बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडामै पुगेर एकीकृत घुम्ती शिविर मार्फत नागरिकलाई सेवा दिएको छ । विहिवार वडा नम्वर १४ स्थित टिकुलीगढमा संचालन गरिएको सेवाबाट तीन हजार बढी नागरिक प्रत्यक्ष लाभांवित भएका छन् ।
व्यवसाय दर्ता, नयाँ श्रम स्वीकृती तथा नविकरण, जेष्ठ नागरिक स्वास्थ्य परिक्षण, स्तनपायी, आयूर्वेद, बालमैत्री परामर्श, राष्ट्रिय परिचयपत्र, कृषि, पशुपंक्षी, सामाजिक विकास, महिला विकास, योजना विकास लगायत शाखाबाट प्रदान गरिने सेवा वडामै पुगेर संचालन गरिएको छ ।
वडाबाट दिइने सेवा बाहेक नगरपालिकामा पुगेर गर्नुपर्ने काम गाउँमै संचालन हुँदा नागरिकहरु उत्साहित भएका छन् । नगरपालिकाले विभिन्न वडामा पुगेर एकीकृत रुपमा सेवा दिने गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए । ‘स्वास्थ्य परिक्षण र ज्येष्ठ नागरिकहरुले बढी सेवा लिएका छन्’,अर्यालले भने,‘छिटो छरितो र चुस्तदुरुस्त सेवा नीजि क्षेत्रबाट मात्र हुन्छ भन्ने आम नागरिकमा छ । तर, सरकारी संयन्त्रबाट पनि दिन सकिन्छ भन्ने कुराको गाउँमा पुगेपछि पुष्टि भएको छ ।’
सेवा लिनका लागि नागरिक कार्यालय धाउनैपर्छ भन्ने पुरानो सोँचलाई बदल्न पनि नगरपालिकाले घरदैलोमा सेवा दिन थालेको उनको भनाई छ ।