प्यूठान : प्यूठानको विजुवारस्थित खेलकुद मैदानमा जारी स्वर्गद्धारी प्यूठान पाँचौ महोत्सवमा संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा आकर्षण देखिएको छ । चार दिनसम्म झण्डै चार हजार सेवाग्राहीले सेवा लिएको आयोजकले जनाएको छ ।
लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि.बुटवलले विजय फूलवारी बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा महोत्सव अवधिभर स्वास्थ्य शिविरको आयोजना गरेको छ । आइतवारसम्म गाउँ गाउँबाट आएका ३ हजार ६ सय १६ जनाले सेवा लिइसकेको अस्पतालका संचालक बसन्त जिसीले जानकारी दिए ।
पेट, छाती, दम, मुटु र थाइराइडका १ हजार ६ सय ४५ जना, महिला तथा स्तन क्यान्सर सम्वन्धी ६ सय ९०, हाडजोर्नी तथा नसारोगका ६ सय २२ जना, मानसिक रोग ४८, बालरोग ३ सय १, नाक, कान, घाटी ३ सय १०, भिडियो एक्सरे ५ सय ९२, ल्याब टेस्ट १ हजार २ सय २० जना र २ सय ४४ जनाले मुटु परिक्षण गराएका छन् ।
महोत्सव स्थलमै बुटवलबाट विशेषज्ञ चिकित्सकहरु पुगेर विरामीहरुको स्वास्थ्य जाँच गराएका छन् । कतिपय आर्थिक अवस्था कमजोर भएका विरामीहरु पनि आएको र उनीहरुलाई थप उपचार गर्नुपर्ने अवस्था देखिएकाले ती विरामीहरुलाई बुटवलमा लगेर निःशुल्क उपचारको व्यवस्था मिलाउने संचालक जिसीले जानकारी गराए । १० दिनसम्म चल्ने महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर संचालनका लागि करिव ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उनले बताए ।