बुटवल : बुटवल उपमहानगरपालिका वडा नं १९ पथ्थरगन्ज मिलनटोलमा श्रीमद्भागवत सप्ताह धनधान्यान्चल ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरती महोत्सव मंगलवारदेखि शुरु भएको छ । एक सातासम्म संचालन हुने महायज्ञको रुपन्देही क्षेत्र नम्वर ३ (ख) का लुम्बिनी प्रदेस सभा सांसद् तुलसीप्रसाद चौधरीले गरे ।
उद्घाटनमा बोल्दै चौधरीले योजनावद्ध विकासका लागि गाउँटोलको विकास हुनुपर्ने भएकाले आफ्नो ध्यान यस विषयमा केन्द्रीत रहेको समेत सुनाए । विकासका लागि अध्यात्मिक क्षेत्रको संरक्षण र विकास जरुरी भएकाले प्राचीनकालदेखिको उदाहरणले देखाएको बताउँदै उनले अध्यात्मक क्षेत्रबाट समाज सुधार गर्न सकिने प्रशस्त आधारहरु रहेकाले त्यसलाई अनुशरण गर्न समेत आग्रह गरे ।
गाउँ समाजमा रहेका सबै तहका समुदायको सहकार्यमा विकास संभव भएको बताउँदै सांसद् चौधरीले त्यसलाई धार्मिक अभियानको माध्यमबाट मेलमिलाप र सहकार्यमा लैजाँदै भौतिक विकासमा लान सकिने विचार व्यक्त गरे ।
‘मन, वचन शुद्ध राखेर कर्म गरौं, अध्यात्मक र भौतिकवादलाई जोडेर अगाडि बढाऔं, सबैको सत्कर्मबाट समाज सुधार गर्न सकिन्छ, यहाँको विकासका लागि मेरो र प्रदेश सभाको तर्फबाट पूरापूरा साथ दिने प्रतिवद्धता व्यक्त गर्दछु’ चौधरीले भने ।
महायज्ञका प्रमुख वाचक पं. चन्द्रकान्त काफ्ले समाजमा छरिएर रहेको रकमलाई यस्ता धार्मिक कार्यबाट पूण्यकर्ममा खर्चिन पनि सुझाव दिए । कुनै व्यक्ति एक्लै सक्षम र धनी बन्दैमा समाजको विकास नहुने भएकाले आफ्नो कमाईको केही प्रतिशत सामाजिक अभियानमा लगाउनुपर्ने धारणा उनले राखेका थिए । पं.काफ्लेले दानदक्षिणा सबैले आफूसक्दो दिनुपर्ने तर सक्नेहरुले दिल खुला राख्नुपर्ने बताए ।
महायज्ञ मूल समारोहका संयोजक हिम बहादुर खत्रीको अध्यक्षता, पत्रकार रामप्रसाद आचार्यको संचालनमा भएको महायज्ञ शुभारम्भ कार्यक्रममा बुटवल १९ का वडाध्यक्ष चन्द्रसिंह थापा, १४ का वडा अध्यक्ष दधिराम न्यौपाने, समितिका महासचिव भानु खत्री, मिलनटोल विकास समितिका अध्यक्ष धु्रव खत्री, हरियाली आमा समूहका अध्यक्ष विष्णुदेवी खत्रीलगायतले धारणा राखेका थिए । उद्घाटन समारोह अघि मन्दिर परिसरबाट निस्केको कलश यात्रा बुटवलका वडा नं १४, १९, ११ र १३ का विभिन्न टोलमा झाँकी, पन्चेवाजासहित पुगेको थियो ।