माण्डवी गाउँपालिका ५ कालीखोला रम्दीका हुकुम बहादुर थापाले साढे पाँचवर्ष विदेशमा विताए । ४० वर्षिय थापाले जीवनको ऊर्जाबान समय विदेशमै खर्चिए । तीन वर्ष मलेशिया, दुइ वर्ष कतार र ६ महिना दुवैमा पसिना बगाए । विदेशमा काम गर्दा उनलाइ सन्तुष्टि मिलेन् । जन्मभूमिमा फर्किए । घरमा आएपछि यत्तिकै समय खेर फाल्न उनको मनले मानेन् । व्यवसायीक तरकारी शुरु गरे । कुखुरापालन र चाउमिन उद्योग समेत सँगै चलाए । अहिले उनी यस क्षेत्रकै अगुवा किसानको रुपमा चिनिएका छन् ।
खेतवारी खनजोत गर्दा गाउँमा गोरु नपाइने । फाट्टफुट्ट भेटिहाले पनि धेरै महंगोमा उनले खेतवारी जोत्नुपर्ने बाध्यता थियो । शुरुको जस्तो हिजोआज गाउँमा गोरु पाल्ने किसानहरु हराउदै जान थालेका छन् । समतल भुभागमा हाते ट्याक्टरको प्रयोग गाउँभरी हुन थाल्यो । पैसा हुने किसानहरुले लाखौँ रुपैयाँ खर्चेर ट्याक्टर खरिद गरे । तर, थापाले गाउँका अन्य किसानहरुको ट्याक्टर भाडामा लिएर खेतवारी खनजोत गर्दथे । ‘एक घण्टाको एक हजार रुपैयाँ बुझाउनुपर्दथ्यो’,उनी भन्छन्,‘चार÷पाँच घण्टा जोतेपछि मात्र सकिन्थ्यो ।’ उनले धेरैवर्ष खेतवारी जोत्नका लागि भाडाकै हाते ट्याक्टर लिएर काम चलाए । पाँच हल गोरुले जोत्ने खेतवारी हाते ट्याक्टरले दुइ घण्टामै सक्ने किसानहरु बताउछन् ।
खेतवारी जोत्न धेरै समय नलाग्ने, समयको बचत, कामदार थोरै भएपनि हुने र एकैदिन जोतेर सकिने भएपछि धेरै किसानहरुले गाउँमा हलगोरु पाल्न छाडेका छन् । अगुवा किसान थापाले हालै माण्डवी गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा उक्त ट्याक्टर प्राप्त गरे । ट्याक्टर पाएपछि उनको व्यवसायीक सोँचमा अझै उत्साह थपिएको छ । ‘समाजमा केही गरेर देखाउने मन छ’,उनले भने,‘अव सवै कुराले साथ पाएको छु । यूवाहरुलाइ गाउँमै पैसा कमाउन सकिन्छ भन्ने उदाहरण दिन खोजेको छु ।’ थापाले दुइसय बढी कुखुरा पालेका छन् । अहिले हरियो मकै बारीमा फलेका छन् । व्यवसायीक खेती गरेरै उनले एक सिजनमा लाखौँ रुपैयाँ आम्दानी गर्छन् ।
उनीजस्तै, माण्डवी ४ उदयपुरकोटका ५३ वर्षिय जुग बहादुर खत्रीले पाटाभरी टमाटर खेती गरेका छन् । टमाटर बेचेरै उनले सवै खर्च कटाएर एकलाख रुपैयाँ बढी आम्दानी गर्छन् । खत्रीले गाउँपालिकाबाट हाते ट्याक्टर पाएपछि खुसी व्यक्त गरे । ‘एकलाख ९० हजारमा ट्याक्टर आएको छ’,उनले भने,‘९५ हजार हाम्रो लगानी भएको छ ।’ गाउँमा व्यवसायीक रुपमा लागेका किसानहरुलाइ यस्ता प्रविधिहरुले धेरै उत्साह जगाएको उनले अनुभव सुनाए ।
गाउँपालिकाले अघिल्लो वर्ष तीन र यसवर्ष चारजना किसानहरुलाइ हाते ट्याक्टर, इलेक्ट्रिक तराजु लगाएतका कृषि यन्त्रहरु वितरण गरेको छ । चालु आवमा तीन लाख ४७ हजार पाँच सय रुपैयाँ कृषि यान्त्रिकरणमा अनुदान दिइएको प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले जानकारी गराए । समूहमा उपलव्ध गराइएको प्रविधिको सही सदुपयोग नहुनेभएपछि व्यक्तिगत रुपमा किसानहरुलाइ प्रदान गरिएको उनको भनाइ छ । ‘निश्चित सूचक र स्थलगत अनुगमन गरेर मात्र अनुदानका प्रविधि वितरण गरेका छौँ’,रिजालले भने,‘मागको आधारमा प्रविधि दिन्छौँ ।’
कृषि क्षेत्रमा यस गाउँपालिका धेरै संभावना छ । अदुवा, हलेदो, टमाटर लगाएत खेतीमा यस क्षेत्रका किसानहरु व्यवसायीक रुपमै लागेका छन् । चालु आवमै तरकारी र पशुपालन क्षेत्रमा गरी ३० जना किसानहरुलाइ प्रति व्यक्ति ५०÷५० हजार रुपैयाँ अनुदान दिने समेत गाउँपालिकाले जनाएको छ । आउँदो वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारी भइरहेको जानकारी गराउँदै गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले कृषिमैत्री कार्यक्रम ल्याउने गरी तयारी थालिएको सुनाए । उनले किसानहरुको जीवन बदलिन कस्ता कार्यक्रम ल्याउने वातावरण सृजना गर्न सुझाव दिन समेत आग्रह गरे ।
स्थानीय तह आएसँगै जिल्लाका हरेक गाउँ तथा नगरपालिकाले कृषिलाइ प्रविधियूक्त बनाउन चासो देखाएका छन् । पहिले जिल्लाबाट वितरण गरिने ती प्रविधिहरु किसानको पहुँचमा थिएनन् । टाठाबाठा र पहुँच भएकाले मात्र किसानका लागि आएका अनुदानका प्रविधिहरु लिने अभ्यास थियो । तर, गाउँगाउँमा स्थानीय सरकार गठनसँगै किसानहरुले लाभ लिएका छन् । जनप्रतिनिधीहरुले नजिकबाट चिन्ने भएकाले बास्तविक किसानले मात्र यस्ता कृषि औजार र यन्त्रहरुको उपयोग गर्न पाएको प्रतिक्रिया दिएका छन् ।
स्थलगत अनुगमन गरेर ९ समूहमध्ये पाँचवटालाइ हाते ट्याक्टर वितरण गरिएको झिमरुक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए । दुइ लाख रुपैयाँ प्रविधि खरिदमा खर्च गरिएको उनले सुनाए । प्यूठान नगरपालिकाका सयौँ किसानहरुलाइ प्रविधि दिइएको छ । गाउँ तथा नगर र प्रदेश सरकारले समेत जिल्लाका सयौँ किसानहरुलाइ ५० प्रतिशत लगानीमा प्रविधि उपलव्ध गराएको छ । व्यवसायीक किसानहरुलाइ गाउँमै थप कृषिमै लाग्न उत्प्रेरित गराएको छ । प्रविधि पाएसँगै किसानहरु प्रविधिमैत्री बनेका छन् । यस्ता प्रविधिले उत्पादनमा समेत टेवा पु¥याएको किसानहरु बताउछन् ।