प्यूठान : नेपाल निर्माण व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष टोप बहादुर रायमाझीले निर्माण व्यवसायीको पहिलो प्राथमिकता विकास निर्माणका योजनाहरु गुणस्तर हुनुपर्नेमा जोड दिएका छन् ।
शनिबार विजुवार प्यूठानमा निर्माण व्यवसायी संघ प्यूठानको ११ औं साधारण सभामा बोल्दै उनले भने, ‘अस्वस्थ प्रतिस्पर्धाले कामको गुणस्तरलाई प्रवाह गरेनौं । अस्वभाविक न्यून दररेटमा झर्दा हामी समस्यामा परेका छौ ।’
आफ्नो कम्पनी तथा फर्मलाई अद्यावधिक गराउनकै लागि अस्वस्थ प्रतिस्पर्धाको लहर चलेको उनको भनाई छ । ‘साना फर्महरु बढि मारमा परेका छन्’,रायमझीले भने,‘समयमै भूक्तानी नहुने समस्याले निर्माण व्यवसायी थप धरासायी बन्दै गएका छन् । जिल्लाको नेतृत्वले साना मझौला सबै निर्माण व्यवसायीले सहज वातावरणमा काम गर्ने परिपाटी मिलाउनुपर्नेमा उनले जोड दिए ।
विवादित ठाउँका समस्या समाधान गरेर मात्रै राज्यले विकास निर्माणको योजनामा बजेट व्यवस्थापन गर्नुपर्नेमा निर्माण व्यवसायी महासंघ लुम्बिनी परदेशका अध्यक्ष बलिभद्र रानाले जोड दिए । ‘साइड क्लियर भएको ठाउँमा काम गरौं’,रानाले भने, ‘क्षमता भन्दा बढीको काम गर्दा हामी समस्यामा परेका हौं ।’ आफ्नो कार्यक्षमता हैसियत अनुसार काम गर्नुपर्ने उनले बताए ।
साधारण सभामा लुम्बिनी प्रदेशका पूर्व मन्त्री प्यूठान (क) का सांसद् तुल्सीराम शर्माले देश निर्माणको महत्वपूर्ण हिस्सेदार निर्माण व्यवसायीहरु भएकोले आफ्नो काम र भूमिकाप्रति सदैव सजग रहन सुझाब दिए । राज्यले बनाएका नीतिलाई कार्यान्वयन गर्दै जिम्मेवार ढंगबाट काम गरेमा विकास निर्माणको कामले गति लिनेमा शर्माले विश्वास व्यक्त गरे ।
प्यूठानको समग्र विकासमा प्यूठानी निर्माण व्यवसायीहरुले सकारात्मक भूमिका निर्वाह गरिरहेको नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य बालाजु श्रेष्ठले चर्चा गरे । प्यूठानको सन्दर्भमा जिल्ला बाहिरका निर्माण व्यवसायीले जिम्मा लिएका कामहरू अलपत्र तथा समयमै सम्पन्न हुन नसकेको उनले बताए । जिल्लाका सबै स्थानीय तहमा कामको दररेट फरक फरक परेकोमा उनले चिन्ता व्यक्त गरे । ‘कामको दररेट र लाइसेन्स शुल्क तथा नवीकरण शुल्क एउटै हुनुपर्यो ।’ उनले भने ।
राज्यले पछिल्लो समयमा महासंघले उठाएका कतिपय सवालहरुको सम्बोधन गरेको उनको भनाई छ । पुस मसान्तसम्म ५० प्रतिशत छुटमा नविकरण तथा भ्याट हिसाव मिलान गरि राज्यलाई सहयोग गर्न उनले निर्माण व्यवसायीहरूलाई सुझाए । सभामा संस्थागत प्रतिवेदन महासचिव नारायण ज्ञवाली र आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिसेक थापाले प्रस्तुत गरेका थिए । थापाले आगामी आर्थिक वर्षका लागि करिब ७० लाख रुपैयाँ बराबरको आय तथा व्यय प्रस्तुत गरेका छन् ।
विभिन्न सार्वजनिक पदमा निर्वाचित निर्माण व्यवसायीहरु, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी र प्यूठान डान्स आइडल २०७९ का विजेताहरुलाई सम्मान गरिएको छ ।