प्यूठान : प्यूठानको मल्लरानी गाउँपालिकास्थित बुकीडाँडामा बृहत वृक्षारोपण गरिएको छ । ‘सन्ततिका लागि सोचौं, समृद्धि र हरियालीका लागि रुख रोपौं’ भन्ने नारासहित शनिबार मल्लरानी–३ बुकीडाँडा सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय प्यूठानका रेन्जर हरी पौडेलले जानकारी दिए ।
सौन्दर्यमुलक बिरुवा वृक्षारोपण गरिएको उनले बताए । ‘तीन हजार दुई सय बिरुवा रोपिँदै छ’, उनले भने, ‘पर्यटन प्रवद्र्धनका लागि यहाँ स्थानीय स्तरबाटै गाउँलेहरूले झण्डा फहराउने, केहि अस्थायी पूर्वाधारका संरचनाहरु बनाउने काम गरेका छन् ।’
मल्लरानी गाउँपालिकाले समेत वार्षिक नीति तथा कार्यक्रममा बुकेनीडाँडालाई पर्यटन क्षेत्रसंग जोड्न विशेष प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष कृष्ण खड्काले बताए । ‘झाक्रीस्थान, मल्लरानी हुँदै बुकीडाँडासम्म पर्यटकलाई लैजाने गरी योजना बनाउँदै छौं’,उनले भने, ‘पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि वृहत योजना बनाउँदै अघि बढेका छौं ।’
समुन्द्री सतहबाट १७७५ मिटर उचाईमा बुकीडाँडा रहेको छ । यहाँबाट प्यूठानका अधिकांश भू–भाग र हिमश्रृंखलाहरु सहजै दृष्यावलोकन गर्न सकिने मल्लरानी–३ का वडा अध्यक्ष नोमराज पौडेलले जानकारी दिए । पालिकाले आवश्यक बजेटको व्यवस्था गरी पूर्वाधार निर्माणका कामहरु अघि बढ्न लागेको उनले बताए ।
डिभिजन वन कार्यालय प्यूठानको आयोजनामा गरिएको वृक्षारोपणमा वन उपभोक्ता समुह, लायन्स क्लब अफ प्यूठान, बिहानी पदयात्रा समूह प्यूठान, लायन्स क्लव अफ प्यूठान भित्रीकोट, मल्लरानी बिहानी पदयात्री समूहले सहभागिता जनाएका थिए ।