कुश्मा (पर्वत) : अनन्तश्रीविभूषित मुक्तिनाथपीठाधिश्वर स्वामी कमल नयनाचार्य श्रीजी महाराज (श्रीमुक्तिनाथबाबा) को समपुपस्थितिमा पर्वतको सदरमुकाम कुश्मा बजारमा साउन २७ गते एकादशीका दिन वृहत धार्मिक प्रवचन तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा प्रमुख बाचक श्रीमुक्तिनाथबाबा र सहायक बाचकमा अन्य प्रवुद्ध सन्त माहात्माहरू रहने कार्यक्रम तय भएको संयोजक जिल्ला समन्वय समितिको कार्यालय, पर्वतले जनाएको छ । स्वामी श्रीमुक्तिनाथ बाबाको सत्संकल्पबाट जलसम्पदाको संरक्षण, वैदिक सनातन धर्म संस्कृतिको संरक्षण, संस्कृत भाषाको उन्नयन, श्रीदेवदेश नेपालको समृद्धि प्राप्तिका लागि आध्यात्मिक कार्यक्रमको आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
स्वामी महाराज श्रीमुक्तिनाथ बाबाको सत्संकल्पमा नै श्रीविश्वशान्ति गण्डकी महासभाको आह्वान भएको सन्दर्भमा सोही कार्यक्रमको प्रचार प्रसार गर्न र २०८० फागुन ९ गतेदेखि २३ गतेसम्म सुप्रसिद्ध धार्मिक स्थल बागलुङको पञ्चकोटमा आयोजना हुने ऐतिहासिक अनन्तश्री ब्रह्माण्डीय महायज्ञको जानकारीको लागि समेत कार्यक्रमको आयोजना गरिएको कार्यक्रम आयोजक श्रीमुक्तिनाथबाबाको तर्फबाट खटिएका साधु सन्तहरूले बताएका छन् । कार्यक्रम आध्यात्मिक तथा नैतिक शिक्षा प्रवद्र्धन गर्ने उद्देश्य अनुसार हुनेछ ।
नैतिक आचरणको प्रवद्र्धन तथा योग, ध्यानको महत्वको विषयमा समेत आत्मानुभूतिपूर्ण दिशानिर्देश कार्यक्रमबाट हुने जिल्लाबासीले आशा गरेका छन् ।
सदसमुकाममा जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका पदाधिकारीहरू, राष्ट्रसेवक कर्मचारीको जिल्लास्तरीय नेतृत्व, विभिन्न धार्मिक तथा आध्यात्मिक संघसंस्थाका प्रतिनिधिहरूको बैठक बसी कार्यक्रमको बारेमा बृहत छलफल समेत गरिएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसदहरू, पूर्व सांसदहरू, जिल्ला समन्वय समितिका पदाधिकारीहरू, पर्वतका सवै स्थानीय तहका पदाधिकारीहरू सहित बागलुङ नगरपालिकाका पदाधिकारीहरू, सरकारी तथा गैरसरकारी संघसंस्थाहरू, शिक्षक प्राध्यापक, मठमन्दिरसंग सम्बद्ध व्यक्तिहरू, जिल्लास्थित सबै राष्ट्रसेवक कर्मचारी, स्वयमसेवक संघसंस्था लगायत जिल्लावासी आम नागरिकहरुलाई निमन्त्रणा गरिएको जिल्ला समन्वय अधिकारी नेत्रप्रसाद पौडेलले जानकारी दिए ।
प्रवचन कार्यक्रम कालीगण्डकी नदीको महीमा तथा साक्षात् भगवानका प्रतिरुप शालग्राम भगवानको संरक्षण र सम्वद्र्धनको विषयमा विशेष प्रवचन हुने समेत पौडेलले जानकारी दिए । नैतिक आचरणको प्रवद्र्धन तथा योग, ध्यानको महत्वको विषयमा समेत आत्मानुभूतिपूर्ण दिशानिर्देश कार्यक्रमबाट हुने जिल्लाबासीले आशा गरेका छन् । सदरमुकाम कुश्मा वजारस्थित युनीभर्सल पार्टी प्यालेसमा विहान ११ बजेदेखि कार्यक्रम शुरु हुने आयोजकले जनाएको छ ।