बुटवल : लुम्बिनी प्रदेश सरकार मातहत कार्यरत महिला कर्मचारीहरुलाई प्रदेश सरकारले महिनावारी (पिरियड्स) विदा दिने व्यवस्था गरेको छ । हालै सरकारले जारी गरेको प्रदेश निजामति सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।
प्रदेश सरकारले यो व्यवस्था नियमावली बनाएपछि मात्र पूर्ण रुपमा लागु हुने छ । ‘सरोकारावालहरुसँग छलफल गरेर नियमावली बनाउने तयारी भइरहेको छ’,मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी उपसचिव भविश्वर घिमिरेले भने,‘लुम्बिनी प्रदेश सरकार मातहत कार्यरत करिव आठ सय जना महिला कर्मचारीहरु यसबाट लाभांवित हुनेछन् ।’
घिमिरेका अनुसार लुम्बिनी प्रदेश सरकार अन्तर्गत महिला पुरुष गरी करिव ४ हजार पाँच सय जना कर्मचारीहरु कार्यरत छन् ।
महिनावारी (रजस्वला) भएको बेला महिनामा कति दिन विदा दिने भन्ने नियमावली तयार भइसकेपछि टुंगो लाग्ने घिमिरेले बताए । नियमावली तयार पार्नका लागि प्रदेश सचिव सुमख घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको छ ।
नेपाल सरकारले सुत्केरी भएको बेला महिलाहरुलाई तीन महिनासम्म सुत्केरी विदा दिने गरेको छ । आन्तरिक मामिला तथा कानुन समितिका सदस्य एवं नेपाली कांग्रेसका सचेतक निमा गिरीले महिलालाई सुत्केरी विदा ६ महिनासम्म दिनुपर्ने व्यवस्थाका लागि समेत आवाज उठाइरहेको प्रतिक्रिया दिइन् ।
‘महिनावारी विदा दिने व्यवस्थापछि कतिपयले नकरात्मक टिप्पणी गरेको देखियो’,गिरीले भनिन्,‘कुनैबेला छोरीलाई पनि अंश दिनुपर्छ भन्दा मानिसहरु यसैगरी मजाकको विषय बनाउँथे । अहिले कतिपय मानिसहरु यसैगरी विरोधमा आएको देखियो ।’ महिनावारी देख्नेलाई भन्दा भोग्नेलाई पीडा हुने विषय भएकाले यसलाई मजाकको विषय नबनाउन उनले सवैमा सुझाइन् ।