प्यूठान : फागुन ४ देखि १० गतेसम्म प्यूठानको विजुवारस्थित खेलकुद मैदानमा संचालन हुने स्वर्गद्धारी प्यूठान पाँचौ महोत्सव अवधिभर निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । स्वास्थ्य चेकजाँच गर्नकै लागि बुटवल, काठमाण्डौँ लगायत शहरमा जानुपर्ने अवस्थालाई ध्यानमा राखेर आयोजकले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने तयारी थालेको हो । शिविरबाट गाउँ गाउँबाट महोत्सव अवलोकनमा आउने हजारौँ नागरिकहरुले सेवा लिने अपेक्षा गरिएको छ ।
लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि.बुटवल र विजय फूलवारी बचत तथा ऋण सहकारी संस्था खैरा प्यूठानको संयूक्त आयोजनामा शिविर संचालन गर्न लागिएको लुम्बिनी सिटी अस्पतालका व्यवस्थापक बसन्त जिसीले जानकारी दिए ।
‘स्वास्थ्य चेकजाँचपछि अवस्था हेरेर विपन्न परिवारका लागि निःशुल्क उपचारको पनि व्यवस्था मिलाउने छौँ’,जिसीले भने,‘दुर्गम गाउँका नागरिकहरुले रोग लुकाएर नबसुन्, कम्तीमा पनि रोगको पहिचान होस् र उपचारै गर्ने अवस्था नभए त्यसको पनि जोहो गर्न सकौँ भनेर शिविर संचालन गर्न लागिएको हो ।’ उनले सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालले समय समयमा निःशुल्क शिविरको आयोजना गर्ने गरेको सुनाए ।
शिविरमा हाडजोर्नी तथा नसा रोग, महिला तथा स्त्री रोग, जनरल मेडिसिन, नशा तथा मानसिक रोग, स्तन क्यान्सर रोग तथा सर्जरी, नाँक कान घाँटी रोग र न्यूरो सर्जरी सेवा उपलव्ध हुने छ । सवै रोगसँग सम्वन्धित विशेषज्ञ डाक्टरहरु पुगेर विरामीहरुको स्वास्थ्य चेकजाँच गर्नेछन् । शिविरमा ल्याव, एक्स–रे र औषधी समेत उपलव्ध गराइने छ । विशेषज्ञ डाक्टरहरुसँग स्वास्थ्य चेकजाँच र परामर्श लिनका लागि हजारौँ खर्चेर बुटवल पुग्नुपर्ने बाध्यता महोत्सव अवधिभर नहुने आयोजकले अपेक्षा गरेको छ ।