बुटवल : लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक केन्द्र बुटवलमा अर्को नयाँ केवलकार संचालनको अन्तिम तयारी भइरहेको छ । सिद्धार्थ केवलकार लिमिटेडले बुटवलको वडा नम्वर १, २ स्थित देउराली डाँडाबाट ऐतिहासिक नुवाकोट क्षेत्रमा केवलकार संचालनको अन्तिम तयारी गरिएको हो । केवलकार निर्माणको करिव ९५ प्रतिशत काम पुरा भइसकेको सिद्धार्थ केवलकार लिमिटेडका कार्यकारी अध्यक्ष राजेन्द्रसिँह गुरुङले जानकारी दिए ।
‘माघको दोस्रो सातासम्म केवलकार संचालनमा आउँछ’,उनले भने,‘पुरानो बुटवललाई चहलपहल र ऐतिहासिक नुवाकोट क्षेत्रको प्रवद्र्धनमा यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ केवलकार निर्माणमा कुल १ अरब ३ करोड रुपैयाँ लगानी भएको गुरुङले जानकारी दिए ।
हाल बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर डाँडामा चन्द्रगिरी हिल्स लिमिटेडले लुम्बिनी केवलकार संचालनमा ल्याएको छ । निर्माणधिन सिद्धार्थ केवलकारमा बुटवल क्षेत्रका उद्योगी, व्यवसायी, सामाजिक अगुवा, संघ संस्था गरी १ सय २० जना बढीले लगानी गरेका छन् । २ किलोमिटर दुरीको उक्त केवलकारमा २५ वटा डब्बामा एकै दिन दुई हजार बढी पर्यटकहरु चढ्न सक्ने क्षमता रहेको छ । केवलकार चढेको सात मिनेटमा नुवाकोट पुग्न सकिने छ ।
६ दशमलव ०९८ हेक्टर क्षेत्रफल जग्गामा केवलकारका संरचना निर्माण गरिएको छ । नुवाकोट विकास समितिका अध्यक्ष एवं केवलकार संचालक समितिका सदस्य माधव नेपालका अनुसार यो नेपालकै मौलिक केवलकार हो । ‘बनेका धेरै संरचना कलात्मक र मौलिक खालका छन् । यसैको माध्यमबाट हामी नुवाकोटसँगै बुटवलको अर्थतन्त्र चलायमानलाई माथी उठाउन चाहान्छौँ ।’ उनले केवलकार संचालकहरुमा नाफाको भावले भन्दा पनि बुटवलको आर्थिक चलायमान र यहाँको पर्यटन प्रवद्र्धनलाइ माथी उठाउने उद्देश्यले वर्षौअघि देखिको सपना पुरा गर्न लागेको प्रतिक्रिया दिए ।
बुटवलको चर्चित मणीमुकुन्द सेन (फूलवारी) नजिकै निर्माण गरिएका कारण पनि सिद्धार्थ केवलकार पर्यटकहरुका लागि गतिलो गन्तव्य बन्ने स्थानीयले आशा गरेका छन् । केवलकारको तल्लो स्टेशन देउराली डाँडामा मनोरम सिद्धार्थ गार्डेन, सिद्धार्थको मूर्ति, उनले टेकेका ६ वटा पाइलाको प्रतिक स्वरुप कमलका फूल निर्माण र माथिल्लो स्टेशन नुवाकोटमा सिद्धार्थको मूर्ति सहितको सातौँ पाइला, एसियाकै ठूलो ५० फूट अग्लो मूर्ति निर्माण गरिएको छ ।
एक वर्ष पुरा नहुँदै बुटवलमा दुई ठूला केवलकार संचालनले यस क्षेत्रका उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् । ‘वारीपारी खुलेका दुई केवलकारले बुटवलको आर्थिक चलायमान उकास्ने आशा गरिएको छ’, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले भने,‘हालको भाडादर महंगो छ, केवलकार संचालकहरुले सर्वसाधरणका लागि तोकिएको भाडादर समायोजन गर्नुपर्छ ।’ केवलकारलाई यस क्षेत्रका नागरिकहरुले लुम्बिनी क्षेत्रकै गौरबको रुपमा लिएका छन् ।