प्यूठान : सरुमारानी गाउँपालिका प्यूठानले आगामी आर्थिक वर्ष ०८०÷०८१ का लागि ४३ करोड ९३ लाख, ५२ हजार ३ सय ७ रुपैयाँ बजेट गाउँसभामा प्रस्तुत गरेको छ । गाउँसभाको १३ औं अधिवेशनमा उपाध्यक्ष बसन्ता खड्काले बजेट वक्तव्य प्रस्तुत गरिन् ।
आर्थिक विकास तर्फ ४ करोड १३ लाख ८० हजार रुपैयाँ, सामाजिक विकास तर्फ २२ करोड ९५ लाख ५० हजार रुपैयाँ, पूर्वाधार विकास तर्फ ५ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ १ करोड ८२ लाख ९९ हजार, ३ सय ७ रुपैयाँ र कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ९ करोड २५ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
शुक्रबार देखि सुरु भएको अधिबेशनमा पालिका प्रमुख झग बहादुर विश्वकर्माले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अधिवेशनको दोश्रो दिन शनिबार प्यूठानका प्रतिनिधीसभा सदस्य सूर्य थापाको प्रमुख आतिथ्यतामा नीति तथा कार्यक्रम प्रस्तुत गरियो ।
अधिवेशनमा ०७८÷०७९ को म.ले.प प्रतिवेदन अनुसार गाउँपालिकाको बेरुजु शून्य बनाउन योगदान गरेको भन्दै लेखा अधिकृत टोप बहादुर शाहीलाई प्रसंशा पत्र प्रदान गरियो ।
माण्डवी गाउँपालिकाले ४० करोड ७ लाख ४४ हजार ३१२ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नौबहिनीले ६५ करोड ८२ लाख ८६ हजार ३ सय २६ रुपैयाँ, मल्लरानीले ३९ करोड ५४ लाख ४१ हजार ८ रुपैयाँ, झिमरुकले ५० करोड २ लाख २२ हजार १५० रुपैयाँ र प्यूठान नगरपालिकाको कुल ७८ करोड २० लाख रुपैयाँ बरावरको बजेट ल्याएका छन् ।
झिमरुकले गौमुखी क्याम्पस मच्छीमा अध्ययन गर्ने विद्यार्थीहरुको भर्ना तथा मासिक शुल्क सबै छुट दिने नीति तथा कार्यक्रम अघि सारेको छ । नौबहिनी गाउँपालिकाले किसानसंग गाँउसरकार कार्यक्रम मार्फत एक वडा एक कृषि पकेट क्षेत्र निर्माण गरि कार्यक्रम लागु गर्ने भएको छ ।