बुटवल : घरको जेठो छोरा । आमाबुवा र भाई बहिनीको पालनपोषण गर्ने उनकै काँधमा थियो । सँगैका साथीसंगी बुटवल, काठमाण्डौँ लगायत शहरमा माथिल्लो कक्षा पढ्नका लागि गाउँबाट शहर पसे । तर, विडम्बना झिमरुक गाउँपालिका–४ हुराना प्यूठानका कमल रोका पढ्ने उमेरमा धन कमाउन मुग्लान पसे ।
एसएलसी पास नहुँदै २१ वर्षको कलिलै उमेरमा कमल घरको जिम्मेवारी काँधमा बोकेर मलेशिया गए । त्यहाँ तीन वर्ष विताए । सोँचे अनुसार कमाई नभएपछि घर फर्किए । घरमा बसेर जिविकोपार्जन चल्ने कुरै भएन् । भाईहरु साना छन् । बुवाआमाको बुढ्यौली लागेको छ ।
उनी फेरी विदेशकै यात्रा तय गर्ने निधो गरे र घरखर्च चलाउनकै लागि कतार हानिए । गएको तीन÷चार वर्ष काम ठिकै चलेको थियो । तर, पाँच वर्ष लाग्दा कम्पनी बन्द भयो । रोजगार गुम्यो । परिवारको पालनपोषण र जीवनमा केही गरौँला भनेर सपना बोकेर विदेशीभूमीमा गएका रोका रोजगार गुमेपछि विक्षिप्त बने ।
उनले रोजगार मात्र गुमाएनन् घरमा विरामी बुवालाई पनि सदाका लागि गुमाए । श्वासप्रश्वास रोगले थलिएका बुवा मोहन बहादुर रोकाको ६४ वर्षको उमेरमा निधन भयो । घरको आर्थिक अवस्था कमजोर भएकै कारण मुग्लान पसेका ३१ वर्षिय कमलले अन्तिम क्षणमा जन्मदिने बुवालाई समेत भेट्न पाएनन् ।
उनलाई नेपाल ल्याउनै करिव १४÷१५ लाख रुपैयाँ खर्च लाग्ने भएको छ । नेपाल लिनकै लागि उनको परिवारले हारगुहार गरेका छन् ।
पीडाको चपेटामा परेका कमल अहिले आफैँ पीडामा छन् । झण्डै ६ महिनादेखि उनी अहिले मृत्युसँग संघर्ष गरिरहेका छन् । ब्रेन ट्यूमर रोगले थलिएपछि उनको सवै सपना चकनाचुर बनेका छन् ।
जसोतसो ब्रेन ट्यूमरको त सफल शल्यक्रिया भयो । तर, फेरी मेरुदण्डमा असर गरेछ । अहिले उनको कम्मरदेखि तलको कुनै पनि भाग चल्दैन् । खाउँखाउँ र लाउँलाउँको उमेरमा प्राणघातक रोगले च्यापेपछि उनको उपचारमा लाखाँै रकम लाग्ने भएको छ ।
यति ठूलो रकम खर्चेर घरपरिवारबाट उपचार गर्ने सपनाजस्तै छ । कतारको सरकारी अस्पतालमा उपचाररत उनी अहिले बेहोस छन् । परिवारका अनुसार सोमवार उनलाई कोरोना समेत पोजेटिभ देखिएको छ ।
हस्पिटलको शैयाँबाट कमलले परिवारको साथ खोजेका छन् । जतिबेला पनि घर जान्छु, जान्छु मात्र भनिरहेका छन् । नेपालमा लिएर उपचार गर्नका लागि लाखौँ रुपमा जोहो गर्ने त अलि परको कुरा हो । तर, अहिले उनलाई नेपाल ल्याउनै करिव १४÷१५ लाख रुपैयाँ खर्च लाग्ने भएको छ । नेपाल लिनकै लागि उनको परिवारले हारगुहार गरेका छन् ।
‘दाई हाम्रो परिवारको पिल्लर हुनुहुन्थ्यो’,भाई दिनेश रोकाले भने,‘उहाँलाई नसोँेचेको रोग लाग्यो । हाम्रो आर्थिक अवस्थाले उपचार गर्नु सपनाजस्तै लाग्छ ।’ घरमा भएकी बृद्ध आमा अरुणा कुमारी, श्रीमती तुलसा र आठ वर्षकी छोरी स्मृती रोकाको आँखामा दिनहुँ आँशु बगिरहन्छन् । उनीहरुलाई दिनमा भोक र रातमा निद्रा छैन् ।
कमलको उपचारका लागि केही सामाजिक अभियन्ताहरुले सहयोग संकलन अभियान चलाएका छन् । केही सामाजिक अभियन्ताहरुले कमलको बचाउँ अभियान शुरु गरेका छन् । तर, उनलाई नेपाल ल्याउने र उपचार गर्नका लागि लाखौँ रुपैयाँ लाग्ने भएको छ ।
‘उहाँको परिवारभित्रकै सदस्यको बैंक खाता सार्वजनिक गरेर सहयोग गरिदिन दयालु मन भएकाहरुलाई आग्रह गरिरहेका छौँ’,झिमरुक गाउँपालिका ५ ओखरकोट प्यूठान, हाल बुटवलका यूवा व्यवसायी तथा सामाजिक अभियन्ता प्रदिप जिसीले भने,‘नेपाल ल्याउनका लागि एनआरएन कतारका साथीहरुलाई सहयोग गरिदिन् भनेका छौँ । उहाँहरु प्रयासरत हुनुहुन्छ । यहाँ आएपछिको उपचारमा सवैले सहयोग गरिदिन आग्रह गर्छु ।’
- (अन्नपूर्ण पोष्ट डटकमबाट)