- दुवै आकांक्षी आफ्नै अडानमा,
बुटवल : नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको भदौ १६ र १७ गते बुटवलमा हुने प्रथम अधिवेशनको नयाँ नेतृत्व लिनका लागि नेताहरु आन्तरिक दौडधुपमा लागेका छन् । वर्तमान प्रदेश पार्टी कमिटी अध्यक्ष पाल्पाका राधाकृष्ण कँडेल र केन्द्रिय सदस्य प्यूठानका हरिप्रसाद रिजालबीच चुनावी प्रतिस्पर्धा हुने लगभग निश्च्ति जस्तै देखिन्छ ।
अध्यक्षका दुवै आकांक्षीहरु आ–आफ्नो अडानबाट पछि हटेका छैनन् । केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिने दुवै नेताहरु भूगोलमा दुई खेमामा विभाजित भएको देखिन्छ । कँडेल पार्टी केन्द्रिय कमिटी उपाध्यक्ष विष्णु पौडेलको निकट मानिन्छन् भने रिजाल पार्टी महासचिव शंकर पोखरेल निकटका हुन् । भौगोलिक हिसावले पनि दुवै नेता साविक राप्ती र लुम्विनी क्षेत्रका हुन् ।
प्रदेशमा गुटउपगुट नभएको नेताहरु प्रतिक्रिया दिँदै आएपनि आन्तरिक रुपमा यो झांगिएको छ । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य विष्णु पौडेल र पार्टीका महासचिव दाङका शंकर पोखरेल निकटका भूगोलका नेताहरु दुई खेमामा विभाजित भएर चुनावी तयारी थालेको देखिएको छ ।
प्रदेश कमिटीको अध्यक्ष बन्नका लागि प्यूठानका हरिप्रसाद रिजाल बहालवाला केन्द्रिय सदस्यको पद त्यागेरै निर्वाचनमा होमिने तयारी गरेका छन् । उनी प्यूठानबाट निर्वाचनका लागि प्रतिनिधी समेत चुनिएका छन् । ‘म व्याक हुने सयमा जिरो प्रतिशत पनि संभावना छैन्’,रिजालले भने,‘सकभर सर्वसम्मत होस् भन्ने नै हो यदि नभए निर्वाचन लड्छु ।’
उनले केन्द्रिय सदस्यमा भन्दा प्रदेश कमिटी अध्यक्ष भएर जनताको नजिक पुग्न सहज हुने प्रतिक्रिया दिएका छन् । पार्टीलाई वैचारिक रुपले एकतावद्ध बनाई देशकै नमुना प्रदेश कमिटीको रुपमा विकास गर्ने उनको अठोट छ । रिजाल मुख्यमन्त्री शंकर पोखरेलको कार्यकालमा पूर्व मन्त्री समेत हुन् ।
गाउँ संगठन कमिटीदेखि जिल्लासम्मको नेतृत्व लिएर कुशल जिम्मेवारी पुरा गरेको दावीसहित आफूले अहिले प्रदेशको नेतृत्व लिन चाहेको उनको प्रतिक्रिया छ । ‘एउटा कर्मचारी खरदारदेखि सचिव, मुख्य सचिवसम्म आफूलाई अपग्रेट गर्न चाहान्छ’,रिजालले भने,‘मैले राजनीतिमा पनि क्रमवद्ध रुपमा नेतृत्व लिन चाहेको हो ।’
रिजाल ०३७ सालदेखि पार्टी कमिटीमा संगठित छन् । उनले तत्कालिन गाउँकमिटी, इलाका, अखिल र जिल्ला कमिटीको अध्यक्षको नेतृत्व गरिसकेका छन् । केन्द्रिय सदस्यमा निर्वाचित भएपनि त्यसलाई छाडेर प्रदेशको नेतृत्व लिने दौडमा रिजाल लागेका हुन् ।
‘पार्टीको आन्तरिक विरोधलाई समाधान गर्ने, अराजकतालाई अन्त्य गर्ने र अनुशासित रुपमा संगठित गर्ने योजना छ’, ५८ वर्षिय रिजालले भने,‘प्रदेशमा एमालेलाई घरघरमा पु¥याएर अवका सवै निर्वाचनमा पहिलो बनाउने लक्ष्य छ ।’
चुनौतीको घडीमा तदर्थ कमिटीहुँदै प्रदेशको नेतृत्व गरेको र एकपटक अधिवेशनबाट निर्वाचित भएर पूनः नेतृत्व गर्ने संकल्प रहेको अर्का आंकाक्षी राधाकृष्ण कँडेलले प्रतिक्रिया दिए । उनी लगातार २० वर्ष पार्टी जीवनमा क्रियाशिल छन् । जिल्ला, साविक अंचल हुँदै अहिले उनी प्रदेशको नेतृत्वमा छन् । पाल्पा निवासी कँडेलको बसोवास अहिले बुटवलमा छ ।
दुई÷दुई पटकका स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पु¥याएको र देशकै उत्कृष्ट प्रदेश कमिटीको रुपमा स्थापित गरेको अनुभवले पनि आफू पूनः निर्वाचित हुनुपर्ने उनको दावी छ । अहिले लुम्विनीका २७ स्थानीय तहमा एमालेको नेतृत्व, ३९ वटामा उपाध्यक्ष निर्वाचित छन् । ११ जिल्लामा प्रतिनिधीसभा सदस्य, २ जिल्लामा पार्टीको समर्थनमा सांसद् र १८ जना सांसद् प्रदेशमा निर्वाचित भएका छन् । लुम्विनी प्रदेश मतका हिसावले पनि अरुपार्टी भन्दा बोलियो बनाएको उनले बताए ।
‘कामको हिसावले पनि म दोहोरिनुपर्छ भन्ने हो’,कँडेलले भने,‘साथीहरु बुझ्ने हुनुहुन्छ, अवश्य साथ दिनुहुनेछ ।’ कँडेलले पनि पाल्पाबाट विद्यार्थी जीवनदेखि राजनीति थालेका हुन् । विद्यार्थीको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष, अध्यक्ष, पार्टीको इलाका सेक्रेटरी, जिल्ला कमिटी सदस्य हुँदै दुई÷दुई पटक पार्टीको नेतृत्व गरेको उनमा अनुभव छ । उनी पूर्व राष्ट्रिय सभा सदस्य पनि हुन् ।
आकांक्षी जो भएपनि ओली निटककै नेतृत्व हुनेभएपछि यस क्षेत्रका नेता रुपन्देहीका भूमिश्वर ढकाल, अर्घाखाँचीका चेतनारायण आचार्य, कपिलवस्तुका बलराम अधिकारी मौन थिए । तर, पुरानै नेतृत्व दोहोरिने संकेत पाएपछि उनीहरुले रिजाललाई अघि सारेर आफूहरु पछाडी हटेको एमाले निटक नेताहरु बताउँछन् । तीनै जना नेता महासचिव शंकर पोखरेल निकटका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले कँडेललाई प्रदेश कमिटी अध्यक्ष बनाएकै कारण रिजाललाई केन्द्रिय सदस्यमा अघि सारेको बुझिएको छ । अधिवेशनका लागि प्रदेशका १२ वटै जिल्लाबा १ हजार ४ जना प्रतिनिधी चयन भएका छन् ।