प्यूठान : मजदुरी गर्न भारतमा पुगेका ऐरावती गाउँपालिका ६ विजुली थाम प्यूठानका ३६ वर्षिय सुरज दमाईको निःशुल्क उपचार भएको छ । काम गरेर कोठामा फर्कने क्रममा उनी कारको ठक्करबाट गत मंसीर १९ गते भारतको पञ्जावमा दुर्घटनामा परेका थिए । ११ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका उनले पञ्जावको अमृत शहरको लिल्ली रिसोर्टमा ठेकेदारको पार्टी लाइनमा वयटरको रुपमा काम गर्दै आएका थिए ।
दुर्घटनामा परेपछि उनलाई उपचार गर्न हम्मेहम्मे परेको थियो । सुरजको दायाँ खुट्टाको (गोलीगाँठो) देखीमाथिको दुबै हड्डी भाँचिएको छ । भारतमा उपचार गर्न समस्या भएपछि घरपरिवारले जसोतसो घर फर्काएपनि उपचारको अभावमा घरमै थलिएका सुरजको अहिले उद्दार भएको छ ।
अविवाहित सुरज अहिले भाउजुको सहारामा छन् । बुवा गोविन्द दमाई र आमा दुर्गा दमाईको मृत्यु भइसकेको छ । घरपरिवारले उनको उपचार गर्न लाखौँ खर्च गर्ने अवस्था नरहेको स्थानीय सुनाउँछन् । विपन्न सुरजको उपचारमा मल्लरानी गाउँपालिका ३ बर्वोटका डाक्टर राजेन्द्र पौडेल र चुजाँठाटीका स्थानीय विपन्नको सारथी बनेर उभिएका छन् ।
डाक्टर पौडेल हाल पोखरा प्रादेशिक हस्पिटलमा कार्यरत छन् । उनकै अगुवाईमा सुरजको निःशुल्क उपचार भएको छ । पोखरासम्म पुग्न र खानाखर्चको जोहो स्थानीय रामप्रसाद पोखरेल लगायतको अगुवाईमा जुटेको छ । घाइते सुरजको खुट्टामा प्रयोग गरिएको रड हस्पिटलले निःशुल्क गराइदिएको छ । पुस ३० गतेदेखि माघ १९ गतेसम्म उनलाई आवशिय सुविधा सहित उपचार गराइएको डाक्टर पौडेलले बताए ।
स्थानीय रामप्रसाद पोख्रेल सहित इन्द्र खड्का, खेमराज पोख्रेल, नारायण थापा, शंकर थापा, रमेश थापा र दलबहादुर खड्काले सुरजको उपचारमा विशेष भूमिका खेलेका छन् । पोखराको होटल डेभिजफल्सका संचालक प्रेम एमसी पनि विरामीको उपचारमा सहयोगी बनेको स्थानीय रामप्रसाद पोखरेलले बताए ।
‘स्थानीय अभियन्ताहरुको पहलमा करिव ७० हजार रुपैयाँ सहयोग संकलन गरेर हस्तान्तरण गरेका छौँ’,पोखरेलले भने,‘डा. राजेन्द्र पौडेलको पहलमा एक लाख बराबरको सुविधा हस्पिटलबाट भएको छ । गाउँको एउटा विपन्न परिवारको भाईलाई उद्दार गर्न पाएकोमा हामी खुसी छौ ।’ उनले आर्थिक अवस्था नभएर उपचारमा छटपटिएका जोसुकै नागरिकहरुको उपचारमा आफूहरु सहयोगी बनेर उभिने सुनाए ।