प्यूठान : झिमरुक गाउँपालिका–५ ओखरकोट प्यूठानमा नयाँ वर्षको अवसरमा डोको बुन्ने प्रतियोगिता गरिएको छ । स्थानीय स्रोत साधनको प्रयोग गरी बनाइएका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीयहरुबीचमै प्रतिस्पर्धा गराइएको हो । बाँसका सामग्रीबाट गाउँलेले सँधैजसो बुनिरहने डोकालाई प्रतियोगिताकै रुपमा संचालन गर्दा स्थानीय उत्साहित भए । स्थानीय सरकार सहित सरोकारवाला निकायलाई बोलाएर प्रतियोगिता गराउँदा गाउँलेहरु हौसिएका हुन् ।
प्रतियोगितामा स्थानीय आठ जनाले भाग लिए । ५९ मिनेटमै ९५ डिग्रीको कोणमा १८ ईन्च गोलाईमा १८ ईन्च डायमिटरको डोको तयार पार्नेे ५० वर्षीय रामबहादुर बिक प्रथम भए । सोही आकारमै ६५ मिनेटमा डोको तयार गर्ने स्थानीय अर्जुन बिक दोस्रो र गंगाबहादुर सुनार तेस्रो भए । उनीहरुलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
‘गाउँका बुवाहरुले डोको पहिल्यैदेखि बुन्ने गर्नुहुन्थ्यो’,आयोजक संस्था ओखरकोट चोयाचित्र उद्योगका अध्यक्ष प्रदिप जिसीले भने,‘हामी यसलाई प्रवद्र्धन गर्ने र उद्योगकै रुपमा संचालन गर्ने गरी योजना बनाएका छौँ । ओखरकोट अब चोयाचित्र उद्योगले पनि चिनिने छ ।’ प्रतियोगितामा सहभागी सवैलाई जिसीले पाँच÷पाँच सय रुपैयाँका दरले प्रोत्साहन पुरस्कार समेत दिएका छन् ।
ओखरकोटमै साँस्कृति संग्राहलय समेत स्थापना गर्ने स्थानाीयको योजना छ । परम्परागत घरेलु सामग्रीको कार्यक्रम स्थलमा प्रदर्शन गरिएको थियो । लुम्विनी प्रदेश सरकारको लगानीमा ४५ दिने चोयाचित्रा तालिम गाउँमा संचालन भइरहेको अध्यक्ष जिसीले जानकारी दिए । स्थानीयले डोको, मान्द्रो, डाला, सुपो, बास्केट, ढाकी, प्रिङगो, ढडियाँ, मुडा, स्टुल, बेन्च, टेबुल, चियादानी, ट्रे, ओरो, सिंके, कुँचो, बाकस र विभिन्न चरा तथा फूलका आकर्षक चित्रहरु बनाउने सिप सिकेका छन् । धनकुटाका तुलमान राईले सहभागीलाई सिपमुलक तालिम दिएका छन् । ओखरकोटमा बाँस राम्रो उत्पादन हुन्छ ।