प्यूठान : नेकपा एमाले प्यूठानले संचालन गरेको तीन दिने जिल्लास्तरीय प्रशिक्षणपछि सहभागी नेताहरु उत्साहित भएर आ–आफ्नो कार्यक्षेत्रमा फर्किएका छन् । अविभाजित कालमा नेपाल कम्यूनिष्ट पार्टीले २०१० साल पुस १७ देखि चैत ५ गतेसम्म तीन महिना लामो ‘जनता प्रशिक्षण शिविर’ रातामाटामा संचालन गरेको थियो । यसपाली नेकपा एमाले प्यूठानले प्रशिक्षणको त्यही विरासतलाई अघि बढाउँदै विजुवारमा तीन दिन लामो आवशीय विषयगत प्रशिक्षण सम्पन्न गरेको हो ।
माघ १५ देखि १७ गतेसम्म पार्टी कार्यालय विजुवारमा प्रशिक्षण कार्यक्रम संचालन भएको एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले जानकारी दिए । प्रशिक्षणको उद्घाटन पार्टी केन्द्रिय उपमहासचिव प्रदीप ज्ञवालीले गरेका थिए । प्रशिक्षणको समापन पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठानका संघीय सांसद् सूर्य थापाले गरे ।
फेरिदो प्रविधिसँग नजिक रहेर एमालेले विभिन्न विषयगत क्षेत्रमा आधारित प्रशिक्षण संचालन गरेको थियो । जिल्लाका ९ वटै पालिकाबाट ९६ जना नेता, कार्यकर्ताहरु प्रशिक्षणमा सहभागी भएका थिए । करिव एक दर्जन केन्द्रियस्तरका नेताहरुले जिल्ला र पालिकाका नेताहरुलाई प्रशिक्षित गरेका छन् ।
जबजको मार्गदर्शन र महाधिवेशनका कार्यदिशाका बारेमा पार्टी उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, नेपालका राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा पार्टी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, प्यूठानमा कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान र भविष्यका बारेमा पोलिटब्यूरो सदस्य एवं संघीय सांसद् सूर्य थापाले प्रशिक्षण दिए । थापाले नै प्यूठानको समग्र विकासमा पार्टीको भूमिका र भावी योजनाका बारेमा प्रशिक्षण दिएका छन् ।
मार्क्सवादी दर्शनशास्त्रका बारेमा पोलिटब्यूरो सदस्य एवं संघीय सांसद् इश्वरी रिजाल, लुम्बिनी प्रदेशमा पार्टी कामको अवस्थाका बारेमा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल, नेपालको संक्षिप्त इतिहास र नेपाली समाजको चरित्र तथा विशेषताका विषयमा केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश पार्टी स्कुल विभाग प्रमुख लक्ष्मण ज्ञवालीले प्रशिक्षण दिए ।
त्यस्तै, प्रशिक्षण व्यवस्थापन, प्रस्तुती सीप, शैली र कलाका विषयमा केन्द्रीय पार्टी स्कुल विभाग सचिव घनश्याम कोइराला, राजनीतिक अर्थशास्त्र र वर्तमान अवस्थाका विषयमा केन्द्रीय पार्टी स्कुल विभाग सदस्य बद्री खनाल, संगठन निर्माण, व्यवस्थापन र परिचालनका विषयमा केन्द्रीय पार्टी स्कुल विभागकै सदस्य रामशरण प्याकुरेल र सूचना प्रविधिको विकास, ज्ञान र उपयोगका विषयमा स्कुल विभागकै वाइपी आचार्यले नेताहरुलाई प्रशिक्षण गराए ।
यतिधेरै विषयमा प्रशिक्षण लिन पाउँदा बेग्लै उत्साह थपिएको नेकपा एमाले झिमरुक गाउँपालिका अध्यक्ष इन्द्रमणी पोखरेलले प्रतिक्रिया दिए । प्रशिक्षण समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट बोल्दै नेकपा एमाले प्यूठानका जिल्ला कमिटी सदस्य सुरेन्द्र बहादुर जिसी, देवीप्रसाद रिजाल र अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष भगवती खड्काले पार्टीलाई चलायमान बनाउनका लागि यस्ता प्रशिक्षणको विशेष महत्व हुने विचार व्यक्त गरे ।