प्यूठान : चकचके – बड्डाँडा सडकखण्डको गर्जेनीमा भीर फोरेर सडक चौडा पार्ने कार्य जारी छ । सडक खुल्ने समयमा सवारी जाम हुने गरेको छ । बिहान ११ बजेदेखि साझँ ५ बजेसम्म यस रुटमा पूर्ण रूपमा सडक बन्द गरि सडक चौडा पार्ने काम भइरहेको छ ।
बिहान ८ देखि ११ बजेसम्म र साँझ ५ बजे देखि ९ बजेसम्म सडक खुलाउने गरिएको डिभिजन सडक कार्यालय प्यूठानले जनाएको छ । सडक खुल्ने समयमा प्यूठान, रोल्पा भित्रिने तथा बाहिरिने सयौं सवारीसाधन एकै समयमा ओहरदोहर गर्ने हुँदा यहाँ घण्टौं समयसम्म सवारी जाम हुने गरेको छ ।
एकतर्फी तथा साँघुरो सडकमा व्यवस्थित तरिकाले सवारी साधन ओहोरदोहोर गराउने तर्फ नजिकै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय देवीस्थान तथा देवीस्थान प्रहरी चौकीको ध्यान जान सकेको छैन् । सुरक्षा निकायले सवारी व्यवस्थापनमा ध्यान नदिएको यात्रुहरुले गुनासो गरेका छन् ।
दुर्घटनाग्रस्त यस क्षेत्रमा सडक चौडा पार्ने कार्य चलिरहँदा सम्भावित दुर्घटनाको जोखिम बढाई रहेको यात्रुहरुले नै बताउँदै आएका छन् । कसले पहिले गाडी छिराउने भन्नेबारे हानथाप हुँदा यहाँ जाम भैरहने गरेको सवारी चालकहरुलेनै बताउने गरेका छन् ।
‘शनिबार राती ९ बजेपछि मात्र बाटो खुलेको थियो’, यात्रु डोर बहादुर बस्नेतले भने, ‘सडक खुल्ने समयमा ट्राफिक प्रहरीको आवश्यकता छ ।’ नजिकै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा देवीस्थान प्रहरी चौकीले गर्जेनीमा नियमित प्रहरी राख्नुपर्ने आवश्यकता रहेको नागरिक समाज प्यूठानका संयोजक सुमन सुवेदीले बताए ।
‘कसले कसलाई टेर्ने यहाँ ?’ सुवेदीले भने, ‘सयौं सवारीसाधनको भीड हुन्छ, समयमै जाम खुलाउन प्रहरी त आउनै पर्यो नि ।’ सडक डिभिजन प्यूठानका प्रमुख वीरेन्द्र बहादुर चन्दले गर्जेनी आसपासका क्षेत्रमा भीर फोडेर सडक चौडा पार्ने कामले यात्रुलाई असहज हुन गएको बताए । भीरको चट्टान काटी सडक ८ मीटर फराकिलो बनाउने कामको जिम्मा आँशु लेकाली जेभीले लिएको छ ।