बुटवल : बुटवल घुम्न आउनेहरुका लागि गोलपार्कदेखि बसन्तपुर पाल्पा डाँडामा पुग्ने लुम्विनी केवलकार नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । केवलकार चढ्नका लागि गोरखाको मनकामना पुग्नुपर्ने यस क्षेत्रका नागरिकहरुलाई बुटवलमै संचालन भएको केवलकार धेरैको रोजाइँ बनेको हो ।
काम विशेष र घुम्नैका लागि बुटवल–भैरहवा आउने पर्यटकहरु केवलकार घुमेरै फर्कने गरेका छन् । पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने बसन्तपुर डाँडाबाट बुटवलको पुरै दृश्वालोकन गर्न सकिन्छ । गर्मी मौसममा बुटवलको चर्को गर्मी छल्न पर्यटकहरु बसन्तपुर पुग्ने गर्छन् ।
बसन्तपुरमा कामाख्यादेवीको मन्दिर निर्माण गरिएको छ । भगवती मन्दिर, गणेश मन्दि, कैलाश पर्वत, वरपिपल, ढुंगेधारा र पोखरी समेत यहाँ बनाइएको छ । कामाख्या मन्दिरको दर्शन गरेपछि मनोकांक्षा पुरा हुने र सांसारिक बन्धनबाट मुक्ती पाइने जनविश्वास छ ।
संचालन भएको पाँच महिनासम्म १ लाख १५ हजार आन्तरिक एवं बाह्य पर्यटकहरु केवलकार चढेको लुम्विनी केवलकारका अप्रेशन म्यानेजर डिएन कायस्थले जानकारी दिए । ‘विभिन्न चाडपर्व र विद्यार्थीहरुका लागि छुटका विभिन्न योजनाहरु ल्याउने गरेका छौँ’,उनले भने,‘हालसम्म करिव ६ करोड रुपैयाँको आर्थिक कारोवार भएको छ ।’ प्रति व्यक्ति सात सय ५० रुपैयाँ दुईतर्फी भाडा तोकिएको छ । केवलकार चढ्नेमा ८० प्रतिशत नेपाली र २० प्रतिशत भारतीय पर्यटकहरु रहेको कायस्थले जानकारी दिए । केवलकारमा करिव ५ अर्व लगानी छ ।
तर, बुटवलका नागरिकहरुले उक्त भाडामा समायोजन गर्नका लागि सुझाव समेत दिएका छन् । दैनिक ६ हजार पर्यटक केवलकार चढ्नसक्ने यहाँ क्षमता छ ।
बुटवलमा केवलकार संचालनमा आएपछि खस्किदै गएको यहाँको आर्थिक क्षेत्र चलायमान बनाउनका लागि राहत महशुस भएको बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ती अधिकारीले प्रतिक्रिया दिए । ‘कोरोना र प्रदेश राजधानी सरेपछि बुटवलको आर्थिक क्षेत्र निकै खस्किदै गएको छ’,उनले भने,‘संचालन भएको र हुने अन्तिम तयारीमा रहेका दुई केवलकारले उद्योगी व्यवसायीहरुलाई धेरै राहत मिलेको छ । केवलकारसँगै जोडिएका अन्य विकासमा समेत हामीले ध्यान दिनुपर्ने छ ।’
उनले लुम्विनी प्रदेशकै अर्थतन्त्रको हबको रुपमा रहेको बुटवलको अवस्थालाई पुरानै लयमा फर्काउनका लागि ठूला लगानीमा खोलिएको संभावनाहरुलाई साथ दिनुपर्ने बताए । केवलकार चढेर बसन्तपुर डाँडामा पुगेपछि एक÷दुई भुल्ने खालका संरचना निर्माणमा समेत ध्यान दिने उनले संचालकहरुलाई सुझाव दिए ।