बुटवल : नेपाल पहिलोपटक सहभागी हुन् लागेको एसियाकप क्रिकेटमा विश्वविजेता टिमहरुसँग भिड्दै छ । । यही बुधवार पाकिस्तानको शहर मुल्तानमा हुने उद्घाटन खेलमा नेपाल र पाकिस्तानका राष्ट्रिय टिम पहिलोपटक एकदिवशिय खेलमा भिड्न लागेका हुन् ।
क्रिकेटमा नेपालभन्दा निकै बलियो टिम हो पाकिस्तान । पाकिस्तान एक पटक विश्व बिजेता र दुई पटक एसियाकप बिजेता टिम समेत हो । तर, नेपालले भने पहिलोपटक एसिया कपमा सहभागिता जनाउँदै छ । हालै मात्र पाकिस्तान एक दिवशिय विश्व वरियताको पहिलो स्थानमा उक्लिएको छ, यसले एसिया कप अघि टिमको मनोबल बढाएको छ ।
भारत र पाकिस्तानजस्ता क्रिकेटका महाशक्तिसँग भिड्न पाउँदा नेपाली खेलाडी र नेपालीहरु उत्साहित छन् । पछिल्लो समय एक दिवशियमा उत्कृष्ट प्रदर्शन गर्दै आएकाले पनि नेपाली खेलाडीहरुले चमत्कार गर्न सक्छन् भन्ने आशा समर्थकहरुले गरेका छन् ।
नेपाल र पाकिस्तानबीचको म्याचमा मुल्तान क्रिकेट स्टेडियममा हुँदैछ । यहाँको पिचमा ब्याट्सम्यानहरुले भरपुर रन बटुल्ने गरेका छन् । यो पिचमा प्रायः म्याचहरु ‘हाइस्कोरिङ हुन्छन् । टस जित्ने टिमले प्रायः ब्याटिङ रोज्छन्, ताकि ठूलो टार्गेट दिएर विपक्षी टिमलाई दवावमा राख्न सकियोस् । नेपाली टिमलाई बलिङ पिचभन्दा ब्याटिङ पिच नै बढी अनूकुल हुने गर्छन् ।
गति र उछाल भएको पिचमा नेपालका ब्याट्सम्यानहरु संघर्ष गर्ने गरेका छन् । त्रिवि क्रिकेट मैदानमा नेपालले राम्रो स्कोरिङ गर्ने गरेको छ र मुल्तानमा पनि उही शैलीमा खेल्नसके नेपालले पाकिस्तानलाई चुनौती दिन सक्ने छ ।
पिचको ड्राइनेसले गर्दा मुल्तानको पिच बलरका लागि भने प्रतिकुल मानिन्छ । फास्ट बलरहरुले पिचबाट खासै सहयोग पाउँदैनन् । राम्रो ब्याट्सम्यानलाई आउट गर्न बलरले अतिरिक्त प्रयास गर्नुपर्छ । विश्वस्तरीय फास्ट बलरहरु पनि मुल्तानको पिचमा पिटिने गरेका छन् । स्पिनरलाई भने यहाँको पिचले केही सहयोग गर्छ ।
यदि स्पिनरले राम्रो लाइन र लेन्थ समात्न सके भने ब्याट्सम्यानहरुलाई समस्यामा पार्न सक्छन् । नेपालको फास्ट बलिङ कमजोर र स्पिन बलिङ बलियो छ । पाकिस्तानलाई बाँधेर दबाबमा राख्ने हो भने नेपालले बढीभन्दा बढी स्पिन बलिङ नै गर्नुपर्ने हुन्छ । नेपालको दोस्रो खेल दुईपटक विश्व बिजेता र सात पटक एसियाकप बिजेता भारतसंग भदौ १८ मा श्रीलंकामा भिड्दै छ । पहिलो खेल स्थानीय समय अनुसार दिउँसो तीन बजे खेल हुने छ । खेलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्टसले गर्ने छ ।