- चिसोमा दिन कटाउनै सकस
- झुपडीमा ६ जनाको परिवार
प्यूठान : सार्वजनिक जग्गामा टिनले छाएको झुपडी । त्रिपालले बेरिएको छ । भित्र पस्ता यत्रतत्र छरिएका भाँडाकुडा । फाँटेका कपडा । न गुन्द्री नत चकटी । नजिकै झिमरुक नदी सुसाइरहेको । विहान बेलुका सहनै नसकिने ठण्डी । यही चिसोको प्रवाह नगरी कष्टकर जीवन कटाइरहेको छ एउटा सुकुम्बासी परिवार ।
सासुआमा, श्रीमान, श्रीमती, दुइ छोरा र एक छोरी सहित ६ जनाको परिवार यही झुपडीमा बस्न थालेको बर्षौ भयो । चिसो दिनानुदिन बढ्दै छ । तर, यो परिवारलाइ न ओड्ने कपडा छ । नत, ओछ्याउने । मिठो मसिनो खानेकुरा त धेरै टाढाको कुरा भइसक्यो । श्रीमतीको भरमा ६ जनाको परिवार धानिएका छन् । विहान, बेलुका खाना जुटाउन यस परिवारलाइ सकस छ । कैयन दिन त भोकै विते ।
हजुरबुवाले गाउँमा साहुँबाट लिएको ऋण तिर्न नसक्दा भएजतिको सम्पत्ति साहुँले लगेपछि सम्पति विहिन बनेका हुन् ऐरावती गाउँपालिका २ बरौला हरियाटारी प्यूठानका राउत परिवार । खुम बहादुर भनेर चिनिने ५० वर्षिय रविन्द्र राउतले आमा बुवासँगै गाउँ छाडेको वर्षौ वितिसक्यो । उनीहरुको घरबार जे भनेपनि सडककै बास हो । ऐरावती गाउँपालिका निवासी राउत परिवार लामोसमयदेखि प्यूठान नगरपालिका क्षेत्रको सार्वजनिक जग्गामा त्रिपालमूनी बस्दै गएपछि २०७६ जेठ २ गते नेपाली नागरीकता नगरपालिकाकै ठेगानाबाट बनेको छ । उनी प्यूठान नगरपालिका ३ निवासी भएका छन् ।
सुकुम्बासी जीवन विताइरहेका राउत परिवार दाखाक्वाडी, विजयनगर, विजुवार हुँदै हाल झिमरुक खोला नजिक खेदकुद मैदान छेउँमा छाप्रो बनाएर बसेका छन् । सात वर्षकी छोरी, ११ र ६ वर्षका दुइ छोरा छन् । सासुआमा समेत विचल्लीमा परेपछि हाल उनीसँगै झुपडीमा बस्छिन् । श्रीमती तिला राउत विहान उज्यालो नहुँदै काममा जान्छिन्, रातपरेपछि झुपडीमा फर्कन्छिन् । जसोतसो उनले संघर्ष गरेर परिवारलाइ विहान बेलुकाको खाना जुटाउँछिन् । एकदिन उनी काम गर्न नगएमा चुलोमा आगो बल्दैन् । दिउँसभर जसोतसो दिन भुलाएपनि राउत परिवारलाइ रात कटाउन मुश्किल पर्छ । ‘चिसो बढेपछि रातीमा निद्रा नै लाग्दैन’, तिलाले विलौना पोख्दै भनिन्,‘पाँचजना एकै ठाउँ र आमा अर्को ठाउँ सुत्नुहुन्छ ।’ माइतीघर आमालाइ हेरचाह गर्ने कोही नभएपछि आफू बस्ने ठाउँमा ल्याएको उनले सुनाइन ।
‘हजुरबुवाले ऋण तिर्न नसक्दा हामी सुकुम्वासी भयौँ’,उनले भनिन्,‘विरामी भएकाले श्रीमान काम गर्न सक्नुहुन्न । जीवनभर सडकमै बास हुनेभयो ।’ जति काम गरेपनि गाँस जुटाउनै धौधौ हुने गरेको उनको दुःखेसो छ । परिवार धान्नै गाह्रो हुने बताउँदै उनले सम्पत्ति जोर्ने कुरा धेरै टाढाको कुरा भएको बताइन । बजारभरी काम गरेर बेलुका छाप्रोमा चुलो बाल्ने उपाय दिनहुँ खोजिरहनु परेको उनको भनाइ छ ।
बुवा आमासँगै सडकमै बसोवास गर्दैै आएका राउतका सातवर्ष अघि बुवा आमाको निधन भयो । अन्य गाउँपालिकाबासी भएपनि लामो समय नगरक्षेत्रमै बसोवास गर्दै आएकाले प्रशासनसँगको सल्लाहमा राउत परिवारको नागरीकता बनाइदिएको वडा नम्वर ३ का अध्यक्ष प्रेम हमालले जानकारी दिए । विचल्लीमा परेका सुकुम्बासीको बास व्यवस्थापनमा ठोस योजना बनाउने नगरप्रमुख अर्जुनकुमार कक्षपतीले सुनाए । गतवर्ष सापडाँडाका आठ जना गन्धर्व परिवारलाइ एक÷एक रोपनी क्षेत्रफल जग्गा उपलव्ध गराएको जानकारी गराउँदै उनले सडक बाँस बनेका परिवारको खोजी गरी छिट्टै योजना बनाउने समेत उल्लेख गरे ।