बुटवल : नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.चन्द्र भण्डारीले मुलुकको नेतृत्व गरेकाहरुले देश बर्बाद पारेको बताएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको बुटवलमा आयोजित प्रथम सम्मेलनलाई सम्वोधन गर्दै भण्डारीले पार्टीका शिर्ष नेताहरु समायानुकुल ‘अपडेट’ हुन नसक्दा देश डामाडोलतर्फ उन्मुख भएको उनले प्रतिक्रिया दिए ।
‘ऋण खोजीखोजी भैरहवा अन्तराष्ट्रिय विमानस्थल किन बनाएको छ ?’,उनले भने,‘मुलुकमा अहिले झण्डै २४ खरब ऋण छ । आयोजनाहरु नचाउने हो भने किन बनाएको ?’ उनले मुलुक हाकेका राजनीति नेतृत्वहरुलाई प्रश्न गरे ।
कार्यक्रमको मंचमा बसेका पार्टी सभापती शेर बहादुर देउवालाई लक्षित गर्दै भण्डारीले भने,‘कांगेसमा गुटगत राजनीति धेरै भयो । यसरी पार्टी बन्दैन् । तपाईको परिपरि कोही छन् भने छाडदिनुस् । देशको चिन्ता गर्नुस् ।’ उनले पार्टी सभापतीको विधानततः यो नै अन्तिम कार्याकाल रहेको जानकारी दिए । ‘कांग्रेसको गुटले न पार्टी बन्यो, न त देश’, उनले,‘देश चलाउने नेतृत्वहरुले गरेको बदमासीको ऋण नेपाली जनताले तिर्न सक्दैनन् ।’
वर्तमान सरकारले जनतालाई डेलिभरी दिन नसकेको उनले जानकारी गराए । प्रदेश सरकारले त झनै काम गरेर जनतालाइ जवाफ दिन नसकेको उनको भनाई छ । ‘भाषण गरेर मात्र देश बन्दैन्’,भण्डारी भन्छन्,‘अहिले व्यवसाय धरासय भएका छन्, अर्थतन्त्र विजोग छ । नेतृत्वलाई किन यसको चिन्ता लाग्दैन् ? ए ? देश चलाउने नेता हो, केही त चिन्ता गरौँ न ?’ उनले आक्रोशपूर्ण विचार राखे ।