सरुमारानी (प्यूठान) : सरकारी जागिरे जीवन मात्र सवथोक हो भन्ने सोँचबाट धेरै फराकिलो रुपमा अघि बढेका छन् सरुमारानी प्यूठानका तीन शिक्षकहरु । तीनै जना शिक्षक । तर, एक जना पूर्व शिक्षक हुन् । गंगा केसीले अस्थायी रूपमा १७ वर्ष सरस्वती मावि हंसपुरमा पढाए ।
शिक्षण पेशा गरेर छाडेका सरुमारानी १ का केसी, सरस्वती मावी बांगेशालका मावी स्थायी शिक्षक भक्त मर्शाङ्गी र सोही विद्यालयका प्रावी तहका स्थायी शिक्षक महेश रायमाझीले यस क्षेत्रकै रहरलाग्दो पोल्टीफर्म संचालन गरेर उदाहरणीय बनेका छन् ।
स्थानीय बोधनीखोलामा तीन जना मिलेर १ करोड २५ लाख रुपैयाँ लगानीमा केसी पोल्टीफर्म एण्ड सप्लायर्स संचालनमा ल्याएका हुन् । ४२ रोपनी क्षेत्रफल जग्गामा फैलिएको उनीहरुको पोल्टीफर्ममा ८ हजार ५ सय लेयर्स कुखुरा छन् । कुखुराले दैनिक ६ हजार वटा त अण्डा उत्पादन गर्छन् ।
अण्डा विक्री गर्न कुनै चिन्ता गर्नुपर्दैन् । प्यूठान सहित छिमेकी जिल्ला रोल्पाको बजारमा अण्डा खपत हुन्छ । ‘फर्मबाटै अण्डा विक्री हुन्छ’,संचालक गंगा केसीले भने,‘यस वर्ष अण्डाको मूल्य राम्रो पाइयो । ठूलो आकारको २८÷२९ सयमा फर्मबाटै व्यापारीले लैजान्छन् ।’ केसीले पोल्टीफर्मसँगै लेखापरिक्षण गर्ने फर्म पनि संचालनमा ल्याएका छन् ।
तर, अघिल्लो वर्ष अण्डाको मूल्य सोँचे अनुसार नआएको उनीहरुको दुःखेसो छ । मूल्यमा कुनै कुनै बेला उतावचढाव आउँदा त्रसित भएपनि व्यवसायमा नाफा र जोखिम दुवै हुनेमा उनीहरु दृढ छन् ।
कुखुरामा लाग्ने रानीखेत, गम्बारो र जुका पर्ने समस्याबाट जुध्न कहिलेकसो चुनौती हुने उनीहरुको अनुभव छ । चल्ला खरीद गरेको शुरुको दिनदेखिनै ११८ दिनसम्म चल्लालाई बीचबीचमा खोप लगाईरहनु पर्दछ ।
‘दाङबाट प्राविधिक बोलाएर कुखुरालाई सुई लगाउँदै आएका छौं’,केसी भन्छन्,‘गाउँपालिकाको कृषि शाखाबाट प्राविधिक तथा भ्याक्सिन लगाइदिने, औषधी उपचार गरिदिने वातावरण भएमा व्यवसायीलाई धेरै राहत मिल्ने थियो ।’ कुखुराले पाँच महिना देखि अण्डा उत्पादन गर्ने उनले सुनाए ।
उनीहरुको पोल्टीफर्ममा कुखुरामात्र कहाँ छन् र ? खसीबाख्रा गरेर १ सय ६० वटा छन् । खसीबाख्राका लागि २५ लाख रुपैयाँ लगानी गरेका छन् । लामकाने, बोयर क्रस जातका खसीबाख्रा उनीहरुले पालेका छन् । न्यूनतम १५ देखि अधिकतम २६ केजीको बाख्रा खरिद गरी पाल्दै आएको केसी सुनाउँछन् । ८ लेखि ९ महिनासम्म पालेर विक्री गर्ने गर्छन् । फर्मबाटै खसीको मूल्य प्रति किलो ५ सय ५० रुपैयामा विक्री हुन्छ ।
अण्डा तथा मासु उत्पादनको क्षेत्रमा सरुमारानी गाउँपालिका जिल्लाकै हब बन्न सक्ने प्रचुर सम्भावना रहेको उनीहरुले औँल्याएका छन् । तर, गाउँपालिकाले व्यवसायिक रुपमा लागेका किसानहरुको प्रोत्साहनका लागि नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनीहरुको सुझाव छ ।
उनीहरुले कृषि तथा पशुपालनका फर्महरुसम्म पुग्ने सहज पहुँच मार्गका लागि बाह्रैमास चल्ने सडक बनाइदिन स्थानीय सरकारसँग माग गरेका छन् ।
किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने र उत्पादन भएको सामग्री राज्यले बजारको ग्यारेन्टी लिने हो भने विदेशबाट आयत गर्नपर्ने अवस्था नहुने भक्त मर्शाङ्गीले प्रतिक्रिया दिए । धेरैले व्यवसाय गर्न खोजेपनि बीचमै असफल भएर छाड्ने गरेको धेरै देख्नुपरेको उनले सुनाए ।
आ–आफ्नो व्यक्तिगत पेशासँगै सामुहिक व्यवसायमा झुमेका उनीहरुले व्यवासयिक फर्मबाट समुन्नत भविष्य देखेका छन् । फर्ममा पाँच जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।