बुटवल : नेपाली र नेपाली क्रिकेट प्रेमीहरुको सपना बुधवार (आज) साकार हुँदै छ । नेपाली राष्ट्रिय टीमले इतिहासमै पहिलो पटक क्रिकेटको एउटा महाशक्ति राष्ट्रसँग भिड्दैछ । यो क्षणका लागि नेपाली क्रिकेटप्रेमीले लामो समयदेखि सपना देखेका थिए । पाकिस्तानले उसले एक दिवसीय विश्वकप, टी–२० विश्वकप र च्याम्पियन्स ट्रफी जस्ता प्रतियोगिताहरु जितिसकेको छ ।
भर्खरैमात्र पाकिस्तान एक दिवसीय क्रिकेटको विश्व वरियतामा एक नम्बरमा उक्लियो । अर्थात्, नेपाल विश्वको नम्बर एक क्रिकेट टीमविरुद्ध भिड्दैछ । क्रिकेट सबैभन्दा अनिश्चितताको खेल पनि हो । त्यसैले गर्दा जति बलियो राष्ट्र भयपनि नतिजा उलटिन सक्छ । पाकिस्तानले कहिले आफूभन्दा बलियो टीमलाई सहज रुपमा हराउँछ, भने कहिले निकै कमजोर टीमसँग पनि लज्जास्पद हार व्यहोर्छ । यदि आजको म्याचमा पाकिस्तानको कमजोर रुप प्रकट भयो भने नतिजा केही भन्न सकिन्न ।
नेपाली क्रिकेट भने यतिबेला अहिलेसम्मकै उचाइमा छ । घरेलु मैदानमा एसीसी प्रिमियर कपमा विजेता हुँदै नेपाले एसिया कपमा स्थान बनाएको हो । यो स्थान आफैंले संघर्ष गरेर बनाएको हो । यसको अर्थ नेपाल आजको खेलमा नतिजा आफ्नो पक्षमा निकाल्न उच्च मनोबलका साथ प्रस्तुत छ ।
नेपाली टीमसँग यतिबेला उत्साह छ, आत्मविश्वास छ, स्थिरता पनि छ । पाकिस्तानको प्रमुख हतियार भनेको फास्ट बलिङ हो । साइन साह अफ्रिदी, ह्यारिस रफ र नसिम साहको ‘तिगडी’ ले जतिसुकै बलियो ब्याटिङ पंक्तिलाई पनि धराशायी बनाउन सक्ने क्षमता राख्छन् । यद्यपि, नेपालका लागि सन्तोषको पक्ष चाहिँ मुल्तानको पिचले फास्ट बलरलाई त्यति सहायता गर्दैन ।
फास्ट बलिङको तुलनामा पाकिस्तानको स्पिन अलिक फितलो छ । सदाब खान मुख्य स्पिनर हुन् भने इफ्तिकार अहमदले पार्टटाइम स्पिन गर्न सक्छन् । नेपालको चाहिँ मुख्य शक्ति नै स्पिन हो । सन्दीप लामिछाने र ललित राजवंशीको बललाई खुलेर खेल्न त्यति सजिलो हुने छैन पाकिस्तानी ब्याट्सम्यानका लागि । साथमा दीपेन्द्रसिंह ऐरीले पनि कसिलो १० ओभर फ्याक्न सक्छन् ।
नेपालले पाकिस्तानविरुद्ध आफ्नो बलिङ आक्रमण स्पिन मै केन्द्रित गर्नुपर्ने देखिन् । ब्याटिङको कुरा गर्दा पाकिस्तानसँग केही विश्वस्तरीय ब्याट्सम्यान छन् । लामो समयदेखि विश्व वरियताको एक नम्बरमा रहेका बाबर आजम पाकिस्तानी ब्याटिङका मुख्य खम्बा हुन् । इमाम उल हक र फकार जमानको ओपनिङ जोडी पनि निकै बलियो छ । फकार जमान क्रिजमा सेट भए भने
खतरनाक रुप लिन सक्छन् । इमाम पनि निकै प्रतिभाशाली ब्याट्सम्यान हुन्, जो विश्व वरियताको तेस्रो नम्बरमा छन् । पाकिस्तानको मध्यक्रममा मोहम्मद रिजावन, आघा सलमान र इफ्तिकार अहमदले सम्हाल्नेछन् । सातौं नम्बरमा खेल्ने सदाव खान पनि आक्रामक ब्याट्सम्यान हुन् । उनले धेरै वटा म्याचमा पाकिस्तानको रेस्क्यु गरेका छन् । नेपालको ब्याटिङ पंक्ति स्थिर नै छ । धेरै चलाउनुपर्ने केही छैन । यद्यपि, तेस्रो नम्बरमा कसलाई खेलाउने भन्नेमा अलिकति संशय हुनसक्छ ।
अवस्था हेरेर भीम सार्की वा कुशल मल्लमध्ये एक जनाले तेस्रो नम्बरमा खेल्न सक्छन् । नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेख नै हुन् । कुशल राम्रो फर्ममा छन् भने आसिफ केही संघर्ष गरिरहेका छन् । उनीहरुले राम्रो सुरुवात दिएको खण्डमा तल्लो क्रमले खुलेर खेल्नसक्छ ।
नेपालको मिडल अर्डर एसोसिएट्सको स्तरमा सशक्त छ । रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा जस्ता फरक फरक शैलीमा खेल्ने ब्याट्सम्यानहरु नेपालसँग छन् । पाकिस्तानसँगको खेलमा नेपालले दीपेन्द्रबाट बढी आश राखेको छ । उनी अनुभवी हुनुका साथै हालै ग्लोबल टी–२० मा केही विश्वस्तरीय बलरहरुको सामना गरेर फर्किएका हुन् ।
नेपालको ब्याटिङ कुनै दुईतीन व्याट्सम्यानमा निर्भर छैन । फरक फरक म्याचमा फरक फरक खेलाडीले आफूलाई प्रुफ गर्दै आएका छन् । आजको म्याच भने सबै खेलाडीका लागि ठूलो अवसर हो, आफ्नो क्षमता देखाउने । यदि कुनै ब्याट्सम्यानले उत्कृष्ट इनिङ खेल्न सफल भएमा उनीहरु विश्व क्रिकेटकै नजरमा पर्न सक्छन् । त्यसैले गर्दा नेपालले चमात्कारिक नतिजा निकाल्न सक्ने आँकलन गरिएको छ ।