प्यूठान : प्यूठानको बाग्दुलादेखि दम्ती जोड्ने सडक कालोपत्र गर्ने योजना अलपत्र परेको छ । गत असार मसान्तसम्म सम्पन्न हुनुपर्ने योजनाको काम सकसले २० प्रतिशत मात्रै भएको छ ।
कालोपत्र गर्ने कामको जिम्मा हाम्रो निर्माण सेवा सुर्खेतले पाएको छ । भ्याट सहित ५ करोड ४१ लाख रुपैयाँमा कालोपत्र कामको सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख चन्द्र शाहले जानकारी दिए । सम्झौतामा बाग्दुला बजार क्षेत्रदेखि ३ किलोमिटर ३ सय मिटर लम्बाईमा कालोपत्र गर्ने उल्लेख छ ।
‘हामीले बारम्बार मौखिक तथा लिखित रुपमै ताकेता गर्दै आएका छौं’,शाहले भने, ‘अहिले सम्पर्क गर्न खोज्दा ठेकेदारको मोबाइल स्विच अफ छ ।’ दशैं लगत्तै ठेकेदार काममा नफर्किए पेश्की, जमानत रोक्का गर्ने गरि बैंकलाई पत्र लेख्ने तयारी भइरहेको उनले जानकारी गराए । म्याद थपको लागि ठेकेदारले निवेदन दिएपनि म्याद थप नगरिएको उनको भनाई छ ।
लगातार काम गर्ने हो भने बढिमा डेढ महिना भित्रै काम सम्पन्न गर्न सकिने शाहले बताए । ‘एक हप्ता ग्राभेल, एक हप्ता सुक्न, एक हप्ता बेस, एक हप्ता सुक्न अनि एक हप्ता पिच गर्न समय लाग्छ ।’ शाहले भने । आजको पोष्टले ठेकेदार पक्षलाई सम्पर्क गर्न खोज्दा मोबाइल स्विच अफ छ ।
जिल्लाकै प्रमुख व्यापारिक केन्द्रमा सडकको दुर्दशा देख्दा जिल्लाकै समग्र विकासको सन्देश राम्रो नजाने प्यूठान उद्योग वाणिज्य संघका महासचिव सन्देश आचार्यले बताए । छिटो छरितो रूपमा सडक स्तरोन्नती गर्न उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।
यस सडक भएर दैनिक सयौँ सवारीसाधनहरु ओहोरदोहोर गर्छन् ।