प्यूठान : प्यूठानको माण्डवी गाउँपालिकाले ढुङ्गा, गिट्टी बालुवा उत्खननको ठेक्का सम्झौतामा उल्लेखै नभएको रकम राजश्वको रुपमा दाखिला गर्न भनेपछि विवाद शुरु भएको छ । योजना संचालन गर्नका लागि गाउँपालिका र सालिना सप्लायर्स, सालिना निर्माण सेवा उद्योग प्यूठान नगरपालिका–७ बीच मूल्य अभिवृद्धि कर (भ्याट) सहित तीस लाख दुई हजार रुपैयाँ रकम भूक्तानी दिने÷लिने सम्झौता भएको छ ।
तर, कार्यसम्पादन प्रक्रियाका क्रममा गाउँपालिकाले सम्झौता गरिएको रकम भ्याट बाहेक भएको र १३ प्रतिशतले हुने भ्याट रकम तीन लाख ९० हजार २ सय ६० रुपैयाँ बैंकमा राजश्व दाखिला गर्न भनेपछि निर्माण व्यवसायी दंग परेका छन् ।
‘सम्झौतामै नभएको राजश्व हामीले कसरी बैंकमा दाखिला गर्ने ?’,उद्योगका प्रतिनिधी कृष्ण बस्यालले प्रश्न गर्दै भने,‘नियम अनुसार सम्झौता गरेरै काम गरेका छौँ । ठेक्का आव्हान गरेको चौथौँ पटकमा हामीले ठेक्का पाएका छौँ । सम्झौता विपरित हामीले रकम जम्मा गर्दैनौ ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले भ्याट रकम बैंक दाखिला गर्न भनिरहेको उनले प्रतिक्रिया दिए ।
गाउँपालिकाले झिमरुक, माडी र अरंगखोला नदिमा ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्नका लागि ठेक्का आव्हान गरेको हो । गाउँपालिकाले आर्थिक वर्ष ०७९÷०८० का लागि २०७९ कार्तिक १७ गते मूल्य अभिवृद्धि कर सहित चौथौपटकका लागि ३० लाख १ हजार ३ सय ८७ रूपैंया न्यूनतम मूल्य राखेर ठेक्का आह्वान गरेको छ ।
चार÷चार पटक पत्रिकामा सूचना प्रकाशन र अन्तिममा सम्झौता गर्दा समेत भ्याट सहित वा बाहेक बाहेक भन्ने विषयमा दोधारमा हुनुले गाउँपालिका गैर जिम्मेवार भएका प्रष्ट हुने निर्माण व्यवसायीले प्रतिक्रिया दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सूचना र सम्झौता पत्रमा मूल्य अभिवृद्धि कर बाहेक हुनुपर्नेमा कर सहित हुँदा बुझाउन समस्या भइरहेको प्रतिक्रिया दिएका छन् । ‘छपाईमा बिग्रदा समस्या भएको हो’,पाण्डेले भने, ‘१३ प्रतिशतले हुन आउने भ्याट रकम कर कार्यालयमा दाखिला गरी भौचर दिन भनेका छौं ।’
संचारमाध्यममा खवर आएपछि गाउँपालिकाले दिएको जवाफ ।