स्वास्थ्य उपचारका लागि म करिव तीन महिनादेखि काठमाण्डौँमै थिए । नियमित चेकजाँचका लागि काठमाण्डौँ आउजाउ गरिरहनुपर्छ । माइतीघर मालिका गाउँपालिका ५ छापहिले गुल्मीबाट जीपमा बुटवल र अर्को दिन भैरहवाबाट जहाजमा काठमाण्डौँ जाने मेरो पुरानै रुट थियो ।
जब आफ्नै जन्मभूमी गुल्मीको सिमिचौरमा रेसुंगा विमानस्थल संचालनमा आयो, त्यसपछि मनमा बेग्लै उत्साह र उमंग छायो । भैरहवा बुटवलहुँदै लामो र कठिन यात्रा गर्नुभन्दा ४५ मिनेटमै काठमाण्डौँबाट गुल्मी पुग्न सकिने भएपछि उमंग नहुने कुरै भएन् ।
बसको यात्रा गर्दा ‘बोमिट’ हुने र भैरहवा बुटवलको पट्यारलाग्दो गर्मीले दिक्क पर्ने म जस्ता हजारौँ यात्रुलाई रेसुंगा विमानस्थल संचालनपछि निकै खुसीयाली छाएको थियो ।
तर, म कस्तो अभागी ! मनभरी उत्साह बोकेर काठमाण्डौँबाट गुल्मी जाने मेरो दुई पटकको प्रयासमा ठेस लाग्यो । काठमाण्डौँबाट विहान ६ः१५ मा प्लेन उड्छ । विमानस्थल पुग्नका लागि विहानै ४ बजेदेखि तयारी गर्नुपर्छ । एक घण्टा अगाडी ५ बजे पुग्नैप¥यो ।
तछाडमछाड गरी २०८० जेठ ३१ गते बुधवार म विमानस्थल पुगे । बोर्डिङ पास गराएर म र मेरी छोरी श्रीनया जिसी प्रस्थान कक्षतर्फ गयौँ । प्लेन उड्ला उड्ला भन्ने आशामा बसेका हामी आमाछोरी अन्ततः निराश भयौँ । एक घण्टापछि खराब मौसमका कारण प्लेन रद्द भएको सूचना बज्यो ।
पहिलो यात्रामै ठेस लागेपछि हामी आमाछोरी निराश मुद्रामा कोठामा फर्कियौँ । पहिलो प्रयासमै असफल हुँदैमा प्रयास गर्न भने छाड्नुहुँदैन भन्ने मेरो दृढ अठोट हो । र, फेरी अर्को बुधवारका लागि पर्खियौँ । गुल्मीमा हप्तामा एक दिन शुक्रवार मात्र प्लेन उड्छ । पछिल्लो केही दिनदेखि एक दिनका लागि थप गरी बुधवार पनि नेपाल एयरलायन्सले थप गरेको रहेछ । त्यसो त १६ सिटे जहाजमा टिकट लिनै पहाड फोरेजस्तो दुःख गर्नुपर्छ । अनलाइनबाट सहजै टिकट लिनसकिने व्यवस्था छैन् ।
फेरी ०८० असार ६ गते बुधवारकै दिन आमाछोरीको टिकट ‘कन्फर्म’ भयो । भाई अशोक कुमार खड्काले दिदि तपाइको भोलीको टिकट ‘कन्फर्म’ भयो आउने तयारी गर्नुहोला भनेर म्यासेजमा टिकट पठाएपछि अघिल्लो साता गुमेको खुसी फर्किएको अनूभुति भयो ।
असार ६ गते पनि गुल्मी जाने तयारी ग¥यौँ । श्रीमान, भाई र ज्वाईहरु म र छोरीलाई विमानस्थलसम्म पु¥याउन जानुभयो । भनेकै समयमा प्लेन उड्यो । पहिलोपटक आफ्नै गृहभूमीमा प्लेनबाट जाँदा मनमा खुसीको सिमा थिएन । खुसीको भारी बोकेर आमाछोरी आकाशमा उडिरहेका थियौँ । एयर होस्टेजले दिएका ‘चक्लेट’ छोरीले हजुरआमा र हजुरबुवालाई लगिदिने भनेकी थिइन् । उडेको आधा समय हुनै लागेको बेला अव त पुग्नै आटियो भन्ने लागेको थियो ।
रेसुंगा विमानस्थलमा छोरी र नातिनीलाई लिनका लागि आमाबुवा कुरेर बसीरहनुभएको थियो । छोरी र नातिनी प्लेनमा सिँधै गुल्मी आउने खवर सुनेपछि तीन÷तीन महिनादेखि नातिनीलाई भेट्न नपाएका हजुरबुवा, हजुरआमा खुसीले गद्गद् हुनुहुन्थ्यो ।
तर, कस्तो विडम्बना काठमाण्डौँबाट उड्दा सफा भएको मौसम बीचबाटोमै पुग्दा विग्रिएछ । तनहुँको दमौली नजिक पुग्नै लाग्दा ठूलो पानी परेपछि जहाज गुल्मी नपुग्दै बीचबाटै काठमाण्डौँ फर्कियो । अब त गुल्मी पुग्नै आटियो होला भनेर मख्ख परेका हामी आमाछोरी फर्केर काठमाण्डौँ आउनुपर्दा मनमा निराश मात्र होइन्, कस्तो अभागी रहेछौँ भन्ने लागेको छ ।
बीचबाटै प्लेन फर्किदा मनमा त्रास पनि उत्तिकै थियो । प्लेनभित्र पाइलटले रद्द भएको खवर सुनाउने रहेन्छन् । एयर होस्टेजले यात्रु सवैका कानकानमा पुगेर कानेखुसी गर्दै मौसम खरावी भयो काठमाण्डौँ फर्किनुपर्ने भयो भनेर भनेपछि मात्र थाहाँ भयो, यसपालीको यात्रा पनि असफल भएछ ।
बीचमै पुग्दा मौसम विग्रिएपछि गुल्मी भन्दा पनि कसरी काठमाण्डौँमा सफल अवतरण हुनेहोला भन्ने कौतुहल्ताले मनमा अनेक प्रश्न उव्जियो । जव काठमाण्डौँमा सफल अवतरण भयो त्यसपछि ढुक्क भयौँ । फेरी तेस्रो पटकको यात्रा गर्ने हो भने अझै एक हप्ता पर्खिनुपर्छ । त्यो पनि सफल हुन्छ भन्नेमा कुनै ग्यारेन्टी छैन् । त्यसैले अब, गुल्मी होइन्, उही पुरानै रुट भैरहवा, बुटवल हुँदै जानुपर्ने बाध्यता आइलाग्यो ।
यसर्थः दैनिक उडान नहुने रुटमा हप्तादिन कुरेर गरिएको यात्रा पनि सफल नहुँदा मनमा खिन्नता कति हो कती ! शुक्रवारको नियमित उडानमा मौसम सफा हुने तर बुधवारको अतिरिक्त उडानमा मौसम विग्रने यो कस्तो संयोग हो ? नियमित र भरपर्दो उडानका लागि सवैले चासो दिने की ?