गुल्मी, प्युठान र अर्घाखाँचीको सीमामा अवस्थित गाउँ – सौतामारे । झिमरुक गाउँपालिका कम्युनिस्ट नेता मोहनविक्रम सिंहको पुख्र्याैली गाउँ । त्यही गाउँपालिकाको एक नं. वडा हो सूर्य थापाको पनि । भूमिगत कम्युनिस्ट नेता मोहनविक्रम सिंहको नाम खुब सुन्थे बाल्यकालमा सूर्य । सूर्यले झिमरुकको उदाउँदो पारिलो घाममा बाल्यकालका केही वर्ष बिताए । सुरुमा केही महिना दुई घण्टा पैदल हिँडेर गुल्मीमा पढे । पछि हाइस्कुल तह पूरै अर्घाखाँचीको हंसपुर, रतनमारेमा पढे ।
नरेन्द्रकुमार क्षेत्री हेडमास्टर थिए । भित्रभित्रै राजनीति पनि गरिरहेका उनी विभिन्न विद्यालयका ५ कक्षाका ‘टपरहरु’ भेला पारेर ६ कक्षामा पढाइ सञ्चालन गर्थे । “हामी वरिपरिका धेरै वटा स्कुलका पाँच कक्षाका टपरहरु भेला भएका थियौं, कक्षा ६ मा” सूर्य भन्छन्, “नरेन्द्र सर ०७० को निर्वाचनमा टोपबहादुर रायमाझीसँग चुनाव लड्नुभएको थियो । उहाँ निकटतम् प्रतिद्वन्द्वी पनि हुनुभयो ।”
सूर्य आफ्नो पारिवारिक पृष्ठभूमितिर फर्किन्छन्, बुबा–आमा दुबै सामान्य लेखपढ गर्ने अवसर नपाएर निरक्षर थिए । तीनवटी दिदी विद्यालय जानै पाएनन् । दुईजना दाइले कक्षा ५ मात्रै पढे । ९ जना सन्तानमध्ये बाबुआमाका साहिंला छोरा सूर्यले स्नातकोत्तर गरे । बाँकीमध्ये कान्छो भाइ चन्द्रले पनि स्नातकोत्तर र कान्छी बहिनी शर्मिलाले चाहिँ स्नातक तह उत्तिर्ण गरेका छन् । समयको प्रभाव, त्यसमा पनि दूरदराजको गाउँ । सायद लैङ्गिक विभेद पनि भयो । प्रतिफल दिदीहरुका लागि पढ्ने अवसरको ढोका खुलेन । “सायद म पनि पढ्नमा टाठो नभएको भए, बीचमै छोड्नुपथ्र्यो होला । परिवेश नै यस्तो बन्यो कि मलाई स्कुल छुटाउने वातावरण बनेन । छोरो ट्यालेन्ट भएपछि पढाउनुपर्छ भन्ने बुवालाई मोह थियो नै,” उनले ४० को दशक सम्झिए, “गाउँसमाजमा यत्तिको विद्यार्थी यहाँ छैन, नपढाएर हुन्छ भन्ने प्रेसर गरेकोजस्तो पनि भयो । त्यसैले मैले पढ्न पाएँ ।”
तर सहज कहाँ थियो र ? अहिलेको जस्तो टोलटोलमा सडक थिएनन् । मिनेटमिनेटमा गाडी आउने त्यो समय थिएन । तीन घण्टा हिँडेर विद्यालय जानुपथ्र्यो ।
सूर्यले ०४७ सालमा एसएलसी दिए । देशभरबाट ७ हजार विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण हुँदा त्यसमध्येका एक सूर्य पनि हुन् । ७१ प्रतिशत नम्बर थियो । जिल्लाका उत्कृष्ट दर्जनमध्ये सायद उनी परे ।
सूर्य पढाइमा अब्बल, इन्जिनियर हुने रहर थियो । मार्कसिटले छेक्दैनथ्यो । मनमा रहर र उत्साह थियो । काठमाडौंका लागि बाटो खुल्यो । दुई दिन हिँडेर एक रात नुवाकोटमा बास बसेर पत्थरकोट आए । गोरुसिगेंबाट काठमाडौंको गाडी चढे । गाडीमा गुड्दा मनभरि रङ्गीन सपना थियो । इन्जिनियर हुने सङ्कल्प थियो । सपना र सङ्कल्पसँगै उनी काठमाडौं ओर्लिए ।
“पुल्चोकमा इन्जिनियर पढ्न मेरो नाम निस्किन्थ्यो, त्यसका निम्ति स्कोर पुगेकै थियो” उनी आज पनि उत्तिकै ढुक्क सुनिए, “तर घरायासी तारतम्य मिलेन र इन्जिनियर पढ्न पाइनँ ।”
इन्जिनियर हुन हिँडेका सूर्यलाई परिस्थितिले अन्तै मोडिदियो । कैलाशकुट बहुमुखी क्याम्पस टङ्गालमा कमर्स पढ्न थाले । नेपाल कमर्स क्याम्पसबाट कमर्समा स्नातक गरे । उनले विद्यार्थी राजनीतिको फेरो समातेको हाइस्कुलबाटै थियो । अर्थात् अर्घाखाँचीमा आफूले पढेको सिद्धार्थ मावि र सदरमुकामको भगवती माविमा नै उनी अखिलमा सक्रिय भइसकेका थिए । काठमाडौंमा पनि उनले विद्यार्थी राजनीतिलाई नजिकबाट नियालेनन् मात्रै, कैलाशकुट क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्विरोध सभापति चुनिए ।
पाटन संयुक्त क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरे । उनी अहिले त्रिविवि, समाजशास्त्र केन्द्रीय विभागअन्तर्गत एमफिल गरिरहेका छन् । सुरुका केही वर्ष घरबाटै खर्चको जोहो गरेका सूर्यलाई त्यसपछिका एकाध वर्ष वेलायती सेनाका मेजर त्रिलोकसिंह थापा र आफ्नै क्याम्पसका शिक्षक झलक खनालले पढाइमा अत्यावश्यक र अभिभावकीय सहयोग गरे ।
आईकमको परीक्षा अगावै उनले पत्रकारिताको अभ्यास सुरु गरेका थिए ।
पत्रकारिता व्यावसायिक भइसकेको थिएन । तर त्यसको सङ्केत भने देखिन थालेको थियो । ‘कान्तिपुर’ दैनिक ठूलो लगानीमा निजी क्षेत्रबाट प्रकाशन सुरु भएको थियो । तर, साप्ताहिक पत्रिकाकै हालिमुहाली चलिरहेको थियो । एफएम, निजी टेलिभिजन तथा अनलाइन आइसकेका थिएनन् ।
रघुजी पन्तले सूर्यलाई २०५१ मङ्सिरमा ‘दृष्टि’ साप्ताहिकमार्फत पत्रकारितामा अघि बढाए । अध्ययन् र सीपका हिसाबले कुन्दन अर्यालले संवाददाता, सहसम्पादक, कार्यकारी सम्पादक र सम्पादकको जिम्मेवारी सुम्पेर स्थापित गरेको सूर्य स्मरण गर्दछन् । खासमा उनी जिम्मा पाएको काममा पूरा मनले मिहिनेत गर्दै आफूलाई पूर्ण पत्रकार बनाउँदै अघि बढे । रघु पन्त, शम्भु श्रेष्ठ, कुन्दन अर्याल, शिव गाउँले र उनीलगायतको टिम ‘दृष्टि’मा थियो ।
०५२ साल मंसीरमा ‘दृष्टि’को पहिलो पृष्ठमै एउटा सूचना प्रकाशन भयो, ‘अब हामी बुधबार भयौं... ।” ‘बुधबार’को नेतृत्व गरेका थिए, रघुजी पन्तले । सूर्य पनि त्यतै गए । रघुजी प्रधानसम्पादक भए, कुन्दन अर्याल सम्पादक भए । शिव गाउँले, सूर्य थापा, विवश वस्ती र ईश्वरी ज्ञवाली आदि संवाददाता थिए । भीमसेन राजबाहक, नारायण अर्याल, विष्णुहरि अधिकारी, सुरज मगरले सारा झन्झटको जिम्मा सम्हालेर मात्रै सानो लगानीमा प्रकाशन हुने पत्रिकाको नियमिता संभव भइरहेको थियो ।
शिव गाउँले पत्रिका ‘व्यवसायिक पत्रकारिता’ तिर लागे । सूर्य ‘बुधबार’कै सह–सम्पादक भए । ०५९ असारमा आइपुग्दा सूर्य सम्पादक भए । यो जिम्मेवारी ०६४ सम्म सम्हाले उनले । ०५९ असोज १८, ०६१ माघ १९, राजतन्त्रको अन्त्य र संविधानसभा निर्वाचनजस्ता राष्ट्रका महत्वपूर्ण घटना हुँदा उनी पत्रिकाको मुख्य भूमिकामा थिए ।
‘बुधबार’ एमालेको पत्रिका थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएको समय । पत्रकार र पत्रकारिताका लागि सहज थिएन । त्यसमा पनि राजनीतिक दल निकटको पत्रिकामा काम गर्नु राज्यसत्ताको आँखाको तारो बन्नु थियो । सम्पादकको जिम्मेवारी । कयौंपटक उनले जिल्ला प्रशासन कार्यालयलाई बयान दिए । कहिले लिखित त कहिले मौखिक । “दिनमा तीन पटकसम्म पनि बयान दिनुपर्यो । शनिबार पनि तारेख दिन्थे,” पत्रकारितामा राज्यको कू–दृष्टि परेको समयमा पाएको दुःखको कथा सुनाउँछन्, सूर्य ।
०६४ सालमा सूर्यले ‘ट्र्याक चेन्ज’ गरे । सम्पादकको जिम्मेवारी विष्णु रिजाललाई हस्तान्तरण गरे । आफू भए तत्कालीन नेकपा एमालेको प्रचार विभाग सचिव । त्यो बेला रघुजी पन्तले नै विभाग सचिवको जिम्मेवारी प्रदान गरेका थिए । उनले पार्टीको प्रचार विभागमा प्रदीप नेपाल, रघुजी पन्त, ईश्वर पोखरेल, प्रदीप ज्ञवालीसँग डेढ दशकभन्दा बढी समय पार्टी प्रचार विभागको सदस्य र सचिवको जिम्मेवारी सम्हाले । केन्द्रीय सदस्य भइसकेपछि योगेश भट्टराई र नारायणकाजी श्रेष्ठ (हाल प्रवक्ता)को नेतृत्वमा उप–प्रमुखको जिम्मा सम्हाले र सम्हालिरहेका छन् ।
एमालेले राजनीतिक मुखपत्र ‘नवयुग’ मासिक पत्रिका प्रकाशन गथ्र्यो । केन्द्रीय कमिटीको राजनीतिक पत्रिका ‘नवयुग’मा जो प्रचार विभाग प्रमुख हुन्छ, ऊ प्रधान सम्पादक र सचिव सम्पादक हुने व्यवस्था थियो । उनी ०६४ देखि २०६६ सम्म कार्यकारी सम्पादक र ०७१ सम्म सम्पादक भए । एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पार्टी एकता विशेषसहित ‘नवयुग’ अन्तिम अङ्क निस्कियो । अनि एकीकृत पार्टीको अर्को संस्थागत निर्णय नहुञ्जेलसम्मका लागि बन्द भयो । उनी भन्छन्, “त्यतिबेला नेपालको इतिहासमा राजनीतिक दलले नियमित मुखपत्र निकालेको त्यही पत्रिका थियो ।”
पत्रिकाको मात्रै होइन सूर्यले प्रशारण माध्यम रेडियो नेपालको पनि अनुभव सङ्गाले । ‘घटना र विचार’ र ‘परिवेश’ कार्यक्रममा काम गरे । ०५३÷५४ मा झलनाथ खनाल सञ्चारमन्त्री हुँदा सूर्यले ‘घटना र विचार’मा सह–सञ्चालक भएर काम गरे । ०५६ सालमा संयुक्त सरकार भएको समय उनी ‘परिवेश’ कार्यक्रममा सहसमन्वयकर्ता थिए ।
० ० ०
पत्रकारितामा रहँदा उनले धेरै सूचना सम्प्रेषण गरे । समाचारका रुपमा पाठक÷स्रोतामाझ पठाउन मिल्ने सूचनालाई समाचारमा रुपान्तरण गरे । कति त्यस्ता सूचना र जानकारी उनीसँग थिए जो समाचार होइन, पुस्ताकाकार योग्य थिए । सङ्ग्रहित तिनै सूचना र थप अध्ययन तथा सङ्कलन गरेर उनले पुस्तक लेखे, चार वटा ।
राजतन्त्रविरुद्ध उनले पुस्तक लेखे । उनी दाबी गर्छन्, “राजतन्त्रविरुद्ध तथ्यसहित व्यवस्थित रुपमा लेख्न मैले सुरु गरेको हुँ ।”
१, विश्वमा राजतन्त्रः उत्थान, पतन र भविष्य (२०६०)
२, नेपालमा राजतन्त्र र दलहरुबीचको सङ्घर्ष (२०६२)
३, राजतन्त्रको अर्थराजनीति (२०६२)
४, नेपालमा गणतन्त्रको स्थापना र राज्यको पुनःसंरचना (२०६५)
संसारभर राजतन्त्र कसरी पतन भयो, नेपालमा राजतन्त्र के हुन्छ त ? जनता र राजनीतिक दलसँग सम्झौता गरे जोगिन सक्छ, अन्यथा गणतन्त्र अपरिहार्य छ भन्ने उनको पहिलो पुस्तकको निष्कर्ष थियो ।
दोस्रोमा राजनीतिक दलहरुको राजतन्त्रलाई हेर्ने नीतिमा रहँदै आएको उतारचढावको समीक्षा, तेस्रोमा तत्कालीन राजा वीरेन्द्रको वंशनाशपछि उनको सम्पत्तिको स्वामित्वको लेखाजोखा थियो । ज्ञानेन्द्रले आफ्नो सुविधा ६ करोडबाट बढाएर ६८ करोड पुर्याएको अवस्था र वीरेन्द्रको नाममा रहेको सम्पत्ति भटाभट आफ्नो नाममा बनाउन थालेपछि यो विषय लेख्न उनी सक्रिय भएका थिए । दरबारको ८ हजार रोपनी जग्गा लालपुर्जासहित उनले पहिलो पुस्तकमा नै सर्वप्रथम छापेका थिए । त्यसरी दरबारको सम्पत्ति खोज्नु कम चुनौती थिएन । तर उनले सतथ्य त्यो जोखिम उठाए । चौथोमा राजतन्त्रको उन्मूलन र सात प्रदेशसहित राज्यको पुनःसंरचनाको विषय थियो ।
उनले कमर्स र मानविकी पढे । पत्रकारिताको अभ्यास गरे । किताब लेखे । हुन त व्यक्तिलाई अभ्यासले निखार्छ । सैद्धान्तिक ज्ञानले अझै पूर्ण बनाउँछ । यो तथ्यलाई सूर्यले नजरअन्दाज गरेनन् । र, पुगे नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) । एनपीआईको १३ औं ब्याच हुन्, सूर्य । १० महिनाको पत्रकारिताको तालिम लिए । एक महिना लामो खोज पत्रकारिता तालिम लिए । त्यसबाहेक पत्रकारिताका छोटाछोटा थुप्रै तालिम पनि लिए, जसले उनलाई थप दक्ष बनायो ।
जति पनि पत्रिकामा उनले काम गरे, पहिलो पत्रिका ‘अभिमान’ बाहेक कुनै दल वा नेता निकट नै थिए । व्यावसायिक पत्रिकामा उनले किन काम गरेनन् ?
तीर्थ कोइराला ‘कान्तिपुर’ दैनिकबाट बाहिरिएर निकालेको ‘श्री सगरमाथा’मा सूर्य गए । काम गरेको दुई दिन भएको थियो, रघुजी पन्तले सूर्यलाई पुनः बुधबारमै फिर्ता गरे । उनलाई रघुजी पन्तले बुधबार छाड्दा लेखेका थिए, “...यही बुधबार साप्ताहिकबाट सूर्य सम्भावना बोकेको भरभराउँदो उदाउँदो प्रतिभाका रुपमा चिनिएका छन्... ।”
० ० ०
उनले समाचारमा कलम चलाइरहेका थिए । एमालेका अक्सर सबै शीर्ष नेतासँग नजिकको चिनजान थियो । त्यसैले सूर्यलाई पार्टीले पत्याउँथ्यो । नेताहरुले विश्वास गर्थे । परिणाम बेलाबेलामा उनले साना–ठूला जिम्मेवारी पाइरहे । भरतमोहन अधिकारी उपप्रधान तथा अर्थमन्त्री हुँदा सूर्यले उनको ‘मिडिया कन्सल्टेन्ट’को जिम्मेवारी पाए ।
पार्टीले भरोसा गर्दै गयो । एमाले नेताहरुको सामीप्य छँदै थियो । सूर्य एमाले प्रचार विभागको सचिव थिए । झलनाथ खनालको प्रधानमन्त्रीकालमा सल्लाहकार समूहमा सूर्यको नाम पनि पारियो ।
प्रधानमन्त्री (०६७ माघ २०) भएको दिन बधाई दिने क्रममा झलनाथ खानलसँग भेट भएको थियो । त्यही दिन भारतीय प्रधानमन्त्रीले फोन गरेर नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिए । त्यो समाचार सञ्चारमाध्यममा पुर्याउने काम सूर्यले नै गरेका थिए ।
दोस्रो दिन भेट भएन । तेस्रो दिन सिंहदरबारमा झलनाथसँग सूर्यको भेट भयो । “तपाईंलाई मैले खोजिरहेको थिएँ । छिटो आएर मलाई सघाउनुपर्यो । मेरो काम अस्तव्यस्त भइरहेको छ, व्यवस्थित गर्नुपर्यो नि,” झलनाथले सूर्यलाई भने । “व्यक्तिगत निर्णयभन्दा पार्टीको संस्थागत निर्णय हुँदा राम्रो हुन्छ कि,” जवाफमा सूर्यले भने ।
राजेन्द्र पाण्डे राज्यव्यवस्था प्रमुख थिए । उनले त्यतिबेला प्रचलित संस्थागत रुपमा निर्णय गरेर “पुरुषोत्तम पौडेल राजनीतिक सल्लाहकार, सूर्य प्रेस सल्लाहकार, मिलन तुलाधर विदेश मामिला सल्लाहकार र निर्मल भट्टराई जनसम्पर्क सल्लाहकारमा सिफारिस गरे । सात महिना उनी प्रधानमन्त्री झलनाथ खनालको प्रेस सल्लाहकार भए ।
सूर्य अलिकति अगाडि फर्किन्छन्, माधव नेपालले राजीनामा दिएर झलनाथ खनाल काबा महासचिव हुँदा नै सूर्य प्रचार विभागको सदस्य थिए । प्रचार विभागमा रहनुका नाताले मूल नेतृत्वसँग सङ्गत बढेको थियो ।
माघ १९ गते दिउँसो ३ बजे झलनाथ खनाल टोयटा कार चढेर आफ्नो निवास डल्लुबाट पार्टी कार्यालय बल्खु आए । ‘बुधबार’को कार्यालय बल्खुमै थियो । सूर्यले झलनाथ आएको देखे । उनको प्रतिक्रिया लिन टेलिभिजनहरु आइसकेका थिए । झलनाथ टेलिभिजनहरुलाई प्रतिक्रिया दिइरहेका थिए । सूर्यले झलनाथलाई एकान्तमा भने, “यो प्रतिक्रिया साथीहरुले इतिहासलाई सुरक्षित राख्लान्, अहिले सबै नेता नजरबन्दमा छन् । प्रदीप नेपाल यहीँबाट भर्खरै पक्राउ पर्नुभयो । मोदनाथ प्रश्रित उम्किएर सुरक्षित हुनुभयो । महासचिव माधव नेपाल नजरबन्दमा हुनुहुन्छ । ईश्वर पोखरेल सप्तरीमा प्रहरी हिरासतमा हुनुहुन्छ । पार्टीको लेटरहेड हामीसँग प्रचार विभागमा छ । तपाईं विदेशविभाग प्रमुखका नाताले यो घटनाप्रति पार्टीको प्रतिक्रियालाई वक्तव्यमार्फत जारी गरेर छिटो सुरक्षित हुनुपर्यो ।
त्यहीँ बसेर झलनाथले वक्तव्य मस्यौदा गरे । त्यहीँबाट वक्तव्य जारी गरेर उनी घर गए । त्यसपछि भूमिगत भएर झलनाथले माधवकुमार नेपाल नछुटुञ्जेल संयोजक र कार्यवाहक महासचिव भएर नेतृत्व गरे । त्यो समय उनको खासगरी प्रचार कार्यको काममा सूर्यले सघाए । माघ १९ विरुद्धको सङ्घर्ष, ०६४ को निर्वाचनमा पार्टीका अधिकांश प्रमुख नेता पराजित हुँदा झलनाथ जितेर आएका कारण पार्टी महासचिव भए । उनी पार्टी अध्यक्ष हुँदाका सबै वर्ष प्रचार क्षेत्रको काम सूर्यले नै सहयोग गरेका थिए । त्यसले झलनाथसँग उनको निकटको सम्बन्ध स्थापित भएको थियो । त्यसैले उनी प्रधानमन्त्री बन्दा प्रेस सल्लाहकारको रुपमा सिफारिस र नियुक्त भएका थिए ।
सङ्क्रमणकाल थियो । संविधान निर्माणको काम डेडलक प्रायः थियो । सेना समायोजनमा आएर राजनीतिक दलहरु अड्किएका थिए । सेना समायोजनको कोसिसमै भलनाथ नेतृत्वको सरकार केन्द्रित रह्यो । “पछि सेना समायोजनमा जेजस्तो सहमति भयो, त्यसको ९५ प्रतिशत गृहकार्य झलनाथ नेतृत्वको सरकारले नै गरेको थियो,” सूर्यले सम्झाए ।
० ० ०
पत्रिकारिता पेशा, कलम र राजनीतिक सक्रियताले सूर्यलाई नेताको नजिक पुर्याएको थियो । सायद भरोसा गर्न लायक थिए उनी । नेताको सामीप्यता पाए । त्यसले सूर्यलाई पत्रकारिताप्रति राजनीतिक दल र तिनका नेताहरुको धारणा, व्यवहार र समझदारी बुझ्ने मौका दिलायो ।
सूर्यको अनुभवले भन्छ, पहिलेपहिलेको तुलनामा नेताहरुले सञ्चार माध्यमलाई धेरै मसिनोसँग बुझ्न थालेका छन् । सञ्चार माध्यमको प्रभावकारिता बढेको छ । मिडिया व्यवस्थापन नेतृत्वको अनिवार्य काम र कलाका रुपमा अपरिहार्य भइसकेको उनले अनुभव गरेका छन् । मिडियाको व्यवस्थापन कला पनि नेतृत्वका लागि बाध्यात्मक भइसकेको उनको बुझाइ छ ।
“सुरुसुरुमा मिडिया हाम्रो पक्षमा हुनुपर्छ, हाम्रो सपोर्टमा मात्रै लेख्नुपर्छ । मिडियाको काम हाम्रो प्रचार गरिदिने न हो भन्ने नेताहरुको बुझाइ थियो,” सूर्य भन्छन्, “अहिले मिडिया प्रचारक मात्रै होइन, आलोचनात्मक हुनुपर्छ भन्ने बुझाइ क्रमशः बढ्दैछ ।” पुराना नेता जो लामो समय जेलमा वा भूमिगत बसेर आए, उनीहरु पुरानोखाले मान्यतामा हुनु स्वभाविकै हो, तर नयाँ पुस्ता पुरानो मान्यताबाट भिन्न रुपमा अघि बढिसकेको सूर्यले अनुभव गरेका छन् । सञ्चारमाध्यममा आएका तथ्यगत समाचार र विश्लेषणलाई नजरअन्दाज वा बेवास्ता गरेरै अगाडि बढ्न त कठीन छ । पुरानो खाले यस्तो सोच र व्यवहार पार्टी, नेताहरु सरकार सञ्चालनको नेतृत्वमा पुगेको यसबेला भत्किँदै गरेर तथ्यको आधारमा नै सत्यमा पुग्ने जोड चलिरहेको सूर्यले गरेको अनुभव हो । सञ्चारमाध्यमको मुख थुनेर, नियन्त्रण गरेर, तथ्यप्रति आँखा चिम्लिएर अगाडि बढ्ने प्रयास कम हुँदै गएको उनी बताउँछन् । ‘प्रेस र पर्यटन खुला हुनुपर्छ’ भनेर मदन भण्डारीले वहुलवादी खुला समाजको पक्षमा जोड दिएपछि त्यसको प्रभाव सिंगो पार्टी र नेताहरुमा बढी परेको तथा व्यवहारमा पनि क्रमशः सहिष्णुता र संयम देखिन थालेको उनलाई लाग्छ ।
“सुरुसुरुका दिनमा पार्टीहरुले निकै लामालामा खण्डन वक्तव्य निकाल्थे । अहिले त्यस्ता खण्डन वक्तव्य आउँदैनन् नै भने पनि हुने अवस्था रहेको छ,” उनले तुलनात्मक अध्ययन सुनाए । साप्ताहिक पत्रिकाहरु र पार्टीको राजनीतिक मुखपत्रको सम्पादनमार्फत निरन्तर साढे दुई दशक आफ्नो उर्जा र सामथ्र्य लगाई पत्रकारिता र प्रचारकार्यमा सक्रिय रहँदै आएको अनुभवका साथ सूर्य प्रचार कार्यलाई व्यवस्थित गर्न नै सक्रिय छन् । र, मूलधारका व्यवसायिक संचारमाध्यममा नियमित लेखिरहेका छन् ।
नेपाली सञ्चारमाध्यमका खराब प्रवृत्ति पनि सूर्यले बुँदागत रुपमै कोट्याएः
१, नकारात्मकता
२, फेक न्युज
३, तोडमरोड
४, बार्गेनिङ र
५, पेड न्युज ।
यी बाहेक व्यवसायिक संचारमाध्यमका समाचार र विश्लेषणलाई सरकार होस् या नेता वा दल वा समाज कसैले पनि नजरअन्दाज गर्न नसक्ने उनी बताउँछन् । समाचारको शक्ति सम्झिँदै उनले केही समाचारको प्रभाव र परिणामको उदाहारण दिए, कृष्णबहादुर महरा प्रकरणको प्रसङ्गमा ।
अझै सञ्चारमाध्यमको खोज, अनुसन्धान तथा अध्ययन नपुगेको उनी बताउँछन् । भन्छन्, “त्रिताल आयोगको प्रतिवेदनपछि मात्रै बालुवाटारको जग्गा प्रकरण छरपष्ट आयो । सर्वोच्च अदालतको आदेशपछि मात्रै आलम प्रकरण रहस्यको गर्भबाट सार्वजनिक भयो ।”
जुनकुनै निर्णय गर्नुपूर्व नेता तथा राजनीतिक दलहरु भोलि सञ्चारमाध्यमले के गर्लान् भनेर सोच्छन् ? जवाफमा सूर्य भन्छन्, ‘‘आज त त्यो अवस्था पनि आएको छ होला, तर जुन समय म पहिलोपटक प्रधानमन्त्रीको प्रेस सल्लाहकार थिएँ, त्यो बेला भोलि मिडियाले के लेख्लान वा भन्लान् भनेर निर्णय नै प्रभावित हुँदैनथ्यो । बुद्धिजीवी, आमजनता, सरोकारवाला पक्ष, मित्रराष्ट्रको प्रतिक्रिया के होला भनेर छलफल त हुन्थ्यो । तर, मिडियाले लखेट्छ कि समर्थन गर्छ भनेर निर्णय नै प्रभावित हुँदैनथ्यो । सञ्चारमाध्यम पनि आजजस्तो प्रभावकारी भइसकेका थिएनन् ।’’
तर समय र प्रविधिले कोल्टो फेरिसक्यो । सञ्चारमाध्यमको प्रभावको सामथ्र्य अहिले निकै माथि उक्लिसकेको छ यो बेला । हरेक पाइलापाइलामा संवेदनशील भएर सोच्नुपर्ने अनिवार्य भइसक्यो ।
० ० ०
माघ १९ को कदमविरुद्ध दलहरु आन्दोलनको पृष्ठभूमि तयार पारिरहेका थिए । त्यही विषयलाई लिएर सूर्यले समाचार लेखेका थिए । राष्ट्रिय एकता परिषद्का निक्ष शमशेर राणा, जो ज्ञानेन्द्रको मन्त्रिमण्डलमा सहायकमन्त्री पनि भए । उनका समर्थकहरुको एक टोली त्यही समाचारलाई लिएर सूर्य थापा को हो ? खोज्दै कार्यालय आइपुग्यो । यस्तो समाचार छाप्ने भन्दै धम्क्याउन खोज्यो । टेलिफोनमा धम्क्याउने बेनामेहरु कयौं हुन्थे, त्यसको लेखाजोखा छैन । तर, कार्यालयमै आएर धम्क्याउने सीमितमध्ये त्यो एउटा टोली थियो ।
अर्को एउटा घटना सूर्यको मानसपटलमा अझै धमिलो भएको छैन । समय राजा ज्ञानेन्द्रको थियो । शाही सेना ब्यारेकबाट निस्किएको थियो । काँधमा राइफल बोकेका सेना बुट बजार्दै समाचारकक्षमा पुगेका थिए । सेनाको मेजर समाचार सेन्सर गर्न बसे । उनीहरुलाई देखाएर मात्रै समाचार छाप्ने–नछाप्ने निर्णय गराउनुपर्ने अवस्था थियो ।
दैनिक पत्रिका र रेडियो तथा टेलिभिजनमा सर्वत्र कू–दृष्टि परेको थियो । साप्ताहिक पत्रिकाहरुलाई नजरअन्दाज त गरेका थिएनन्, तर कम प्रभावकारी भइरहेको समय थियो सायद । दलनिटकटका त्यस्ता पत्रिकामा झन् धेरै आँखा लगाएको अवस्था थियो, किनकि तिनले संप्रेषणनिम्ति जोखिम उठाउन सक्थे । लोककल्याणकारी विज्ञापन रोक्नेसम्मको हर्कत भएको थियो ।
‘हिमाल’ र ‘बुधबार’ लगायत पाक्षिक र साप्ताहिकहरुले नडराई सूचना तथा समाचार सम्प्रेषण गरिरहेका थिए । तर, शाही राज्यसत्ता थोरै पनि आलोचनात्मक समाचार नसहने र मौका छोपेर ठीक लगाउने क्षणको पर्खाइमा थियो ।
राजतन्त्रविरुद्ध पत्रिकामा लेख्दा उनले मोलेको जोखिम कम चुनौतीपूर्ण थिएन । त्यो सूर्यले प्रत्यक्ष महसुस गरिरहेका थिए । उनका निकट तथा शुभचिन्तकहरुलाई पनि चिन्ता थियो । बीबीसी नेपाली सेवाका एक सहकर्मीले आफूलाई लन्डनबाट फोन गरेर भनेको सूर्य सम्झिन्छन् “तपाईं घरबाट निस्किँदा तथा कतै जाँदा वा फर्किंदा अलि ख्याल गर्नुस् है । समय तपाईंका लागि अनुकूल र सुरक्षित छैन ।”
“माघ १९ को दिन ‘बुधबार’ प्रकाशन हुन सकेन । सेनाले दीपावली गरेको लगायत दरबार र शाही कदमको स्वागत र प्रशंसाको समाचार मात्रै छाप्न पाउने भनेपछि हामीले भन्यौं, त्यसरी त हाम्रो पत्रिका निस्किँदैन,” सूर्य नेपाली पत्रकारितामा कालो पोतिएको त्यो दिन सम्झिन्छन्, “हामीले पत्रिका निस्किँदैन भनेको कुरा सेनाका मेजर शङ्कर भण्डारीले त्यहीँबाट फोन गरेर जङ्गी अड्डालाई खबर गरे, पत्रिका निस्किँदैन रे सर ! उताबाट बोलेको आवाज मैले सुनेँ– गुड न्युज ! पछि मैले पत्रिका निस्किँदैन रे, गुड न्युज ! भनेर लामो आलेख नै लेखेको छु ।”
यो स्टोरीसहितको नयाँ पुस्तक यही आउँदो माघ १९ गते प्रकाशन गर्दैछन्, सूर्य । नाम राखेका छन्, ‘स्वतन्त्रता सङ्ग्राम ।’ यो पुस्तक मिडिया केन्द्रित छ । खासगरी माघ १९ पछि देशभरका पत्रकारलाई राज्यले काटेका पुर्जी, सञ्चारमाध्यमलाई काटिएका पुर्जी र तिनका विरुद्ध परेका रिट । अनि, ती रिटमा अदालतले कस्तो आदेश दियो जस्ता विष्यवस्तुको दस्तावेजीकरण र विश्लेषणलाई पुस्तकमा समेटिएको उनी बताउँछन् ।
पदम ठकुराठीलाई गोली हान्ने पृष्ठभूमिकै निरन्तरताका रुपमा माघ १९ पछिको नेतृत्व शक्तिमा आएको थियो । त्यसैले एउटा च्याप्टर ठकुराठीमाथिको गाली काण्डको सन्दर्भ र तथ्यको विश्लेषण पनि उनको किताबमा रहेको छ । सूर्य आफ्नो पुस्तकको सामग्रीलाई माघ १९ पछिको दस्तावेजहरुको सुरक्षित प्रस्तुति भन्न रुचाउँछन् ।
जेपी गुप्ता ०५८ मा सञ्चारमन्त्री हुँदा जारी गरेको मन्त्रालयको आदेश र निर्देशिका (माओवादी लक्षित) जस्तो थियो, ०५९ माघ २० गते सञ्चार मन्त्रालयले जारी गरेको निर्देशन (राजनीतिक दल लक्षित) जारी गर्दा हुबहु उस्तै रहेको छ । यी दुवै आदेश र निर्देशन उनको पुस्तकमा रोचक तुलनाका रुपमा समावेश छन् ।
गणतन्त्रका पक्षमा नेपाल पत्रकार महासङ्घले निर्णय गर्दा त्यसको प्रस्ताव ड्राफ्ट गर्ने, बैठकमा सबैलाई हस्ताक्षर गराउने र बैठकमा निर्णय गराउन प्रस्ताव राख्ने आफू भएको सूर्य बताउँछन् । पूर्ण प्रेस स्वतन्त्रताका लागि लोकतान्त्रिक गणतन्त्र उनीहरुको माग थियो । संविधानसभाको निर्वाचनका लागि अब जानुपर्छ भन्ने महत्वपूर्ण निर्णय पत्रकारका तर्फबाट गर्दा सूर्य अगुवा भूमिकामा नै थिए । भलै उनी त्यो बेला महासङ्घको केन्द्रीय सदस्यमात्रै थिए । उनीहरुको नेतृत्व अध्यक्ष विष्णु निष्ठुरीले गरेका थिए ।
माघ १९ र त्यसपछिका घटनाबारे दस्तावेजका रुपमा बजारमा छरिएर विभिन्न सामग्री रहे पनि साङ्गोपाङ्गो दस्तावेजका रुपमा जस्ताकोतस्तै सुरक्षित नभएको महसुस भएपछि सूर्यले यो पुस्तक लेखेका हुन् ।
० ० ०
‘बुधबार’ तत्कालीन एमालेनिकट पत्रिका थियो । त्यसको प्रभाव ‘कन्टेन्ट’मा सिधै वा घुमाएर जुनसुकै तरिकाले पथ्र्यो भन्ने स्वीकार्न सूर्यको जिब्रो लक्पकाउँदैन । तर कुनै पनि व्यक्ति र दलका विचार मुखरित गर्न ‘बुधबार’ले प्रसस्त ठाउँ दिएको उनी बताउँछन् । काङ्ग्रेसका नरहरि आचार्य, भूमिगत हुँदा प्रचण्ड र डा.बाबुराम भट्टराईका विचार तथा अन्तरवार्ता कयौंपटक ‘बुधबार’ले छापेको सूर्य खोल्छन् । त्यतिबेला केवल पार्टी कार्यकर्ता मात्रै होइन, त्योभन्दा बाहिर निस्किएर आमजनतालाई पनि ‘बुधबार’ पढाउने लक्ष्य रहने गरेको उनको भनाइ छ ।
नेपालमा लामो समय मिसन पत्रिकारिता रह्यो । पञ्चायत जोगाउने र मास्ने दुवैले आआफ्नो विचारको पक्षपोषण गरे । जसको पक्षमा जो छ, उसैले आर्थिक व्ययभार बेहोथ्र्यो । प्रजातन्त्रपछि मिसन पत्रकारिताको समय सकियो । व्यावसायिक पत्रकारिताको अभ्यास सुरु भयो । तर आजको यो समयमा पनि दलका कतिपय मुखपत्रहरु छँदैछन् । फरक यत्ति हो, केही घोषित रुपमै छन्, केही अघोषित । धेरथोर जति उपलब्ध गराउन्, यस्ता पत्रपत्रिकाको आर्थिक स्रोत मूलतः पार्टी नै हुन् । पार्टीको भरथेगमै यस्ता पत्रिका निस्किन्छन् भन्न उनी हिच्किचाउँदैनन् । स्पष्ट भन्छन्, ‘पत्रकारहरु स्वयम्सेवी रुपमा थोरै पैसामा काम गरेर योगदान गर्छन् ।’’ साप्ताहिकहरु मुखपत्रको रुपमा निस्कने समय ‘फेजआउट’ हुँदै गएको सूर्यको अनुभव छ ।
० ० ०
प्रजातन्त्रको पुनःप्राप्तिपछि अंशतः मिसन पत्रकारिता सकियो । व्यावसायिक पत्रकारिताको अभ्यास सुरु भयो । अहिले कर्पोरेट पत्रकारिता हाबी हँुदैछ । समाचार होस् या विचार कर्पोरेट पत्रकारिताले समाचारलाई व्यापारिक विषयवस्तु बनारहेको सूर्यको बुझाइ छ ।
अहिलेको पत्रकारिता आवाजविहीनहरुको आवाज बन्न नसकेको र बाहुबलीहरुकै आवाजका रुपमा आउने गरेकोमा सूर्यलाई चिन्ता लाग्छ । भन्छन्, “विभिन्न धन्दावालहरु मिडिया सञ्चालकका रुपमा आउने, सम्पादकीय स्वतन्त्रता सङ्कुचित हुने, सम्पादकीय स्वतन्त्रता कमजोर हुने, मिडियामा जनताको पहुँच नपुग्ने र सरकारी मिडिया प्रभावहीनजस्तै भएको अहिलेको अवस्था हो ।”
विश्वसनीयता र सामाजिक शिष्टाचारको परिपालना अहिले पत्रकारिताको मुख्य चुनौती रहेको उनी बताउँछन् । “राम्रा पत्रपत्रिका नभएका हैनन् । तर पानीमा विष घोल्न पानीबराबर नै विषको मात्रा चाहिँदैन । थोरै मिसाइदिए पुग्छ,” उनी भन्छन् ।
नकारात्मकता, फेक न्युज, तोडमरोड, बार्गेनिङ र पेड न्युज अहिलेको पत्रकारिताका चुनौती रहेको महसुस गर्दै यसको नियमन राज्यको कानुनले लोकतान्त्रिक तबरले गर्न सक्नुपर्ने उनी बताउँछन् । आग्रह, पूर्वाग्रह, सौदावाजी र बदलाभावको प्रवृत्ति सञ्चारमाध्यम तथा पत्रकारहरुमा रहनु नै संचारक्षेत्रको विश्वसनीयता कायम हुन नसक्नुको मुख्य कारण रहेको जिकिर गर्दै उनी भन्छन्, “हिजो प्रजातन्त्र, लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि लड्ने सञ्चार माध्यमले आज गणतन्त्रमा आइपुग्दा आफूलाई नयाँ परिवर्तनअनुरुप रुपान्तरण गर्न नसकेको महसुस हुन्छ । पंचायत वा शाही निरंकुशताविरुद्ध स्वतन्त्रताको लागि संघर्षमा हेलिएजस्तो भूमिका त संविधान सभाले जारी गरेको संविधानबमोजिम तीनवटै तहको निर्वाचन सम्पन्न सम्पन्न भएर मुलुक स्थिरता र समृद्धिको नयाँ युगमा अघि बढेको आजको स्थितिमा निर्वाह गर्न खोजिनु हुँदैन । आवधिक निर्वाचन, संविधानको सर्वोच्चता र विधिको शासनको सुनिश्चितता गर्न संचारमाध्यम व्यवसायिक तबरले केन्द्रित हुनुपर्दछ ।”
संविधानको दायराभित्र रहेर सञ्चारमाध्यमले नयाँ भूमिका निर्वाह गर्नुपर्नेमा राज्यसत्ताविरुद्धको लडाइँ लडेजस्तो देखिएको उनको ठम्याइ छ । उनी भन्छन्, “आफैले लडेर स्थापित गरेको राज्यसत्तालाई बलियो बनाउन मिडियाको भूमिका रचनात्मक आलोचनासहित तथ्यपरक सूचना र विश्लेषण सम्प्रेषण गर्न केन्द्रित हुनुपर्ने हो, तर अपेक्षित रुपमा त्यसो हुन सकिरहेको छैन । यसमा संवेदनशीलता, सुधार र परिवर्तनको खाँचो छ ।” - नरेश फुयाँल / बाह्रखरी