प्यूठान : प्यूठानको पर्यटकीय स्थल मल्लरानीमा जीपलाईन निर्माण गरिएको छ । निर्माणधिन अवस्थामा रहेको जिपलाइनको परिक्षण चलिरहेको छ । जिपलाईनको निर्माण भएसंगै मंगलबार ४० देखि १ क्विन्टल तौल बराबरको सामानहरु लठ्ठमा वारपार गराईएको छ ।
सुस्ताउँदै गइरहेको सदरमुकाम खलंगाको अनुहारमा चमक ल्याउनका लागि जीपलाइनको अवधारणा अघि सारिएको मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रा.लिका अध्यक्ष इमानसिंह भारतीले जानकारी गराए । ‘केही दिन हाँगाबिँगा काट्न जरुरी देखियो’,भारतीले भने, ‘झर्ने ठाउँमा जग्गा मिलाउनु पर्नेछ ।’ केहिदिन भित्रै औपचारिक रूपमा जीपलाईनको उद्दघाट्न गरिने उनले बताए । मल्लरानी धाइरेचौर सामुदायिक वन उपभोक्ता समूह तथा पालेबन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा जीपलाईन संचालन हुनेछ ।
दुबै सामुदायिक वन उपभोक्ता समूहले आ–आफ्नो कार्ययोजना भित्र पर्यापर्यटन अन्तर्गत जिपलाईन संचालनलाई अघि बढाएका छन् । कम्पनी र दुईवटै सामुदायिक वन उपभोक्ता समूहबिच जिपलाईन संचालनको कानुनी प्रक्रिया, भाडामा लिने प्रक्रिया तथा स्वामित्वबारे सहमती हुने भारतीले बताए । ‘जिपलाईन संचालनको मोडालिटी के–कस्तो हुने यसबारे छलफल चलिरहेको छ । हामी छिट्टै निष्कर्षमा पुग्नेछौं’,भारतीले भने,‘जीपलाईनले मल्लरानीको पर्यटन प्रवद्र्धनमा विशेष योगदान पु¥याउने छ ।’ ६ सय ५० मीटर लम्बाई रहने जिपलाईनको निर्माण लागत करिब १ करोड रहने छ ।
मल्लरानीमा मल्लरानी गाउँपालिकाले समेत पाँच करोड रुपैयाँ बजेटमा विभिन्न पर्यटकीय पूर्वाधारका संरचनाहरको निर्माण कार्य अघि बढाएको छ । चिल्ड्रेन पार्क, सिँढी निर्माण, वाटर फाउन्टेन आदि पर्यटकीय पूर्वाधारका कामहरु अघि बढाईएको गाउँपालिकाका उपाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।
स्थानीयस्तरबाट समेत मल्लरानीमा विभिन्न पर्यटकीय संरचनाहरु तयार गरिएको छ । समुन्द्री सतहदेखि १६ सय ५५ मिटरको उचाईमा रहेको मल्लरानीबाट विभिन्न हिमश्रृखंला र प्यूठान उपत्यका दृश्वालोकन गर्न सकिन्छ ।