प्यूठान : प्यूठानको प्रमुख व्यापारिक केन्द्र बाग्दुला देखि दम्तीसम्मको कालोपत्र सडकको प्रगती १५ प्रतिशत मात्र भएको छ । असार मसान्त सकिन लाग्दा समेत कामले कछुवाको गति लिएपछि स्थानीय चिन्तित बनेका छन् । कुल ५ करोड ४१ लाख रुपैयाँ सम्झौता भएको बजेटको उक्त योजनामा हालसम्म ८२ लाख रुपैयाँ मात्रको काम भएको सडक पूर्वाधार विकास कार्यालय प्यूठानले जनाएको छ ।
सडक स्तरोन्नतीका लागि बजार क्षेत्रमा भत्काईएका अस्थायी संरचना नाली तथा वाल उठाउने काम द्रूत गतिमा अघि बढ्न नसक्दा बर्खामा ठूलो सास्ती बेहोर्नुपर्ने भन्दै यहाँका व्यवसायीहरुमा थप चिन्ता बढेको हो । ‘काम गर्ने भनेर भत्काउने काम मात्रै भयो’,स्थानीय व्यवसायी घनश्याम कक्षपतिले भने, ‘यति ठूलो योजनामा मात्र ३ जना लेबरले काम गरेर काम कसरी सकिन्छ त ?’ ठेकेदारले जनशक्ति बढाएर काम नगरेको उनले बताए । बर्खाको समय आउनै लाग्दा बजार क्षेत्रको सडक तथा नाली बन्नमा ढिलाइ भइरहेको छ ।
असार मसान्त सम्ममा सम्पन्न गर्नुपर्ने योजनाको काममा अत्यन्तै ढिलासुस्ती भएको प्यूठान उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं स्थानीय माधवराज भण्डारीले बताए । ‘हामी स्थानीयहरुले सहजीकरण गर्न तयार छौं’,भण्डारीले भने, ‘ठेकेदार पक्षले तोकिएको समय सीमासम्म काम गर्ने कुनै छाटकाट देखाएन ।’ बाग्दुला देखि दम्तीसम्म ३ किलोमिटर ३ सय मिटर सडक पक्की गर्र्ने कामको जिम्मा हाम्रो निर्माण सेवा सुर्खेतले पाएको छ ।
सडक पूर्वाधार कार्यालय प्यूठानका कार्यालय प्रमुख चन्द्र शाहले काममा ढिलासुस्ती भएको र पटकपटक ताकेता गरिएको जानकारी दिए । बर्खा अघिनै बजार क्षेत्रमा नाली बनाउने र ‘सवबेस’ बिछ्याउने सम्मको काम गराउन कार्यालयको तर्फबाट अधिकतम पहल भइरहेको उनले बताए । छिटो छरितो काम गराउन प्रमुख जिल्ला अधिकारी, प्यूठान नगरपालिका प्रमुख लगायतको रोहबरमा ठेकेदार पक्षले प्रतिबद्धता गरेको उनले सुनाए ।
‘काम गरेको बिल हामीले तुरुन्तै भुक्तानी गर्दै आएका छौं’,शाहले भने ‘ठेकेदारले काम गर्नै सकिरहेका छैनन् ।’ उनले असार मसान्त सम्ममा काम सम्पन्न गर्ने सम्झौता भएको बताए । निर्माण कम्पनीका प्रतिनिधि कृष्ण प्रसाद ओलीलाई पटकपटक सम्पर्क गर्न खोज्दा उनको फोन उठ्दैन् । सामान्य वर्षा हुँदा समेत यहाँको सडक हिलाम्मे हुने गर्छ । बजार क्षेत्रको सडकमा ड्रेन (नाली) थुनिदा सडकमै पानीको भल बग्ने र हिलो हुने हुँदा बजारमा किनमेल गर्न आउने सर्वसाधारण देखि व्यापारीहरूले सास्ती खेपीरहेका छन् ।