बुटवल : सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेड बुटवल शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रुपन्देही क्षेत्रमा रहेका विभिन्न विद्यालयका विपन्न, गरिब र जेहेन्दार विद्यार्थीहरुलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री प्रदान गरेको छ ।
अभिभावक गुमाएका, घरको आर्थिक अवस्था कमजोर भएका, परिवारको साथ नपाएका १३ जना छात्र र सात जना छात्राहरुलाई सहयोग गरिएको बुटवल शाखा प्रवन्धक बासुदेव मल्लले जानकारी दिए ।
नहरपुर माध्यमिक विद्यालय, जितेश्वरी मावी, मायादेवी आधारभूत विद्यालय, सूर्योदय आधारभूत विद्यालय, प्रगतीनगर माध्यमिक विद्यालय, शहिदस्मृती आधारभूत विद्यालय, नयाँगाउँ माध्यमिक विद्यालय, मैनावगर आधारभूत विद्यालय, उजिरसिँह माध्यमिक विद्यालय, बुटवल माध्यमिक विद्यालय, सरस्वती आधारभूत विद्यालय र महिला साधना विद्यालयका विद्यार्थीहरु उक्त कार्यक्रमबाट लाभांवित भएको शाखा प्रवन्धक मल्लले जानकारी गराए ।
बैंकसँगको सामाजिक उत्तरदायित्व कार्यक्रममा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीले सहकार्य गरेको थियो ।