झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपती रनिङिशल्ड प्रतियोगिता शुक्रबारदेखि शुरू भएको छ । गाउँपालिका नजिकै रहेको खेलमैदानमा शुक्रवारदेखि प्रतियोगिता शुरु भएको हो । लुम्बिनी प्रदेसका कृषी तथा भूमी ब्यवस्था मन्त्री एवं प्यूठानका प्रदेशसभा सदस्य तुल्सिराम शर्माले प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले शिक्षा र खेलकुद विकासलाई प्राथमिकता दिने बताए । उनले राम्रो खेलाडी उत्पादनका लागि विद्यालय स्तरबाटै शुरुवात गर्नुपर्ने धारणा राखे । विद्यालय तहमा खेलाडी उत्पादनका लागि सबै तहका सरकारहरुको सहकार्य आवश्यक रहेको शर्माको भनाई छ । प्यूठान कृषिको प्रचुर सम्भावना भएको जिल्ला भएकाले यसतर्फ देखिने गरि कृषकले अनुभुती गर्ने गरि किसान लक्षित कार्यक्रम ल्याउने उनको भनाई छ ।
उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठले बालबालिकाको सर्वाङ्गिण विकासका लागि विद्यालय उमेरदेखि नै खेलकुद, संगीत जस्ता क्रियाकलापमा विद्यार्थी भाई बहिनीहरुलाई उपयूक्त वातावरण सृजना गरिदिनुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जिसीले बालबालिकाको चौतर्फी बिकासको लागि अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने भएकोले बिद्यालय स्तरबाट खेलकुद संगीत, नृत्य जस्ता विद्यार्थीको रुचिको बिषयलाई प्राथमिकता दिनुपर्ने बताए ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले स्वस्थ जनशक्तिको माध्यमबाट झिमरुकको समृद्धी हासिल गर्न सकिने भएकोले शारीरिक, मानसिक रुपमा स्वास्थ्य रहन खेलकुद अपरिहार्य भएको बताए । पालिकाको समृद्धिको लागि सबैको सहकार्य महत्वपूर्ण हुने उनको भनाई छ ।
प्रतियोगितामा गाउँपालिकाभित्र रहेका १० वटा माध्यामिक तह अन्तरगतका सामुदायिक विद्यालयबाट खेलाडीको सहभागीता रहेको शिक्षा शाखा प्रमुख मोहन बिसीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा एथलेटिक्सका विभिन्न विधा, भलिवल लगायतका खेलहरू संचालन हुनेछन् । प्रतियोगिता अन्तर्गत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, लगायतका खेलमा चार सय खेलाडी सहभागी उने उनले जानकारी गराए । प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।