बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर–३ शंकरनगरका विष्णु कार्कीले आफ्नो उर्जाशिल समय विदेशमा विताए । पढ्दापढ्दैको उमेरमा १२ वर्ष भारतमा र १२ वर्ष नै अफ्रिकामा उनले श्रम गरे । २२ वर्षको उमेरदेखि विदेशमा आउजाउ गरेका कार्कीले अन्ततः स्वदेशकै लगानी र पौरखले सन्तुष्टि मिल्ने निष्कर्षमा पुगेका छन् । विदेशमा काम गर्दाको भन्दा दोब्बर सन्तुष्टि आफ्नै ठाउँमा गरिएको व्यवसायबाट मिलेको उनको अनुभूति छ ।
दुई वर्ष अघि घर फर्केका ४६ वर्षिय कार्कीलाई यत्तिकै खाली समय विताउन मनले नमानेपछि रेष्टुरेण्ट संचालन गर्ने निधो गरेका हुन् । आफूसँगै ४८ वर्षिय जेठान दाई रण बहादुर भण्डारी, ५५ वर्षिय मामाससुरा मान बहादुर बर्मा र निकेश लामिछानेलाई पनि व्यवसायमा जोडेका छन् । तीन जनाले संयूक्त लगानी गरेर रुपन्देहीकै तिलोत्तमाको नयाँमिलमा कार्लो रेष्टुरेण्ट एण्ड बार संचालन गरेका छन् । अहिले यो यूवापुस्ताका लागि आकर्षणको केन्द्र बनेको छ ।
कुल २ करोड ५० लाख रुपैयाँ लगानी गरेर शुरुवात गरिएको व्यवसायले दुई वर्षको अवधिमै आफ्नो लगानी उठाइसकेको छ । आर्थिक बजार क्षेत्र तहसनहस भइरहेका बेला पनि उनीहरुले व्यवसायबाट सन्तुष्टि लिइरहेका छन् । ‘विगतको तुलनामा केही कमी त भएकै छ’,कार्कीले भने,‘तर, त्यति धेरै निराश हुनेगरी व्यवसाय घटेको छैन् ।’ रेष्टुरेण्टमा भएका आकर्षक सजावट, खरले छाएको घरमा बस्दा हुने गाउँ पुगेजस्तोे अनूभुति र थरीथरीका फोटो कैद गर्ने विभिन्न स्थानले ग्राहकहरुको मन तानेको छ । यहाँ धेरैजसो यूवाहरु रमाउन पुग्ने गर्छन् । फोटो, भिडियो कैद गर्न र जन्मदिन सहित विभिन्न खुसीका क्षणहरुलाई मनाउनका लागि यहाँ यूवाजमात पुगेर रमाउने गर्छन् ।
‘दैनिक १ सय ६० जनालाई सेवा दिनसक्ने क्षमता छ’,संचालक कार्की भन्छन्,‘रातको समयमा लाइटिङले गर्दा पनि पाहुँनाहरुको मन तानिएको छ ।’ आजभोली पनि दैनिक १ सयदेखि १ सय ५० जनासम्म ग्राहकहरु आउने गरेको उनले सुनाए । दैनिक १ लाख रुपैयाँ बढी आर्थिक कारोवार हुने उनी सुनाउँछन् ।
रेष्टुरेण्टमा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । होटल म्यानेजमेन्ट पढेका आफ्नै परिवारका २७ वर्षिय राजिव भण्डारी र २६ वर्षिय सुवर्ण बर्माको साथले अझ बढी मद्दत पुगेको संचालकहरु बताउँछन् । ‘इमान्दारीपूर्वक मेहनत गर्नसके आफ्नै ठाउँमा पनि संभावना छन् भन्ने देखिएको छ’,कार्की भन्छन्,‘तर नेपालमा लगानी गर्ने वातावरण त्यति सहज छैन् । अरु देशको तुलनामा यहाँ लगानीमैत्री वातावरण बनाइदिन सरकारले केही काम गरेको छैन् ।’
सरकारले दिने विभिन्न सेवा, सहुलियत लगायतका कार्यक्रमहरु नेताहरुका नजिककाहरुले लिने र दुरुपयोग गर्ने प्रचलनले पनि धेरै यूवाहरुमा निराशा छाएको उनको भनाई छ । उनले व्यवसायलाई अझ विस्तार गर्दै लैजाने सोँच बनाएको समेत प्रतिक्रिया दिए ।