बुटवल : नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई विभिन्न बेथितिको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएको छ । सोमवार संसदिय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री लिला गिरीको नेतृत्वमा पुगेको टोलीले मुख्यमन्त्रीलाई विभिन्न १३ वटा आरोपहरु लगाउँदै ध्यानाकर्षण गराएको हो । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई आरोपत्र बुझाइएको छ ।
प्रदेशमा कांग्रेस–माओवादी गठबन्धन सरकारका कारण बेथिति, विसंगति र मनपरि बढेको भन्दै गम्भीर ध्यानाकर्षण जनाउँदै सरकारलाई प्रश्न सोधेर जवाफ माग गरेको एमालेले जनाएको छ । वर्तमान सरकारका काम गराई र शैली अपारदर्शी र असन्तुलित रहेको भन्दै सर्बत्र गुनासो चुलिएको, प्रदेश मातहतका सेवा प्रवाह प्रभावकारी नहुँदा जनतामा निराशा र आक्रोस बढिरहेको, संघीयताको कार्यान्वयन भएसंगै गठन भएको लुम्बिनी प्रदेश सरकारले विसं. २०७४ सालमै लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन सकिने आधारहरु तय गर्दै तिनलाई कार्यान्वयन गर्ने चरण सुरु भइसकेको तर, सत्ता गठबन्धन फेरिएसंगै महत्वपूर्ण योजनाहरुलाई अलपत्र पार्ने काम भएको लगाएत आरोप एमालेले लगाएको छ ।
समृद्धि हासिल गर्न सकिने गरी दीर्घकालीन सोंचका साथ कैयौं कार्यक्रमहरु सञ्चालन गरिएका तर, तिनलाई समेत अहिलेको गठबन्धन सरकारबाट रोक्ने काम भएको ज्ञापनपत्रमा उल्लेख छ ।
पूर्वाग्रहका आधारमा बजेट रोक्ने, योजनाहरु प्रभावित बनाउने र विचौलिया पोस्नेगरी बजेटको दुरुपयोग गरिँदा त्यसको असर प्रदेशको समग्र विकासमा पर्न गएको प्रमुख प्रतिपक्ष दलको आरोप छ ।
संसदीय काममा महत्वपूर्ण मानिने प्रदेश सभामा विषयगत समितिहरु हालसम्म गठन नै नगरिएको, समितिका नाम मात्रै घोषणा गरेर सरकारले त्यसै रोकिराखेको, प्रदेश सभाका बैठकहरु नचलेका समयमा मिनि सभाका रुपमा काम गर्ने र प्रत्यक्ष सरोकारका संसदीय समितिहरुलाई आजसम्म नेतृत्वबिहीन बनाइराख्दा राम्रो सन्देश नगएको एमालेको धारणा छ ।
सरकारले प्रतिपक्षी दलसंग विगतमा गरेका विभिन्न समसामयिक विषयका सहमतिहरुको कार्यान्वयन गर्नेतर्फ पनि हालसम्म तदारुकता नदेखाएको, एकातिर सरकारबाट सेवाप्रवाह प्रभावकारी नहुनु, प्रदेश सभाका विषयगत समितिहरु नेतृत्वबिहीन बनाइनु, बेथिति र मनपरीलाई आत्मसात गरिनुले सरकारका कार्यशैलीले जनतामा निराशा मात्रै बढाइरहेको दावी गरिएको छ ।
यस्तै, बुद्ध जन्मस्थल लुम्बिनीमा संघीय सरकारका मन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहभागी रहेको फोटो प्रदर्शनीमा बुद्ध जन्मस्थलसंग सम्बन्धित नेपाली भूमिबारे फैलाउन खोजिएको भ्रमबारे घोर विरोध गरिएको छ । यस बारेमा सरकारको धारणा माग गरिएको छ ।
एमाले सोधेका १३ प्रश्न
१) किन बढिरहेछ बेथिति र मनपरी ?
२) किन प्रभावकारी छैनन् सरकारका सार्वजनिक सेवा प्रवाह ?
३) संसदीय समितिहरुलाई किन पूर्णता दिइएको छैन ?
४) प्रमुख प्रतिपक्षी दलसंग गरिएका सहमतिको किन कार्यान्वयन भएन ?
५) अति जरुरी तहका क्रमागत योजना समेत किन निश्प्रभावी बनाइयो ?
६) खानेपानी जस्तो अति संवेदशील योजनाहरु किन रोकिएका छन् ?
७) विगत आव ०७८÷७९ को बाँकी बक्यौताको भुक्तानी हालसम्म किन भएन ?
८) बेथिति र भ्रष्टाचारमा बारम्बार वर्तमान गठबन्धन सरकार नै किन जोडिन्छ ?
९) वर्तमान सरकारको कार्यशैलीका कारण जनतामा देखिएको निराशा, अन्यौल र आक्रोसको शिकार संघीयता कहिलेसम्म भइरहने ?
१०) योजना छनौट, बजेट विनियोजन र कार्यान्वयमा पूर्वाग्रह र मनपरी किन ?
११) सरकार विस्तारका नाममा मन्त्रालयको संख्या बढाउने कुराले सुशासनको प्रत्याभूतिलाई कहाँ टेवा पुर्याउँछ ?
१२ लुम्बिनी प्रादेशिक अस्पतालको अवस्था किन अलपत्र पारिएको छ ?
१३) बुद्ध जन्मस्थल लुम्बिनीमा संघीय सरकारका मन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहभागी रहेको फोटो प्रदर्शनीमा बुद्ध जन्मस्थलसंग सम्बन्धित नेपाली भूमिबारे फैलाउन खोजिएको भ्रमको हामी घोर विरोध गर्दछौं र यस बारेमा सरकारको धारणा यथाशीघ्र आओस् भन्ने चाहन्छौं ।