प्यूठान : प्यूठानको सदरमुकाम खलंगा बजारदेखि माथीको डाँडा जो मल्लरानीको नामले परिचित छ । गाउँपालिकाको नामाकरणनै मल्लरानीबाट भएको छ । मल्लरानी आफैमा एक प्राकृतिक भ्यू टावरको रूपमा अडिएको छ । यहाँबाट विजुवार फाँट, विभिन्न डाँडाकाँडा हिमश्रृंखलाहरुको दृष्यावलोकन सहजै गर्न सकिन्छ ।
समुद्री सतहदेखि १ हजार ६ सय ५५ मिटरको उचाइमा रहेको मल्लरानीमा यहाँको चिसो हावापानी, सुन्दर मनोरम प्राकृतिक सौन्दर्यता मुख्य आकर्षणको केन्द्र हो । मल्लकालीन समयमा प्यूठानका राजा रजौटे मध्येका एक चन्द राजाकी छोरीको बिहे मल्ल राजघरानामा भएको र प्यूठानी राजा चन्दको छोरी ज्वाइँ यहि डाँडामा बसेको भन्ने किम्बदन्ती सुनिदै आएको स्थानीय बताउँछन् ।
मल्लरानीको ऐतिहासिक पक्षबारे साझा बुझाई तथा विश्वसनीय किम्बदन्ती भने अझै फेला नपरेको स्थानीयको प्रतिक्रिया छ । नयाँ बर्ष २०८० को आगमनसंगै यहाँ पहिलोपटक खाना महोत्सव (फुड फेस्टिवल) को आयोजना हुने भएसंगै यहाँको चहलपहल तथा रौनकता ह्वात्तै बढेको पाइएको छ ।
प्यूठान उद्योग वाणिज्य संघ, मल्लरानी बजार क्षेत्रको मुख्य आयोजनामा हुन लागेको खाना महोत्सव चैत ३० देखि बैसाख १ र २ गतेसम्म चल्ने खाना महोत्सव मूल आयोजक समितिका संयोजक तथा मल्लरानी बजार क्षेत्रका अध्यक्ष बासुप्रसाद श्रेष्ठले जानकारी दिए । ‘हामी मल्लरानीको पर्यटन प्रवद्र्धनका लागि अब हरेक वर्ष फुड फेस्टिवलको आयोजना गर्ने परम्परा बसाल्ने छौं’,श्रेष्ठले भने, ‘जिल्लाको सदरमुकाम सुनसान बन्दै गयो, बजार क्षेत्रलाई मल्लरानीसंग जोड्न नयाँ सोंच र योजनाका साथ अघि बढ्न जरुरी छ ।’
फूड फेस्टिवलमा करिब २० हजार पयैटकहरु सहभागी हुने आयोजकले लक्ष्य लिएको छ । स्थानीय जातका विभिन्न परिकार, रैथाने नेवारी जातका स्वादिष्ट व्यंजन, भोजनका विविध परिकार, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुतिको साथमा यहाँ आउने आन्तरिक तथा बाह्य दर्शक÷पर्यटक रमाउने आयोजक समितिका सहसंयोजक इमानसिंह भारतीले बताए ।
‘खाँदै रमाउने कार्यक्रम हो’,भारतीले भने, ‘मल्लरानी र खलंगा बजारलाई जीवन्त राख्न यहाँ होमस्टेको विकास गर्दै पर्यटन प्रवद्र्धनमा स्थानीयहरुले नै लगानी गर्नुपर्दछ ।’ मल्लरानीमा अहिले खानेपानी, शौचालय, स्थानीयहरुकै अगुवाइमा सेल्फी पोइन्ट, झुला पिङ, लिङ्गे पिङ्ग, बस्ने बेन्च÷कुर्सी सेट तयारी अवस्थामा रहेको छ । जीपलाईन निर्माणाधीन अवस्थामा रहेको छ भने अन्य साहसिक खेलको लागि पनि स्थानीयहरुले तयारी छलफल तथा बहस चलाउँदै आएका छन् ।
स्थानीय, प्रदेस तथा केन्द्र सरकारबाट पर्याप्त बजेट व्यवस्थापन गरि यहाँको पर्यटन प्रवद्र्धनका लागि विभिन्न भौतिक पूर्वाधारको विकास गर्न सकेमा जिल्लाको सदरमुकाम खलंगा बजार र आसपासको क्षेत्रको समग्र विकासमा टेवा पुग्ने र आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रको मल्लरानी एक प्रमुख गन्तव्य साबित हुने सम्भावना प्रबल देखिन्छ । मल्लरानीसम्म पुग्नका लागि सडक कालोपत्रे गरिएको छ । फूड फेस्टिवलको उद्घाटन आज (विहिवार) प्यूठानका प्रतिनिधीसभा सदस्य सूर्य थापाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।