तम्घास (गुल्मी) : लामो समयदेखि अलपत्र तम्घासको हाटबजार सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्नका लागि तम्घासको चारिखोलामा हाटबजार संचालनमा आएको हो । विगत सात वर्षदेखी अलपत्र अवस्थामा रहेको हाटबजार अत्याधुनिक शित भण्डारण सहित सञ्चालन गरिएको रेसुंगा नगरपालिकाले जनाएको छ ।
कृषि तथा पशु उपज संकलन केन्द्रको रुपमा निर्माणधिन हाटबजारलाई सम्पन्न गरी सञ्चालन गरिएको रेसुंगा नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद गौतमले जानकारी दिए । ‘हाटबजारको निर्माण गर्न लामो समय लाग्यो,’उनले भने,‘शितभण्डारण सहित शनिबारबाट सञ्चालन गरेका छौं ।’ गौतमका अनुसार कृषकले उत्पादन गरेका कृषि र पशुजन्य सामग्री सिधै उपभोक्तालाई बेच्नका लागि हाटबजारको सञ्चालन गरिएको हो । सदरमुकाम तमघासस्थित चारीखोलामा ५ टन क्षेमता रहेको शितभण्डारणमा कृषकले उत्पादन गरेका सामग्री नकुहिने गरी स्टोर गर्न सकिने व्यवस्था गरिएको छ ।
शित भण्डारण सहित हाटबजार सञ्चालनमा आएपछि कृषक खुसी भएका छन् । रेसुंगा नगरपालिका–१० का विनोद कुवंरले कृषिमा गरेको लगानीको उचित मुल्य पाउने भएपछि खुसी लागेको बताए ।‘तरकारी उत्पादन गर्न मेहनत धेरै गर्नुपर्छ,’उनले भने,‘अब हामीले उचित मुल्य पाउने छौं ।’ कुवँरले विगतमा व्यवसायीलाई दिंदा घटाएर दिनुपर्ने अवस्था रहेको उल्लेख गर्दे हाटबजारबाटै वेच्दा सहज भएको बताए । शनिबारबाट सञ्चालन भएको हाटबजारमा विक्रेता रेसुंगा नगरपालिकाले व्यवस्था गरिदिएको छ । उक्त हाटबजारबाट पाईने सामग्रीको मुल्य निर्धारण गरिएको छ । नगरपालिकाले किसानले उत्पादन गरेका कृषि र पशुजन्य सामग्री निश्चित मुल्यमा खरिद गरी विक्री गर्ने योजना रहेको सुचना अधिकारी गौतमको भनाई छ । नगरपालिकाले गरेको यो कार्यक्रमले किसान उत्साहित देखिएका छन् ।
हाटबजारबाट पाईने कृषिजन्य सामग्री बजारको भन्दा ३५ प्रतिशत सस्तो रहेको नगरपालिकाको दावी छ । किसान र नगरपालिकाविच पटक पटक छलफल भएपछि सहमतीमा मुल्य निर्धारण गरिएको नगरपालिकाका पशु प्राविधिक पशुपती मरासिनीले जानकारी दिए । कृषकले हाटबजारमा कृषि र पशुउपजका सामन सहजै उपभोक्तालाई वेच्न पाउने छन् । लोकल कुखुरा,खसी,बोका लगायतका पशु उपज अब हाटबजारबाटै खरिद र बिक्री गर्न पाईने छ । हाटबजार सञ्चालनमा आएसँगै कृषकले उत्पादन गरेका बस्तुहरुको उचित मुल्य पाउने जिल्ला समन्वय समिति गुल्मीका अध्यक्ष लक्ष्मण पराजुलीलले बताए ।
पहिले कृषकहरुले उत्पादन गरे पनि बजार सम्म लैंजादा बास्तबिक मुल्य नपाउने र बिचौलीया हाबी हुने गरेको भन्दै अब किसानले बास्तबिक मुल्य पाउने पराजुलीको भनाई छ । ७ वर्ष अगाडीसम्म तमघासकै चिदिचौरमा रहेको हाटबजार खेल मैदान र सडक निर्माणका कारण हटाईएको थियो । दैनिक रुपमा सञ्चालन भएको उक्त हाटबजारले किसान र उपभोक्तालाई फाईदा हुने स्थानीयको भनाई छ । १ करोड ३३ लाख ५० हजार रुपैयाँ लागतमा हाटबजारको निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।