- स्वतन्त्रले लिएनन् उमेदवार फिर्ता
- तालमेलको नेकपाकै नेताद्धारा असन्तुष्टि
प्यूठान : ०७४ सालको स्थानीय तह निर्वाचनमा ऐरावती गाउँपालिका वडा नम्वर २ बरौलामा कडा चुनावी प्रतिस्पर्धा भयो । जिल्लाका अन्य गाउँ तथा नगरपालिकामा पार्टीहरुबीच चुनावी तालमेल भएपनि बरौलामा एकल प्रतिस्पर्धामै उमेदवार चुनावमा होमिए । राष्ट्रिय जनमोर्चा र साविक नेकपा माओवादी (केन्द्र) बीच प्रतिस्पर्धा भयो । ११ मतको अन्तरले राजमोका केशवराज आचार्यले चुनाव जिते । उनले ४ सय ३७ र माओवादी केन्द्रका भिमेस कुमार घर्तीमगरले ४ सय २६ मत लिएर पराजय भोगे ।
तेस्रो शक्तिमा नेपाली कांग्रेसले ३ सय ११ मत पायो । चौथोमा तत्कालिन नेकपा एमालेले १ सय ९९ मत लियो । नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) बीच पार्टी एकिकरणपछि बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अहिले पहिलो शक्तिको रुपमा उभिएको छ । गत स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने राजमोभन्दा नेकपा अहिले १ सय ८८ मतले अगाडी छ ।
राजमोबाट वडा नम्वर २ मा चुनाव जितेका वडा अध्यक्ष केशवराज आचार्य जिल्ला सम्वन्य समिति प्यूठानको प्रमुख बने । त्यसलगत्तै उक्त वडा अध्यक्ष विहिन भयो । आउँदो मंसीर १४ गते सोही वडामा अध्यक्ष पदका लागि उप निर्वाचन हुँदैछ ।
०७४ मा झिनो मतान्तरले पराजय भोगेका तत्कालिन माओवादी र हाल नेकपाका नेता भिमेस कुमार घर्तीमगरले यसपालीको उपनिर्वाचनमा गुमेको साख फर्काउन्न चाहान्थे, त्यो पनि आफ्नै चुनाव चिन्हबाट । तर, उनलाई नेकपा जिल्ला कमिटीले टिकट दिएन् । ऐरावती गाउँ कमिटीले उनको एकमात्र जिल्ला कमिटीमा सिफारिस गरेको थियो । तर, उमेदवारको राम्रोसँग अभ्यास गर्न नपाउँदै पार्टी केन्द्रिय कमिटीले सर्कुलर पठायो ,‘राजमोसँग चुनावी तालमेल गर्नु ।’
पार्टी केन्द्रिय कमिटीले गाउँ तहमा बास्तविक अवस्था नबुझी राजमोसँग चुनावी तालमेल गर्न भनेपछि यस क्षेत्रका नेता, कार्यकर्ता रुष्ट बनेका छन् । ‘राजमोका अध्यक्ष चित्र बहादुर केसीले सामाजिक सञ्जाल फेसबुकमा चुनावी तालमेलको विज्ञप्ती हालेपछि बल्ल थाहाँ पाए’,नेकपा ऐरावती गाउँ कमिटीका अध्यक्ष एवं ऐरावती गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले भने,‘चुनावी तालमेल गर्नुनै थियो भने एक पटक गाउँ तथा जिल्ला कमिटीको सल्लाह लिनुपर्दथ्यो । तर, त्यो गरिएन ।’ उनले राजमोको दवावका कारण पार्टी केन्द्रले तालमेल गरेको प्रतिक्रिया दिए । जनस्तरको धरातल नबुझेरै चुनावी तालमेल गर्दा गाउँमा समस्या हुने गरेको उनको भनाइ छ ।
भिमेसले लिएनन् उमेदवारी फिर्ता
पार्टीले प्रतिस्पर्धी राजमोसँगै चुनावी तालमेल गरेपछि घर्तीमगरले स्वतन्त्र उमेदवार दिएर चुनावी मैदानमा उत्रिएका छन् । मतदाताको घरदैलोमा भोट माग्न उनी व्यस्त छन् । शनिवार दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता गर्न पार्टीले गरेको अनुरोध उनले स्वीकारेनन् । ‘प्राविधिक कारणले पहिले चुनाव हारियो’,उनी भन्छन्,‘यसपाली जितेरै देखाउनु छ ।’ ०७४ सालको स्थानीय निर्वाचनमा जनतासँग बोलेका बाँचा यसपाली चुनाव जितेर पुरा गर्ने उनको अठोट छ । लामो समय पार्टीमा योगदान पु¥याएकाले आफू विजयी हुने उनी दावी गर्छन् ।
घर्तीमगरको उमेदवारी फिर्ता गराउन धेरै प्रयास गरेपनि नसकिएको नेकपा जिल्ला कमिटी सचिव कृष्ण अधिकारी (प्रकाश) ले जानकारी दिए । ‘चुनाव तालमेलका विषयमा प्रदेश र केन्द्रिय कमिटीलाइ पनि रिर्पोटिङ गरेका थियौँ’,उनले भने,‘तर, कतैँबाट हाम्रो माग सुनुवाई भएन् ।’ तर, नेकपा भित्रकै केही नेता, कार्यकर्ताहरुले राजमोसँग केन्द्रमा चुनावी तालमेल हुनुपूर्व जिल्लाको वस्तुतस्थितीका बारेमा जिल्ला कमिटीले जानकारी नगराउँदा असन्तुष्टि चुलिएको आरोप लगाउँछन् । राजमोसँग चुनावी तालमेल नगर्न भन्दै जिल्ला कमिटी नेतृत्वको टोली केन्द्रिय कमिटीमा पुगेपनि उनीहरुको माग सुनुवाइ भएन ।
नेकपाका नेताहरुको असन्तुष्टि :
नेकपाका नेता, कार्यकर्ताहरुले राजमोसँगको चुनावी तालमेलका विषयमा सामाजिक सञ्जालमै असन्तुष्टि पोखेका छन् । ऐरावती गाउँपालिका निवासी नेकपा नेता श्याम थापा लेख्छन्,:
‘फरक राजनीति ! धुर्त क्रियाकलाप, कमरेड मोहन विक्रमजी को पार्टी मसाल, मोर्चा जनमोर्चा ! बिगत र बर्तमान समयको मागलाइ नबुझ्ने, हतार किन ? लाभ केन्द्र र प्रदेश ! दाउ तल्लो तहको ! के हामी तपाईको पार्टी बचाउँन सति जानुपर्ने भो ? सन्दर्भ उप चुनाव मंसीर १४’
नेकपा मल्लरानी गाउँपालिका अध्यक्ष एवं पार्टीका जिल्ला कमिटी प्रचार प्रसार विभाग प्रमुख इमानसिँह भारतीले पूर्वी प्यूठान विद्रोहको पर्खाइमा रहेको भन्दै घुमाएर सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । राजमोसँगको तालमेलका विषयमा उनले लेखेका छन्,
‘बरौलाको सूर्य खोज्न केपी ओली र प्रचण्डको बासस्थान पुग्यो प्यूठानको नेकपा । कठै कस्तो दिन ! आफ्नै धन्सारको धान भिक्षा माग्नुपर्ने ।’ विगतमा भएका राजमोसँगको चुनावी तालमेलकै कारण विकास निर्माणमा प्यूठान पछाडी परेको उनको भनाई छ ।
नेकपा प्यूठानका अर्का नेता एवं स्कुल विभाग प्रमुख हुकुम बहादुर खड्काले देशभरको भन्दा प्यूठानको अवस्था फरक भएकाले पार्टी केन्द्रले यस विषयमा बुझ्न सुझाएका छन् । सामाजिक सञ्जालमा उनले लेखका छन् ः
‘दुर्गा पौडेललाइ उपसभामुख बनाउने कुरा उठ्यो । तर, प्यूठानको बस्तुगत अवस्था अलि जटिल छ । हामीलाइ जिन्दगीभर यिनीहरुको भुटो छ । अब यदि हामी प्यूठानको नेकपालाइ ख्याल गरिएन भने समस्या आउन सक्छ । राजमो छोडेर नेकपा नल्याउने । फेरी उसैलाइ सपोर्ट गर्नुपर्ने के यस्तो अचम्म !’
नेकपाकै विद्यार्थी नेता अनेरास्ववियु जिल्ला सचिव जाल बहादुर केसीले व्यंग्यात्मक शैलीमा चुनावी तालमेलको विरोध गरेका छन् । उनले राजमोसँग चुनावी तालमेल नगरी एकल प्रतिस्पर्धा गर्नुपर्ने बताउँछन् । सामाजिक सञ्जालमै उनी लेख्छन्,ः
‘खै कहिलेसम्म होला कुहिएको सिनो बोकेर हिड्नुपर्ने ?’
पार्टी केन्द्रको निर्णय आफूहरुले इमान्दारीपूर्वक कार्यान्वयन गरेपनि नेकपाका नेताहरुले अवेज्ञा गरेको राजमोका प्रदेश ५ समितिका अध्यक्ष बोम बहादुर खत्रीले प्रतिक्रिया दिएका छन् । ‘देशभर ४८ ठाउँमा उप निर्वाचन हुँदैछ’,उनले भने,‘बाग्लुङको प्रदेश सभा र ऐरावतीको २ नम्वर वडामा मात्र मागेर ४६ स्थानमा नेकपालाई साथ दिएका छौँ । तर, पनि विरोध भइरहेको छ ।’ दाङवाङमा स्वतन्त्र उमेदवारी दिएका अर्जुन थापाको उमेदवार फिर्ता गराएको बताउँदै उनले नगरेको भए कारवाही हुने समेत उल्लेख गरे ।
ऐरावती १, २ र प्यूठान नगरपालिकाको वडा नम्वर २ मा उप निर्वाचन हुँदैछ । ऐरावतीको १ मा राजमोले टिकट नदिएपछि स्वतन्त्र उमेदवार बनेका अर्जुन थापाले उमेदवारी फिर्ता लिएका छन् । उक्त वडामा नेकपाका भक्त बहादुर विक र नेपाली कांग्रेसका अमर रेश्मी मगर चुनावी मैदानमा छन् । १ नम्वरमा नेकपाका दोर्ण प्रसाद पाण्डे र कांग्रेसका भुपाल जिसी प्रतिस्पर्धामा छन् । १ नम्वर वडामा २ हजार पाँच सय ४५ र २ नम्वरमा २ हजार सात सय ८० गरी कुल पाँच हजार तीन सय २५ जना मतदाता रहेको निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी गराए । प्यूठान नगरपालिका २ मा नेकपाका मूक्ती प्रसाद पोखरेल र नेपाली कांग्रेसका मोहनसिँह विष्टबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । यस वडा सहित ऐरावतीको १ मा राजमोले नेकपालाई भोट हाल्नेछ । उमेदवारले चुनाव चिन्ह आइतवार पाउनेछन् ।