प्यूठान : गौमुखी गाउँपालिका–६ लिबाङ प्यूठानका यूवा कृषि उद्यमी पदम बहादुर केसीको कृषि क्रान्ति अहिले सवैका लागि प्रेरणाको स्रोत बनिरहेको छ । कृषिमा भरपूर्ण रमाएका केसीले मेहनतसँगै भरपर्दो स्रोतको माध्यम बनाएका छन् ।
२८ वर्षीय उनी आठ वर्ष अघिबाट कृषि पेशामा सक्रिय छन् । चालु आर्थिक वर्षमै उनले टिमुर र घाँसका बिरुवा बेचेर करिव १५ लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् । ‘महिला उद्यमी फलफूल जडिबुटि तथा डालेघाँस नर्सरी फर्म’ स्थापना गरि आठ रोपनी क्षेत्रफल जग्गामा कृषि व्यवसाय गर्दै आएका छन् । उनले व्यवसायिक रूपमा विभिन्न प्रजातिका विरुवाहरु विक्री गर्छन् ।
यो वर्ष केसीले टिमुरका विरुवाहरू, घाँस तर्फ किम्बु, बडहर, टाकी, राईखन्यु, लगायत भुँईघाँस, नेपियर लगायत विभिन्न प्रजातिका १ लाख बढी बिरुवाहरू बिक्री गरेको प्रतिक्रिया दिए ।
केसीले एकैदिनमा १४ हजार टिमुरका बिरुवा गौमुखी गाउँपालिकाको कार्यालयलाई बिक्री गरेका छन् । ‘प्रति बिरुवा ५० रुपैयाँका दरले बिक्री गरेको छु’,केसीले भने, ‘सात लाख रुपैयाँ बराबरको बिरुवा पालिकाले खरिद गरिदियो ।’ नर्सरीबाट उत्पादित बिरुवा बेच्न कुनै समस्या नभएको उनी सुनाउँछन् । कृषिमा क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था, कृषि कार्यालयसंग केसीले समन्वय तथा सहकार्य गर्दै आएको बताए ।
यसै वर्ष उनले करिब ७ लाख रुपैयाँ आम्दानी गर्न सकेको उनले जानकारी दिए ।
केसीलाई उनकी पत्नी मिठा केसीले सघाउँदै आएकी छिन् । अहिले नर्सरीमा टिमुर, कफी, कागती, सुन्तला, अम्बा, घाँस तर्फ किम्बु, टाकि, बडहर, राईखन्यु र भुँई घाँसका विभिन्न प्रजातिहरूको करिब दुई लाख बढि बिरुवा उत्पादन गरेर बेच्ने लक्ष्य लिएका छन् ।
‘चालु आर्थिक र आउने वर्ष करिब ३० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य छ’ केसीले भने, ‘करिब १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छु ।’ विरुवा र घाँसमा मात्रै निर्भर नभएको बताउँदै उनले पशुपालन तर्फ बोयर जातिका बोका समेत पालन गरि ब्याडका रूपमा बिक्री गर्दै आएको सुनाए ।