बुटवल : गुल्मीका १२ वटै स्थानीय तहमा पुगेर प्रशिक्षण गरेको एमालेले बुटवलमा पनि बृहत प्रशिक्षण कार्यक्रम गरेको छ । नेकपा एमाले गुल्मी–रुपन्देही सम्पर्क मञ्चको आयोजनामा दुई दिने बृहत प्रशिक्षण गरिएको छ । एमाले गुल्मीको आयोजनामा हालै सवै स्थानीय तहमा पुगेर स्थानीय नेता, कार्यकर्ताहरुलाई प्रशिक्षित गरिएको थियो । बुटवल ११ स्थित झोलुंगेपुलको साइनो पार्टी प्यालेसमा भएको प्रशिक्षण कार्यक्रममा एक सय जना नेता, कार्यकर्ता सहभागी थिए ।
कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य, गुल्मी जिल्ला इन्चार्ज एवं प्यूठानका संघीय सांसद् सूर्य थापाले थापाले एमालेको दशौं राष्ट्रिय महाधिवेशनको कार्यदिशा र कार्यभार तथा नेपाली कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहासका बारेमा प्रशिक्षित गराए ।
पार्टीका केन्द्रिय सदस्य दिनेश पन्थीले पार्टी संगठन र व्यवस्थापन, गणेश खनालले दर्शन र दर्शनशास्त्र, गुल्मी पार्टी अध्यक्ष बालसिंह काउछाले प्रशिक्षण कार्यको महत्व, राजेन्द्र अर्यालले राजनीतिक दलहरूको तुलनात्मक अध्ययन, फर्शु पाण्डेले उद्यम र उद्यमशीलता, जंग नेपालीले स्थानीय तहका जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धको विषयमा प्रशिक्षण दिए ।
त्यस्तै, धर्म विश्वकर्माले पार्टी निर्माण, नेतृत्व शैली र अनुशासन, चक्रबन्धु भुसालले जनताको बहुदलीय जनवाद, गोविन्द गौतमले राजनीतिक अर्थशास्त्र र केदारचन्द्र भुसालले गुल्मी–रूपन्देही सम्पर्क मञ्चको सांगठनिक अवस्था र क्रियाशीलताबारे प्रशिक्षण दिएका थिए ।
गुल्मीमा मतदाता नामावली रहेका आठ हजारभन्दा बढी एमालेका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरू रूपन्देहीमा बसोबास गर्दै आएकाले पालिकास्तरीय प्रशिक्षण कार्यक्रमकै स्तरमा बुटवलमा प्रशिक्षण आयोजना गरिएको जिल्ला स्कूल बिभाग प्रमुख समेत रहेका एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले जानकारी दिए ।