बुटवल : मालपोत कार्यालय र नापी कार्यालय टाढा हुँदा बुटवलमा सेवाग्राहीले सास्ती खेपेका खेपेका छन् । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरमा मालपोत र वडा नम्वर १३ स्थित जीतगढीमा नापी कार्यालय संचालनमा छन् ।
आफ्नै नयाँ भवन बनेपछि नापी कार्यालय जीतगढीमा सरेको हो । यसअघि नापी कार्यालय पनि सुख्खानगरस्थित मालपोत नजिकै थियो । तर, मालपोत कार्यालयको निर्माणधिन भवनले गति नलिएपछि सेवाग्राहीलाई वारीपारी गर्दागर्दै समय वित्ने गरेको छ ।
जग्गा विक्री गर्ने काम लिएर देवदह नगरपालिका वडा नम्वर ३ सूर्यपुराबाट आएका ७४ वर्षिय ओमप्रकाश न्यौपानेले एक दिनको काम तीन दिन लागेको बताए । ‘धेरै समय वारी र पारी गर्दागर्दै वित्यो’,उनले भने,‘पहिले नजिक नजिक थिए । अहिले नापी कार्यालय आफ्नै भवनमा सरेछ । मालपोत टाढा हुँदा दुःख पाइयो ।’ उनले होटलमा बास बसेर काम गर्नुपर्ने बाध्यताले सास्ती खेप्नुपरेको समेत गुनासो गरे । पूर्व पश्चिम महेन्द्र राजमार्गको बाटो हुँदै दुवै कार्यालय आउजाउ गर्नुपर्ने भएपछि सेवाग्राहीलाई जोखिम समेत हुने गरेको छ ।
मालपोत भवनको म्याद सकियो प्रगती ३० प्रतिशत मात्र
जीतगढीमा मालपोत कार्यालयको आफ्नै भवन निर्माणधिन अवस्थामा रहेपनि ठेकेदारले समयमा काम नगर्दा सेवाग्राहीका गुनासा आउने गरेको प्रमुख मालपोत अधिकृत दामोदर भण्डारीले प्रतिक्रिया दिए । ‘ठेकेदारले समयमै काम नगर्दा जनताका गुनासा धेरै आइरहेका छन्’,भण्डारीले भने,‘भवनको ३० प्रतिशत पनि काम भएको छैन् । समयमै निर्माण पुरा हुने स्थिती पनि देखिदैन् ।’
२०७८ साल असोज १७ गते दुई वर्षभित्र निर्माण सक्ने गरी टिडी आर जयबागेश्वरी माता जेभी नेपालगञ्जले निर्माणको जिम्मा लिएको छ । सम्झौताको समय सकिएपछि २०८१ जेठ मसान्तभित्र सक्नेगरी पहिलोपटक म्याद थप गरिएको छ । प्रमुख मालपोत अधिकृत भण्डारी थपिएको म्यादभित्र पनि ठेकेदारले निर्माण पुरा गर्नेमा विश्वस्त छैनन् ।
तीन तलाको भवन निर्माण गर्नका लागि भ्याट बाहेक सात करोड ४५ लाख १३ हजार ८९ रुपैयाँमा निर्माण कम्पनीसँग कार्यालयले सम्झौता गरेको छ । मालपोत कार्यालय विगत लामो समयदेखि सुख्खानगरमा तीन वटा घरको २५ वटा कोठा भाडामा लिएर संचालन भइरहेको छ । कार्यालयले भाडा वापत मासिक एक लाख २१ हजार ६ सय १७ रुपैयाँ भूक्तानी गर्छ । मालपोतका ५० प्रतिशतभन्दा धेरै काम नापी कार्यालयसँग सम्वन्धित हुने भएकाले दुवै कार्यालय नजिक हुनुपर्ने भण्डारीको भनाई छ ।
‘नयाँ भवन बन्दासम्म नापी कार्यालयकै नजिक घरभाडामा लिएर कार्यालय संचालन गर्ने पनि कार्यालयको योजना छ’,भण्डारीले भने,‘तर, उपयूक्त घरहरुको खोजीमा छौँ । हुँदावित्तिकै सर्छौ ।’ बुटवल जीतगढी÷झोलुंगेपुलका स्थानीयले नापी कार्यालय नजिक मालपोत सार्न र निर्माणधिन भवन समयमै पुरा हुनुपर्ने माग राख्दै सोमवार मालपोत कार्यालयलाई ज्ञापनपत्र बुझाएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य ऋषि आजादले बताए । ‘मालपोत र नापी कार्यालय टाढा हुँदा नागरिकले धेरै दुःख पाए’,उनले भने,‘यसबारेमा सवै सरोकारवालाले चासो दिनुपर्छ ।’