउँकै जनकल्याण आधारभूत विद्यालयमा ११ वर्ष पढाएर ०७१ सालमा राजीनामा दिए । सोही विद्यालयको उनी हाल व्यवस्थापन समिति अध्यक्ष छन् । उनी हाल नेपाल आदिवासी जनजाती महासंघ प्यूठानको कार्यवाहक अध्यक्ष, नेपाल मगर संघ जिल्ला समिति प्यूठानको सचिव, प्रदेश समितिको सदस्य, रेडक्रस बरौला उपशाखा कोषाध्यक्ष र बरौला कृषि सहकारी संस्थाको अध्यक्ष पदमा क्रियाशिल छन् । वडामा बहुमत मतदाताहरुको आफूलाई साथ रहेकाले यसपाली चुनाव जित्ने उनी दावी गर्छन् । वडाका दुर्गम क्षेत्रलाई पहिलो प्राथमिकतमा राखेर विकास निर्माणका कामहरु चुनाव जितेमा थालनी गर्ने उनले योजना बुनेका छन् ।
भिमेस कुमार घर्तीमगर, ऐरावती २ (स्वतन्त्र)
तस्विर : सागर रिजाल/आजको पोष्ट