प्यूठान : लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले मेला मेला महोत्सव लगायतका औपचारिक कार्यक्रमहरु उद्घाटन गर्दै हिड्ने आफ्नो मन नभएको प्रतिक्रिया दिएका छन् । औपचारिक कार्यक्रममा लामो समय भुलेर समय खेर नफाल्ने सोँचमा आफू रहेको उनले बताएका छन् ।
सोमवार स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालीद्वारा प्यूठानको टिकुरी बसपार्कमा आयोजित प्यूठान–दिल्ली मैत्रीबस उद्घाटन कार्यक्रममा बोल्दै उनले भने,‘मलाई औपचारिक उद्घाटन कार्यक्रमहरुमा हिड्ने रुची छैन् । मन्त्रीलाई बिहान देखि साँझसम्म यसरी कार्यक्रममै राखियो भने काम कसरी गर्ने ? काम भएन् भने फेरी आलोचित भइन्छ ।’
मन्त्री पदको सपथग्रहण गरेपछि पहिलो उद्घाटन कार्यक्रममा उनी कपिलवस्तुको चन्द्रौटा महोत्सव उद्घाटन गर्न पुगेका थिए । त्यहाँ पनि उनले मंचबाटै यस्ता औपचारिक कार्यक्रममा लामो समय विताउने गरी मन्त्रीहरुलाई नभुलाउन आग्रह गरेका थिए । तर, उनी कार्यक्रमस्थलमा पुगेर यस्तो प्रतिक्रिया दिएपनि कार्यक्रममा जान भने छाडेका छैनन् । चन्द्रौटा लगत्तै उनी बुटवलमा आयोजित सडक खाना महोत्सवमा पनि पुगेर घण्टौँ समय व्यतित गरेका थिए । कुरामा दार्शनिक बनेपनि व्यवहारतः उनको अभ्यास अझै देख्न नसकिएको नागरिकहरुको प्रतिक्रिया छ ।
सोमवार मन्त्री थापाले प्यूठान देखि सीधा दिल्ली छुट्ने नेपाल भारत मैत्री बस सेवाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘उद्घाटन गर्न आएन भने मन्त्री भएर ठूलो मान्छे भयो भन्ने आरोप लाग्छ । जिल्लाका साथीहरुको अनुरोधलाई हार्न सकिएन् र आएको हुँ ।’ मन्त्रीले काम गर्न सकेन भनेर आलोचित हुने विषयमा आफू सचेत रहेको उनले सुनाए ।
यात्रुलाई सहजताका साथ सेवा दिन उनले यातायात व्यवसायीहरूलाई आग्रह गरे । कार्यक्रममा मन्त्री थापाले प्यूठानमा छिट्टै यातायात व्यवस्था कार्यालयको सेवा केन्द्र समेत स्थापना गर्ने जानकारी गराएका छन् ।
‘टिप्पणी उठाएर फाइल अघि बढाउन निर्देशन गरेको छुँ । मेरै कार्यकालमा प्यूठानमा यातायात कार्यालय खोलिने छ’,उनले भने,‘प्यूठानको समग्र विकासमा म प्रतिबद्ध छु ।’