प्यूठान : जिल्ला अस्पताल विजुवार प्यूठानमा भिडियो एक्सरे मेशिन बिग्रेको झण्डै एक वर्ष पुग्न लागिसक्यो । तर, त्यसको मर्मत र नयाँ मेशिन ल्याउनका लागि जिम्मेवार निकाय गैर जिम्मेवार बनेर बसेका छन् । एक्सरे मेशिन नहुँदा विरामीहरु सरकारीमा चेकजाँच गराएपनि भिडियो एक्सरे गर्न नीजिमा पुग्छन् । कमजोर आर्थिक अवस्था भएर सरकारीमा उपचार गराउन पुग्ने विरामीहरुलाई आर्थिक भार परेको छ ।
अस्पताल मूनी विजुवारमा रहेका नीजि क्लिनिकमा भिडियो एक्सरे गर्न वर्षदिनदेखि बाध्य भएका छन्, विरामीहरु । नीजि क्लिनिकहरुले ६ सय देखि आठ सय रुपैयाँ सम्म भिडियो एक्सरे गरे वापतको शुल्क लिने गर्छन्। नीजिमा आएको भिडियो एक्सरेको रिपोर्ट लगेर विरामीहरु जिल्ला अस्पतालमा जान्छन् ।
अस्पतालमा रहेको भिडियो एक्सरे मेशिनले काम गर्न छोडेको अस्पतालमा कार्यरत एमडीजिपी डाक्टर सन्तोष केसीले बताए । ‘अलि पहिलेसम्म यहि मेशिनले काम गरेको थियो, अहिले काम गर्ने अवस्थामा छैन ।’ केसीले भने ।
मेशिनले सहि रिपोर्ट नदिँदा केहि बिरामीहरूको उपचार गराउँदा समस्या भएको उनको अनुभव सुनाए । दैनिक औषतमा दुई सय जना बिरामीले सेवा लिने जिल्ला अस्पतालमा भिडियो एक्सरे गर्न मात्रै दैनिक १२÷१५ जना विरामी आउने गरेको तथ्यांक रहेको अस्पतालले जनाएको छ ।
प्यूठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रमिला खनालले अस्पतालमा रहेको भिडियो एक्सरे मेशिन नचलाईएको बताइन् । ‘म आउनु भन्दा पहिले यहि मेशिन प्रयोग गरिएको रहेछ’, उनले भनिन्, ‘खोई अहिले किन मेशिन बिग्रिएको भनिएको छ, म आफै आश्चर्यमा परेकी छु ।’ मेडिकल सुपरिटेन्डेन्ट खनाल र कार्यरत अन्य चिकित्सकको प्रतिक्रिया फरक फरक छ ।
मन्त्रालयका रेडियोलोजिस्ट र बायोमेडिकल इन्जिनियरिङ समूहले भिडियो एक्सरे मेशिन चलाउन योग्य रहेको बताएको उनले प्रतिक्रिया दिइन् । ‘मेशिनको अवस्थाबारे विज्ञ टिमले माइनुट गरेर दिएको अवस्था छ’,खनालले भनिन, ‘तर हाम्रा डाक्टरहरुले मेसिनमा खराबी छ भन्नुहुन्छ ।’ अन्यत्र
जिल्लाहरुमा यहि प्रकृतिको मेशिन प्रयोग गरिएको उनले सुनाईन । चिकित्सकहरुको फरक फरक प्रतिक्रिया र थलिएर बसेको भिडियो एक्सरे मेशिन संचालनका विषयमा जिल्लाका सरोकारवाला निकायले चासो देखाएका छैनन् । जिल्ला अस्पताल अहिले व्यवस्थापन समिति अध्यक्ष विहिन छ । प्यूठान नगरपालिका, जिल्ला प्रशासन कार्यालयले आम जिल्लाबासीको स्वास्थ्यसँग जोडिएको जिल्ला अस्पतालको सेवा प्रवाहका बारेमा चासो दिन सेवाग्राहीहरुले सुझाव दिएका छन् ।