रुकुम (पूर्व) : हिमाल पारीको जिल्लाका रुकुम (पूर्व)मा रहेका ४ हजार १ सय २ जना किशोरीहरुको रक्त अल्पता परीक्षण गरिने भएको छ । स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले जिल्लाका तीन वटा स्थानीय तहका सवै विद्यालयका किशोरी छात्राहरुको रक्त अल्पता परीक्षण गर्न लागेको निमित्त कार्यालय प्रमुख पुस्कल प्रसाद श्रेष्ठले जानकारी दिए ।
पुथाउत्तरगंगा गाउँपालिका अन्तरगत १८ बटा विद्यालयका १ हजार २ सय १७ जना, भूमे गाउँपालिकामा रहेका १८ बटा विद्यालयका १ हजार १३ जना र सिस्ने गाउँपालिकाका १८ बटा विद्यालयका १ हजार ८ सय ७२ जना छात्राहरुको परीक्षण गर्ने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए ।
उक्त कार्यक्रमका विषयमा विहिवार सरोकारवाला निकायहरुबीच जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । कक्षा ६ देखी १२ कक्षा सम्म अध्ययनरत किशोरीहरुको रक्त अल्पताको अवस्था पत्ता लगाउनका लागि उक्त कार्यक्रमको आयोजना गर्न थालिएको निमित्त प्रमुख श्रेष्ठको भनाई छ ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको अध्यक्षता रहेको थियो । समन्वय समितिका उपप्रमुख मोहन बहादुर केसी, प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक अन्जना श्रेष्ठ, जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्रराज कोइराला, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम लगायतको उपस्थिती थियो । कार्यक्रम संचालन हुने तीन वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख र शिक्षा शाखा प्रमुखको समेत कार्यक्रममा सहभागीता रहेको थियो ।
किशोरीहरुमा रक्तअल्पताको अवस्था कस्तो छ ?, ५ बर्ष मुनिका बालबालिकाहरुमा पोषणको अवस्था के छ र यी कुराहरुलाई कसरी खोजपड्ताल तथा रक्त अल्पता परीक्षण गर्ने यसको असर तथा प्रभाव लगायतका बारेमा अभिमुखीकरण कार्यक्रममा छलफल गरिएको थियो । परीक्षण कार्यक्रम माघ १८ गतेदेखि पुथा उत्तरगंगा गाउँपालिकाबाट शुरु हुनेछ ।