लुम्बिनी (रुपन्देही) : लुम्बिनी साँस्कृतिक नगरपालिकाको दशौँ नगरसभा बिभिन्न १४ वटा ऐन तथा कार्यविधि पारित गर्दै आइतवार सम्पन्न भएको छ । नगरसभाले स्थानीय राजपत्र प्रकाशन सम्वन्धी कार्यविधि, आर्थिक सहायता कार्यविधी, टेम्पो, अटो रिक्सा व्यवस्थापन कार्यविधि, वारुणयन्त्र व्यवस्थापन तथा सञ्चालन कार्यविधि, सस्था दर्ता तथा नवीकरण कार्यविधी पारित गरेको छ ।
त्यस्तै, बजार अनुगमन निर्देशिका, होमस्टे सञ्चालन कार्यविधि, नगर शिक्षा विकास कोष सञ्चालन कार्यविधि, कन्टिनजेन्सी रकम खर्च सम्बन्धी कार्यविधि, करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि, स्वयसेवक शिक्षक ब्यवस्थापन कार्यविधि, नीजि जग्गाको माटो उत्खनन् तथा ओसारपसार सम्बन्धि कार्यविधि, स्वास्थ्य सेवा ऐन, कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्ने बनेको ऐन नगरसभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले जानकारी दिए ।
सभामा हालसम्म भएको प्रगती प्रतिवेदन पेश गरिएको छ । चालू आर्थिक बर्षमा विनियोजित कुल बजेटमध्ये हालसम्म पूँजीगत र चालूतर्फ भएको खर्चको विवरण सभामा सार्वजनिक गरिएको थियो ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको बिकाससंगै नीति निर्माण, योजना संशोधन, योजना कार्यान्वयन सहित पालिकालाई समृद्धि बनाउने तर्फ केन्द्रित भएको नगरप्रमुख सजरुद्धीन मुसलमानले जनाए । नगरक्षेत्रमा पर्यटनसँगै ठूला भौतिक पूर्वाधार निर्माणले तिव्रता पाएको उनको भनाई छ । समृद्ध नगरपालिका बनाउनका लागि चौतर्फी सहयोग, सल्लाह र सुझावको अपेक्षा राखिएको उनले सुनाए ।
जनप्रतिनिधी, कर्मचारी र नागरिकहरुको साथबीना नगरपालिकाबासीको अनुहारमा खुसी ल्याउन नसकिने प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयको भनाई थियो ।