प्यूठान : मल्लरानी गाउँपालिका वडा नं ३ ले बढ्दो प्रविधिलाई पछाउँदै सेवाग्राहीका काम गर्ने गरेको छ । वडाले आफूलाई स्मार्ट बनाउँदै लगेको हो । बढ्दो सूचना र प्रविधिलाई अधिकतम प्रयोग गर्ने योजनालाई कार्यान्वयन गरिएको वडा अध्यक्ष नोमराज पौडेलले जानकारी दिए ।
वडा अध्यक्ष पौडेल पूर्व संचारकर्मी भएकाले पनि उनी आफ्नो वडालाई प्रविधिमैत्री बनाउन चाहान्छन् । ‘हाम्रो वडामा अहिले लिखित केही पनि हुँदैन’,पौडेलले प्रतिक्रिया दिँदै भने, ‘वडा कार्यालयका हरेक निर्णयका माइन्यूट समेत हस्तलिखित हुँदैनन्, कम्प्यूटराईज गर्छौ ।’
पारिवारिक विवरण, बैंकिङ सिफारीस, विदेशमा पढ्न जाने कागजात र अन्य आवश्यक कागजात समेत अंग्रेजीमा तयार हुने गरेको वडाले जनाएको छ । ‘वडा कार्यालयमा आउनैपर्ने जरुरी काम बाहेक हामीले गर्ने सिफारीस लिन कार्यालय धाउनु पर्दैन’,पौडेलले भने, ‘इमेल मार्फत पनि पठाएका निवेदनका आधारमा पनि काम गर्छौै ।’
मल्लरानी–३ का स्थायी बासिन्दा हाल दाङको घोराही बस्दै आएका यूवराज पौडेलले इमेल, इन्टरनेटको सहायताबाट निवेदन पेश गरि आफूले पारिवारिक विवरण सिफारीस पाएको प्रतिक्रिया दिए । ‘सिफारिस लिन म दाङबाट प्यूठान जान परेन’,उनले भने, ‘नेटबाटै घरमै बसीबसी सवै काम सकियो ।’
नागरिकका नागरिकतामा नाम अशुद्ध हुने समस्याको स्थायी समाधान गर्दै नागरिकताको अनूसुची कम्प्यूटराईज गराएर राखिएको वडा अध्यक्ष पौडेलको भनाइ छ । स्थानीय सरकारले दिने सेवाहरु डिजिटल यूगमा प्रवेश गर्नुको विकल्प नभएको उनको अनूभव छ ।